मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा निर्वाचन अभ्यास गरिएको छ । बिद्यालयको सदन क्याप्टेन तथा उपक्याप्टेनको निर्वाचन अभ्यास शुक्रबार गरिएको हो । मतगणनाको प्रत्यक्ष अपडेट दिइँदै गरिएको निर्वाचनमा देशको आम निर्वाचनको झल्को दिइएको थियो ।
बिद्यालयको निर्वाचनमा चारवटा सदनका छुट्टाछुट्टै निर्वाचन बुथ कायम गरिएको थियो । निर्वाचनबाट चारवटा सदनका ४ हाउस क्याप्टेन तथा ८ जना उपक्याप्टेन चुनिएका छन् ।
जसमध्ये सर्वाधिक १ सय ८ मत प्राप्त गर्ने कक्षा १० की सुरक्षा घिमिरे रातो सदनकी क्याप्टेन चुनिएकी छिन् । यस्तै १ सय ५ मत प्राप्त गरी कक्षा १० का अनुसन्धान चापागाईँ सोही सदनका उपक्याप्टेन चुनिए भने प्राविधिकतर्फबाट आमोस राई निलो सदनको क्याप्टेन तथा मधुकुमारी ठाकुर सोही सदनकी उपक्याप्टेन चुनिएकी हुन् ।
यसैगरी हरियो सदनतर्फ नेपाली माध्यमबाट अरुण मिश्र क्याप्टेन तथा निरज बलामी उपक्याप्टेन चुनिँदा मिश्रले ६६ र बलामीले १ सय ३ मत प्राप्त गरेका थिए ।
विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्था सम्बन्धी व्यवहारिक ज्ञान हासिल गराउनका लागि निर्वाचनको अभ्यास गरिएको अंग्रेजी माध्यम संयोजक तथा निर्वाचन संयोजक रविन श्रेष्ठले बताए ।
विद्यालयमा नेपाली माध्यम, अंग्रेजी माध्यम र प्राविधिक तहका विद्यार्थीहरूले उत्साहजनक रुपमा प्रत्यक्ष चुनावमा सहभागिता जनाएका थिए । निर्वाचन आयोगबाट गरिने निर्वाचनको झल्को दिनेगरी भएको सदनको निर्वाचनमा विद्यार्थीहरू सकृय रुपमा सहभागी भएका शिक्षक सम्प्रस पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूले निर्वाचन कानूनमा ब्यबस्था भएका नमूना मतपत्र, चुनाव चिन्ह, प्रचारप्रसार तथा मौन अवधि सबै निर्देशनहरूको पूर्णरुपमा पालना गरेका थिए । साथै उनीहरूले कक्षा कक्षामा गई आफ्नो एजेण्डासहित आफ्नो चिन्हमा मतदानका लागि आह्वान गरेका थिए ।
शिक्षक अभिभावक सघं समिति सदस्य बुद्धप्रसाद दाहाल तथा गोविन्द दुलालले रिबन काटेर उद्घाटन गरेको निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई शिक्षकहरूले चुनावका लागि सहजिकरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गगाधर रिमालले सामुदायिक विद्यालयमा यस्ता निर्वाचन लगायतका क्रियाकलापले विद्यार्थीहरूमा नेतृत्व विकासमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने र त्यसले अपनत्व बोध गराउने भन्दै निर्वाचित सबैलाई बधाई दिए ।
निर्वाचित विद्यार्थीहरूलाई टिका तथा खादासहित बधाई दिइएको थियो ।
निर्वाचित सदनका पदाधिकारीलाई आइतबार प्रार्थनाक्रममा सपथ खुवाइने कार्यक्रम रहेको छ । कार्यक्रमको आन्तरिक व्यवस्थापन तथा निर्वाचन सम्वन्धी सबै डकुमेन्टको व्यवस्थापकीय पक्ष शिक्षक पौडेलले गरेका थिए।
निर्वाचन कार्यक्रममा सहायक प्रअ रामआशिष मण्डल, कक्षा ११ र१२ संयोजक कल्याणकृष्ण प्याकुरेल, मावि तह संयोजक नीर बहादुर खड्का, रविन श्रेष्ठ, प्राथमिक तह संयोजक केपी अधिकारी, व्यवस्थापन समिति शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षता निर्वाचन कार्यक्रम भएको हो ।
In: मुख्य खबर, राष्ट्रिय, शिक्षा, स्थानीय खबर/समाज
Tags: No Comments

