मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले योग मार्फत शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै मन्त्री लामाले आधुनिकता र व्यवस्तताको अहिलेको समयमा पनि योगको महत्व उत्तिकै रहेकाले योग अभ्यास गर्दै आफ्नो शारीरिक एवं मानसिक स्वास्थ्य मजबुद बनाउनु बागमती प्रदेशबासीलाई आग्रह गरेका हुन् ।
उनले प्रदेश सरकारले आफ्ना आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत योग अभ्यास र प्राकृतिक चिकित्सा पद्धतिलाई जनमानसमा पु¥याउने काम गरिरहेको बताए । योगको महत्वलाई नागरिक तहसम्म बुझाउने र प्राकृतिक चिकित्सा पद्धति अवलम्बन गर्नेहरुको संख्या अभिबृद्धिका लागि स्वास्थ्य मन्त्रालयले काम गरिरहेको उनले बताए ।
‘योगलाई दैनिक रुपमा अभ्यास गर्नेहरुका लागि एक व्यायाम मात्र होइन भनिन्छ । संयूक्त राष्ट्र संघका अनुसार योग सन्तुलन र सद्भाव कायम गर्ने प्रतिकको रुपमा रहेको छ । जब योग समूदाय र समाजहरुमा लागू गरिन्छ, यसले दिगो जीवनको लागि मार्ग प्रदान गर्दछ ।’–सन्देशमा उल्लेख छ ।
कोभिड–१९ महामारीका कारण शारीरिक स्वास्थ्यका साथै मनोवैज्ञानिक पिडा र मानसिक स्वास्थ्य समस्या समेत बढाएको अवस्थामा योगको महत्व झन बढेको जर्नाइएको छ । ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको मनाईदैछ ।
मकवानपुर । गत २५ माघबाट स्थगित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य १ असारबाट पुन सुरू गरिएपछि दर्ता गर्नेहरूको भिड लागेको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मिति घोषणा भएपछि दर्ता प्रक्रिया स्थगित गरिएको थियो । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई दृष्टिगत गरि १ असारबाट दर्ता तथा अद्यावधिक कार्य सुरू गरिएको छ । आगामी चुनाव लक्ष्यित मतदाताहरू दर्ताको लागि भिड लागेका हुन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश हेटौंडाले सेवाग्राहीको चाप बढि भएसंगै टोकन प्रणालीबाट दर्ता कार्यलाई व्यवस्थित गर्दै आएको छ ।

दर्ताको लागि बिहान ६ बजेबाटै लाइन बस्न थालेपछि कार्यालयले ९ बजे टोकन बाड्ने र टोकन नपाएकाहरूलाई समयमै घर फर्केर अर्को दिन आउन अनुरोध गर्ने गरेको छ । “बिहानै टोकन दिएपछि नपाउनेहरू घर फर्किउन भनेर यसो गरेका हौ” प्रदेश निर्वाचन कार्यालय बागमतीका कार्यलय प्रमुख लुम्बनाथ पोखरेलले भने । आफ्नो पालो कुरेर दिनभर घाम/पानीमा लाइन बस्न नपरोस् भनेर यसो गरेको उनले बताए ।

कार्यालयले दैनिक १५० वटा टोकन बाँड्ने गरेको पोखरेलले बताए । सोमबार सांझसम्म ७९८ जनाले फोटो सहितको मतदाता नामावलीको लागि विवरण सहित फोटो खिचाएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका कम्प्युटर अपरेटर दिपेन्द्रराज बरालले बताए । “चाप एकदम धेरै छ, कुनै दिन २ सयसम्मको विवरण लिन्छौ” बरालले भने । बिहान ९ देखि सांझ ७ बजेसम्म आफूहरू कार्यलय बसेर विवरण संकलन गरेको उनले बताए ।
कार्यलयले नयाँ दर्तासंगै अद्यावधिक गर्ने काम पनि जारी राखिएको छ । यस अन्तरगत दोहोरो नामावली रहेका, मतदाता नामावलीमा त्रुटि भएका, बसाइँसराइको कारण स्थान परिवर्तन गर्नुपर्नेहरूले अद्यावधिक गर्न सक्ने छन् । कार्यालयको सूचना शाखा प्रमुख सम्झना ढकालका अनुसार १ असारदेखि हिजो सोमबार सांझसम्म १३८ जनाले विवरण अद्यावधिक गराएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गत २०७८ माघ २५ देखि हालसम्म नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ अनुसार योग्यता पुगि नाम दर्ता गर्न छुटेकाको फिटो सहित विवरण संकलन गर्न सकिने छ । यो कार्य आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सार्वजनिक नहुन्जेल जारी रहने छ ।
मकवानपुर । निर्वाचन कानुन अनुसार निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने हुन्छ । तर मकवानपुरमा विवरण बुझाउने अन्तिम मितिसम्म जम्मा ४ प्रतिशतले मात्रै आफ्नो खर्च विवरण बुझाएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका मकवानपुरका १ हजार ९ सय ३१ जना उम्मेदवारमध्ये ८९ जनाले अर्थात ४.६ प्रतिशत उम्मेदवारहरुले मात्रै निर्वाचन मैदानमा होमिदाको आफ्नो खर्च विवरण बुझाएका हुन् ।
जसमध्ये आकर्षणको केन्द्र बनेको हेटौंडा उपमहानगरपालिकाको मेयर पदको १८ जना उम्मेदवार मध्ये ६ जनाले मात्रै खर्च विवरण बुझाएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिकामा प्रमुख पदमा १८ जना सहित ३८७ जना उम्मेदवार थिए ।
निर्वाचनमा उम्मेदवार बनेर विजयी भएकाहरुले खर्च विवरण बुझाउनमा झनै अरुचि देखाएको देखिएको छ । कार्यालयका अनुसार मकवानपुर जिल्लाको १० स्थानीय तहहरु मध्ये स्थानीय तहको प्रमुख पदमा विजयी भएका २ जनाले मात्रै आफूले निर्वाचनको क्रममा भएको खर्चको विवरण निर्वाचन कार्यालयलाई उपलब्ध गराएका छन् । मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष विजयी भएका दोर्जे लामा स्याङतान र राक्सिराङ गाउँपालिकामा अध्यक्ष विजयी भएका राजकुमार मल्लले खर्च विवरण बुझाएका हुन् ।
अन्य ८ स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा विजयी भएकाहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाको १० स्थानीय तहमा प्रमुखको पदमा मात्रै ७३ जनाको उम्मेदवारी थियो जसमा २ विजयी सहित १५ जनाले मात्रै विवरण पठाएका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये खर्च विवरण बुझाउनेमा वडा सदस्यहरु बढी छन् । पटक पटक व्यक्ति तथा दललाई नै फोन गरेर खर्च विवरण बुझाउन अनुरोध गर्दा पनि नियम अनुसार विवरण बुझाउनेको सङ्ख्या अपेक्षाकृत नभएको कार्यालयको सूचना अधिकारी सम्झना ढकालले बताइन् । “मैले आफैं धेरै पटक दल तथा व्यक्तिलाई कल गरेर भनिसके, आउनु भएको छैन” ढकालले भनिन् “आफ्नो काममा व्यस्त भएर पनि हुनसक्छ, तर अब म्याद सकियो ।”
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनु पर्ने हुन्छ । मकवानपुर जिल्लामा जेठ ६ गते अन्तिम नतिजा सार्वजनिक भएको थियो । यस अनुसार असार ६ गते विवरण बुझाउने अन्तिम म्याद थियो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनेका मध्ये नेकपा एमालेका अनन्त पौडेल, उन्नत लोकतन्त्र पार्टीका अयोध्य कुमार भट्टराई, नेकपा माक्र्सवादी लेलिनवादीका केशव घर्ति, नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, सचेत नेपाली पार्टीका रामप्रसाद गौतम र मौलिक जरोकिलो पार्टीकी सृजना बर्तौलाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।
बाँकी १२ जनाले निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाएका छैनन् । हेटौंडा उपमहानगरपालिकामा उम्मेदवार भइ विजयी भएका मेयर मिना लामा र उपमेयर राजेश बानियाँले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ ।
यसैगरी निर्वाचन कार्यालयका अनुसार मकवानपुरको थाहा नगरपालिकामा मेयरमा विजयी विष्णुबहादुर विष्ट उपमेयरमा विजयी भारत गोपाली दुबैले विवरण बुझाएका छैनन् । थाहामा मेयरको उम्मेदवार बनेका बीरबहादुर योञ्जन र शुभराज गोलेले मात्रै खर्च विवरण बुझाएका छन् । यस पालिकामा मेयर पदमा ६ जना सहित २४० जना उम्मेदवार थिए ।
गाउँपालिका प्रमुखहरुमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा विजयी भएका दोर्जे लामा स्याङ्तान र अध्यक्षको उम्मेदवार बनेका युवराज लामाले मात्रै विवरण बुझाएका छन् । यहाँ अध्यक्ष पदमा ९ समेत २२१ जना उम्मेदवार थिए ।
बकैया गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका कुमार सञ्जेल र मानबहादुर माझीले खर्च विवरण बुझाएका छन् । अध्यक्षका अन्य उम्मेदवार र विजयी भएका धर्मराज लामीछानेले विवरण बुझाएका छैनन । यहाँ अध्यक्षमा ६ जान सहित २३४ जना उम्मेदवार थिए ।
भिमफेदी गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका कृष्णबहादुर थापा मगर र विक्रम थिङले विवरण बुझाएका छन् भने विजयी भएका अध्यक्ष हिदम लामाले पनि खर्च विवरण बुझाएका छैनन् । भिमफेदीमा ६ जना अध्यक्ष सहित १३५ जान उम्मेदवार थिए ।
यता बागमती गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका ३ जनाले खर्च विवरण बुझाएका छन् भने विजयी अध्यक्ष सर्केश घलानले भने खर्च विवरण बुझाएका छैनन् । कार्यालयका अनुसार यस पालिकामा अध्यक्षका उम्मेदवार ओमबहादुर योञ्जन, नवराज आचार्य र कुवेरसिं गोलेले खर्च विवरण बुझाएका छन् । यहाँ ७ जना अध्यक्ष सहित १६७ जना उम्मेदवार थिए ।
यसैगरी कैलाश गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका नरेन्द्रलाल रिजाल र सन्तमाया बुढाथोकीले खर्च विवरण बुझाउँदा विजयी अध्यक्ष लोकबहादुर मोक्तानले बुझाएका छैनन् । यहाँ ५ जना अध्यक्ष सहित १७३ जना उम्मेदवार थिए ।
यता मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका एकराज उप्रेतीले मात्रै खर्च विवरण बुझाएका छन् । विजयी अध्यक्ष रञ्जन कालाखेती सहित अध्यक्षका ८ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । यो पालिकामा २२१ जना उम्मेदवार थिए ।
राक्सिराङ गाउँपालिकामा अध्यक्ष विजयी भएका मल्ल र अध्यक्षका उम्मेदवार युनिश मुक्तानले खर्च विवरण बुझाएका छन् । यहाँ अध्यक्ष पदमा ६ जना सहित १५१ जना उम्मेदवार थिए ।
इन्द्रसरोवर गाउँपालिकाको विजयी अध्यक्ष देवकृष्ण पुडासैनी तथा अध्यक्षका अन्य ३ उम्मेदवारहरुले पनि खर्च विवरण बुझाएका छैनन् । यस पालिकामा ८९ जना उम्मेवादर थिए ।
जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीबाट उम्मेदवार बनेकाहरूले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएको तथ्याङ्कले देखाएको छ ।
स्थानीय तह सदस्य निर्वाचनलाई मितव्यी बनाउन निर्वाचन आयोगले खर्चको सिमा तोकेको थियो । जसअनुसार महानगरपालिका प्रमुख–उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार, उपमहानगरपालिका प्रमुख–उपप्रमुखले ५ लाख ५० हजार, नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले खर्च सीमा तोकेको थियो ।
यस अन्तरगत पनि मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, छापा तथा विद्युतीय माध्यमबाट गरिने प्रचार–प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन, र विविध गरी खर्च शिर्षक नै तोकिएको थियो ।
त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारले एकमुष्ट रूपमा ५० हजार खर्च गर्न पाउने गरी सिमा तोकिएको थियो । जिल्ला समन्वय समिति सदस्यका उम्मेदवारले एकमुष्ट रूपमा २५ हजार रुपैयाँ र गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाका सदस्यका उम्मेदवारले एकमुष्ट २५ हजार खर्च गर्न पाउने गरी आयोगले खर्च सीमा तोकेको थियो ।
यस्तो छ कानुनी व्यवस्था
निर्वाचन कानुन अनुसार निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र अनुसूची–५ को ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने हुन्छ ।
सो बमोजिम पेश भएको निर्वाचन खर्चको विवरण आयोगबाट तोकिएको अवस्थामा मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराउन सकिने कानुनी व्यवस्था छ । निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा हुने आयोगले दफा २४ को उपदफा (१) बमोजिमको अधिकतम हदभन्दा बढी खर्च गर्ने वा दफा २५ को उपदफा (१) बमोजिम तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिबाना गर्न सक्नेछ ।
कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यसरी पेश भएको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको प्रतिवेदनको आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानूनी प्रयोजनका लागि गैरकानूनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँ मध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्नेछ ।
यो जरिबाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ बर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ ।
मकवानपुर । सिद्धार्थ माद्यामिक बिद्यालय हेटौंडाले आफ्नो क्षेत्र भित्र निर्वाचित भएर आएका जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रम गरेको छ ।
बिद्यालय व्यवस्थापन समिति, पीटीए, शिक्षकहरूको उपस्थितिमा आज बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा बिद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नतिको लागि आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश सरकारद्वारा बृहत बिद्यालय परियोजनामा समेटिएको सिद्धार्थ माबिलाई प्रदेशभरकै उत्कृष्ट बिद्यालय बनाउन आफ्नो तर्फबाट हुने कुनै पनि कदम बाँकी नराख्ने हेटौंडा १ का वडा अध्यक्ष तथा हेउमनपाका प्रवक्ता सबिन न्यौपानेले बताए ।
हेटौंडा १ चौकिटोलको ज्योति र हेटौंडा २ को बनस्खण्डी स्थित श्रीदेवी बिद्यालयलाई सिद्धार्थमा मर्ज गरेपछि हाल यो बिद्यालयमा २ हजार ३ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । शिक्षा, वन बिज्ञान, कानुनलगायत संकाय पढाई हुंदै आएको छ ।
अंग्रेजी र नेपाली माध्यमको पढाई हुनथालेदेखि विद्यार्थीको चाप बढेको तर कक्षाकोठाको अभावले भर्ना लिन नसकिएको प्राध्यापक मोहन शर्माले बताए ।
बिद्यालयको भौतिक अभावलाई बजेट मार्फत सम्बोधन गर्न आफूहरूले पहल गर्ने,तर पढाईको गुणस्तरमा कुनै सम्झौता नगर्न वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जनले आग्रह गरे ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले बिद्यालय वरपर हुने कुलतजन्य गतिविधि नियन्त्रणमा समेत स्थानीय सरकारसंग सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रम वडा १ र २ बाट बिजय भएका वडा अध्यक्षहरू सहित वडा सदस्यलाई सम्मान गरिएको थियो ।
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा हेटौँडामा प्रर्दशन गरेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेपछि हेटौँडामा बिरोध प्रर्दशन गरेको हो । प्रर्दशनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर जलाइएकाे छ । बुद्धचोकमा भएको बिरोध कार्यक्रममा सरकारले जनताकाे ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रनु परेको अनेरास्ववियु मकवानपुरका संयोजक विशाल पौडेलले बताए ।
सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनले बताए । नेपाल आयल निगमले आइतबार राती १२ बजे रातीबाट लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको थियाे । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९, डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
