मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा हेटौँडामा प्रर्दशन गरेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेपछि हेटौँडामा बिरोध प्रर्दशन गरेको हो । प्रर्दशनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर जलाइएकाे छ । बुद्धचोकमा भएको बिरोध कार्यक्रममा सरकारले जनताकाे ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रनु परेको अनेरास्ववियु मकवानपुरका संयोजक विशाल पौडेलले बताए ।
सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनले बताए । नेपाल आयल निगमले आइतबार राती १२ बजे रातीबाट लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको थियाे । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९, डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

