मकवानपुर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले फेरी पनि चुनाव भाँड्ने षड्यन्त्रण गरिसकेको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि पार्टीले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“गठबन्धनले चुनाव हुन नदिएर २ महिना पछाडी धकेलिएको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरी हार्ने डरले षड्यन्त्र सुरु भएको छ” उनले भने ।
गठबन्धनको सरकारले भोटको लागि चुनावि आचारसंहिता लागेपछि अरबौको स्वास्थ्य सामग्री किनेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दै भने “गठबन्धनको सरकारले पनि काम गरेको छ नि जता हेरेनी मन्त्री, झण्डा, र मन्त्रालय छन् कत्ति विकासै विकास छ” हेर्नुस् त । हेटौंडाको आमसभामा पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै उनले भने “मन्त्रीको सिक्रीले बाँधेकोले धेरै कार्यकर्ताहरु अहिले एमालेमा आउन चाहेर पनि बाँधिएका छन्, ति केही दिनमा आउने छन्, हामी स्वागत गर्नेछौ । ”
काँग्रेसले आफ्नो घोषणा पत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम ८ ठाँउमा प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै उनले भन “काँग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ ।” उनले नेपाली काँग्रेसको देश बनाउने नीति नै नभएको बताउँदै भने “एमालेलाई गालि गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गालि गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौं ।”
उनले आसन्न स्थानीय तहको चुनाव सामान्य नभएको उद्घोष गर्दै भने “यो चुनाव भनेको नेपाल जोगिने र नजोगिने भन्ने लडांइ हो, सामान्य चुनाव हैन, अहिले नेपालमा २ मात्रै पार्टी भएको त्यो एमाले र गठबन्धनमात्रै हो, देश जोगाउन एमालेभन्दा बाहेक अर्को पार्टी छैन ।”
नेकपा एमालेको शक्ति देखेर सात्तो गएपछि ५ दलले स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेको उनले बताए । “एमालेसँग लड्नको लागि अरु पार्टी पनि भए गठबन्धनमा जान मैले गृह जिल्लामै भन्दिएको छु” उनले भने “हामी जनताको विश्वासमा बोकेर हिडेका छौ, दलीय गठबन्धन बाँधेर हैन ।”
“आज हु इज केपी ओली भन्नेहरुलाई बैशाख ३० पछिको जनमतले भन्ने छ, हु इज केपी ओली ?” उनले भने “हामी माथिको प्रश्नको उत्तर जनताले दिने विश्वास हामीले गरेका छौ, हामी पार्टी र नेतालाई प्रश्न गर्दै हिड्दैनौ ।”
उनले मेडीकल क्षेत्रमा धेरै काम गर्ने बाँकी रहेको र एमालेले योजना बनाएको समेत बताए । आमसभामा उनले हेटौंडाको राजमार्ग विस्तारको सवालमा पनि प्रसङ्ग उठाउन भ्याए । हेटौंडामा ४ दशक देखि विवादमा रहेको राजमार्ग विस्तारको बारेमा एमालेसँग स्पष्ट धारण भएको र हेटौंडाबासीलाई एमालेले न्याय गर्ने उनले बताए । विकास र सुशासनको लागि एमाले सँधै जनताको पक्षमा रहेको उनको दाबि थियो ।
हेटौंडाको समुचित विकासमा आफू सचेत रहेको उनले बताए । हेटौंडाको सुकुम्बासीको लागि गठबन्धनको सरकारले घात गरेको उनले बताए । “एमाले सरकारले घरबासको व्यवस्था गर्न ठिक्क परेको बेला जनताको बलमा हैन, अदालतको बलमा स्थापित भएको परमादेशको सरकारले जनतालाई धात गरेको हो” उनले भने । “अब परमादेशको जवाफ जनादेशले दिनेछ” उनले भने ।

