मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटेबाट लागुऔषध ब्राउन सुगरसहित हेटौंडा उपमहानगरपालिका–१ चाईनाक्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरे पक्राउ परेका छन् ।
घिमिरेलाई करिब ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३८९५ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घिमिरेमाथि आवश्यक थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।
मकवानपुर । गजल मञ्च मकवानपुरले नियमित १ सय ९२औं गजल यात्रा कार्यक्रम गरेकाे छ । शनिबार मञ्चले हेटौंडामा गजल यात्रा गरेकाे हाे ।
मञ्चले १ सय ९२ औं गजलयात्रामा गजलकार देवराज तिवारीकाे विशेष गजल वाचन गरेकाे हाे । विशेष गजल वाचन कार्यक्रममा उनले आधा दर्जन गजल वाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निखिलले विद्यालय र क्याम्पस तहका विद्यार्थीलाई प्रशिक्षणसँगै नियमित शृङ्खला आगामी दिनमा विद्यालयमा नै आयोजना गर्न गजल मञ्च मकवानपुरलाई आग्रह गरे ।
कार्यक्रममा बढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने लगायतको उपस्थिति थियो ।
चितवन । चितवनकाे रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट १ जना साइकल यात्रीको मृत्यु भएको छ। शनिबार बिहान रत्ननगर-९ गणेश चोकनजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएकाे चितवन प्रहरीले जनाएको छ।
ट्रकले साइकल यात्री रत्ननगर-१० का ३७ वर्षीया उमेश दराईलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकाेमा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक मकवानपुर जिल्ला हेटौँडा उप-महानगरपालिका वडा नम्बर १४ का ४५ वर्षीया धावा थोकर चितवन प्रहरीको नियन्त्रणमा छ।
आफन्तको मृत्यु भएपछि स्थानीयले पूर्व-पश्चिम राजमार्गमा पर्ने उक्त सडक अवरोध गर्ने प्रयाससमेत गरेका थिए। प्रहरी टोलीले राजमार्ग अवराेध हुनबाट राेके पछी यातायात सामान्य अवस्थामा सञ्चालन भइरहेको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
प्रसिद्ध कवि तथा आख्यानकार भूपिन सम्मानित भएका छन् । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार- २०२१ बाट भूपिनलाई सम्मान गरिएको हो ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा भूपिनले आफ्नो पछिल्लो पुस्तक ‘मैदारो’ उपन्यासका लागि २ हजार १ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ प्रदान गर्ने क्रममा चितवनका स्रष्टा भूपिनलाई पुरस्कार प्रदान गरेको हो ।
अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसअघि जुमका माध्यमबाट कार्यक्रम आयोजना गरी प्रदान गरिएको थियो । यसपटक भने भौतिकरूपमा कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको अनेसास केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले जानकारी दिए ।
नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका कुलपति रायन श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ कुल ११ स्रष्टाहरूलाई वितरण गरिएको हो ।
यसै गरी`माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कार-२०२१´ प्राप्त कृतिहरु ‘आमा किरणहरुको छालमा’ कवितासङ्ग्रहकी लेखक गीता कार्की र ‘वीर्य जमिन’ कवितासङ्ग्रहकी लेखक बादल चाम्लिङलाई जनही १ हजार अमेरिकी डलर तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै ‘अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’ प्राप्त ‘वासदेखि पुनर्वाससम्म’ कृतिका लेखक डा. लक्ष्मीनारायण ढकाललाई ११ सय अमेरिकी डलर नगद राशिको पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, कार्यक्रममा ‘अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्राप्त कृति ‘लेखककी छोरी’ कथासङ्ग्रहका लागि भुटानमा जन्मेर हाल अमेरिकाको पेन्सिलभेनिया बसोबास गर्दै आएका जेएन दाहाललाई १ हजार १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको छ । अनेसास श्याम–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त कृति ‘पत्थरको देवता’ निबन्धसङ्ग्रहका लेखक विद्याप्रसाद घिमिरेलाई एक हजार अमेरिकी डलर नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
यसैगरी ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ प्राप्त कृति ‘मरीचिका’का लेखक महेश थापालाई एक हजार अमेरिकी डलर राशिका साथमा प्रमाणपत्र हस्तान्तर गरिएको छ भने ‘अनेसास प्रा. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार २०२१’ बाट पुरस्कृत कृति ‘निर्वेद’का लेखक शैलेन्द्र अधिकारीलाई एक हजार अमेरिकी डलरका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै,‘अनेसास सीता शर्मा सर्वोत्कृष्ट समालोचना-संस्कृति पुरस्कार २०२१’ बाट पुरस्कृत साँस्कृतिक खोजकर्ताद्वय डा. गोविन्द आचार्य तथा अशोक थारुलाई संयुक्त रुपमा अमेरिकी डलर एक हजार नगदका साथमा प्रमाणपत्र हस्तान्तरण गरिएको छ भने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत-गजल-हाइकु-मुक्तक पुरस्कारबाट पुरस्कृत टीका आत्रेय पौडेललाई ५ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र वितरण गरिएको छ ।
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासका ट्रस्टीहरुको सदस्यता शुल्कको बैङ्क ब्याजबाट हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारको राशि १ हजार ५ सय अमेरिकी डलर रहेकामा सन् २०१९ मा २ हजार डलर र यस वर्ष २ हजार एक सय डलर हुने गरी पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीले थप रकम सौजन्य गरेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको लगत्तै अनेसासले सन् २०२१ देखि प्रदान गर्ने गरी घोषणा गरेको माधव घिमिरे सर्वोत्कृष्ट काव्यपुरस्कारको राशिका प्रायोजक बिओटीका अध्यक्ष गीता खत्री तथा ट्रस्टी डा. चूडामणि खनाल हुन् ।
यसैगरी अनेसासका संस्थापक होमनाथ सुवेदीको सम्मानमा सन् २०२१ देखि सञ्चालन गर्न थालिएको अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कारको सौजन्यकर्ता अनेसास बोर्ड अफ ट्रस्टिजका सल्लाहकार रोहिणी शर्मा हुन् । अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार सन् २०१९ देखि प्रदान गर्न थालिएको हो । यसको सौजन्यकर्ता अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं ट्रस्टी जापान निवासी डा. कुमार बस्नेत हुन् । प्रवासमा रहेका नेपाली सर्जकलाई नेपाली साहित्यलेखनमा अभिप्रेरित गर्ने उद्देश्यले डा बस्नेतले आफ्ना पितामाताको स्मृतिमा यो पुरस्कारको सौजन्य गरेका हुन् ।
सर्वोत्कृष्ट उपन्यासका लागि प्रदान गरिने पुरस्कार राशीको सौजन्य बिओटीका पूर्व उपाध्यक्ष, पुरस्कार समितिका पूर्व अध्यक्ष एवं बिओटीका पूर्व प्रमुख सल्लाहकार सुमन तिम्सिनाले गरेका हुन् भने सर्वोत्कृष्ट कथाका लागि बिओटीका उपाध्यक्ष पदम विश्वकर्माले पुरस्कार राशीको सौजन्य गरेका हुन् ।
निबन्ध विधाका लागि प्रदान गरिने पुरस्कार राशी बिओटीका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार डा. श्याम कार्कीले प्रायोजन गरेका हुन् भने समालोचना, संस्कृतिविधाको सर्वोत्कृष्ट कृतिका लागि प्रदान गरिने पुरस्कारको राशी बिओटीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । गजल, मुक्तक, हाइकू र गीत विधाका सर्वोत्कृष्ट पुस्तकका लागि प्रदान गरिने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुरस्कारको राशी बिओटीका उपाध्यक्ष पुरु सुवेदी र उनकी धर्मपत्नी कल्पना सुवेदीले सौजन्य गरेका हुन् ।
कार्यक्रममा डा. बेन्जु शर्मालाई ‘अनेसास कोशी पुरस्कार’ र हिरण्य कुमारी पाठकलाई १ लाख राशिको ‘भाjना भट्ट विशिष्ठ महिला साहित्य पुरस्कार’ समेत प्रदान गरिएको छ । बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले छोटो मन्तव्य राखेका थिए भने अतिथिहरूले नेपाली साहित्यको श्रीवृद्धिमा अनेसासले गर्दै आएका कामहरूको प्रशंसा गरेका थिए ।
मन्तव्यका क्रममा प्रमुख अतिथि रायन श्रेष्ठले पुरस्कारलाई निरन्तर रूपमा अघि बढाउन सुझाव दिँदै समयानुकूल राशि बढाउन सुझाव दिनुका साथै अनेसासमा महिला सहभागिता र नेत्रित्त्व कलाको खुलेर प्रसंशा गरेका थिए । कार्यक्रममा अनेसासका केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले धन्यवाद मन्तव्य राख्दै अनेसास केन्द्रले च्याप्टर, ट्रस्टी र पुरस्कार समितिसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा अझै इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा निर्वाचन अभ्यास गरिएको छ । बिद्यालयको सदन क्याप्टेन तथा उपक्याप्टेनको निर्वाचन अभ्यास शुक्रबार गरिएको हो । मतगणनाको प्रत्यक्ष अपडेट दिइँदै गरिएको निर्वाचनमा देशको आम निर्वाचनको झल्को दिइएको थियो ।
बिद्यालयको निर्वाचनमा चारवटा सदनका छुट्टाछुट्टै निर्वाचन बुथ कायम गरिएको थियो । निर्वाचनबाट चारवटा सदनका ४ हाउस क्याप्टेन तथा ८ जना उपक्याप्टेन चुनिएका छन् ।
जसमध्ये सर्वाधिक १ सय ८ मत प्राप्त गर्ने कक्षा १० की सुरक्षा घिमिरे रातो सदनकी क्याप्टेन चुनिएकी छिन् । यस्तै १ सय ५ मत प्राप्त गरी कक्षा १० का अनुसन्धान चापागाईँ सोही सदनका उपक्याप्टेन चुनिए भने प्राविधिकतर्फबाट आमोस राई निलो सदनको क्याप्टेन तथा मधुकुमारी ठाकुर सोही सदनकी उपक्याप्टेन चुनिएकी हुन् ।
यसैगरी हरियो सदनतर्फ नेपाली माध्यमबाट अरुण मिश्र क्याप्टेन तथा निरज बलामी उपक्याप्टेन चुनिँदा मिश्रले ६६ र बलामीले १ सय ३ मत प्राप्त गरेका थिए ।
विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्था सम्बन्धी व्यवहारिक ज्ञान हासिल गराउनका लागि निर्वाचनको अभ्यास गरिएको अंग्रेजी माध्यम संयोजक तथा निर्वाचन संयोजक रविन श्रेष्ठले बताए ।
विद्यालयमा नेपाली माध्यम, अंग्रेजी माध्यम र प्राविधिक तहका विद्यार्थीहरूले उत्साहजनक रुपमा प्रत्यक्ष चुनावमा सहभागिता जनाएका थिए । निर्वाचन आयोगबाट गरिने निर्वाचनको झल्को दिनेगरी भएको सदनको निर्वाचनमा विद्यार्थीहरू सकृय रुपमा सहभागी भएका शिक्षक सम्प्रस पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूले निर्वाचन कानूनमा ब्यबस्था भएका नमूना मतपत्र, चुनाव चिन्ह, प्रचारप्रसार तथा मौन अवधि सबै निर्देशनहरूको पूर्णरुपमा पालना गरेका थिए । साथै उनीहरूले कक्षा कक्षामा गई आफ्नो एजेण्डासहित आफ्नो चिन्हमा मतदानका लागि आह्वान गरेका थिए ।
शिक्षक अभिभावक सघं समिति सदस्य बुद्धप्रसाद दाहाल तथा गोविन्द दुलालले रिबन काटेर उद्घाटन गरेको निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई शिक्षकहरूले चुनावका लागि सहजिकरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गगाधर रिमालले सामुदायिक विद्यालयमा यस्ता निर्वाचन लगायतका क्रियाकलापले विद्यार्थीहरूमा नेतृत्व विकासमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने र त्यसले अपनत्व बोध गराउने भन्दै निर्वाचित सबैलाई बधाई दिए ।
निर्वाचित विद्यार्थीहरूलाई टिका तथा खादासहित बधाई दिइएको थियो ।
निर्वाचित सदनका पदाधिकारीलाई आइतबार प्रार्थनाक्रममा सपथ खुवाइने कार्यक्रम रहेको छ । कार्यक्रमको आन्तरिक व्यवस्थापन तथा निर्वाचन सम्वन्धी सबै डकुमेन्टको व्यवस्थापकीय पक्ष शिक्षक पौडेलले गरेका थिए।
निर्वाचन कार्यक्रममा सहायक प्रअ रामआशिष मण्डल, कक्षा ११ र१२ संयोजक कल्याणकृष्ण प्याकुरेल, मावि तह संयोजक नीर बहादुर खड्का, रविन श्रेष्ठ, प्राथमिक तह संयोजक केपी अधिकारी, व्यवस्थापन समिति शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षता निर्वाचन कार्यक्रम भएको हो ।
