मकवानपुर । सरकारले नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) धिरजप्रताप सिंहलाई र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई प्रहरी महानिरीक्षक(आईजीपी) मा सशस्त्र अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षक आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी नियुक्त गरेको हो ।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।
हालका आइजिपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
सशस्त्र प्रहरीका अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै अर्यालले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

