मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मंगलबार बकैया ७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बकैया ७ अधेरी बस्ने ५५ वर्षीय केशव माझी, युवराज माझी, ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १९ जनाको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–३ डेडुखोलाकी सविता प्रजा (४३) को २ कोठे कच्चि घर छ ।
विहान सबेरै ज्याला मजदुरी गर्ने जाने र साँझ फर्केर सोही ज्यालाले छाक टार्ने उनको हर दिनको दैनिक हो ।
कुनै दिन ज्याला गर्न जान नपाएपछि उनलाई चुल्होमा के बसाल्ने चिन्ताले पिरोल्छ । “काम गर्न जान नपाएपछि के पकाउनु, अनि पछि काम गरेर कटाउने गरी उधारोमा पिठो मागेर ल्याउने पकाउने” सविता भन्छिन् । ज्याला गर्न जाँदा काखेबालक पनि लिएरै जान्छन्, सविता र यहाँ महिलाहरु । आफूले खाजामा पाएको खानेकुरा खुवाउँछन् । सविताको १४ वर्षीया छोरीको विहे गरिसकेको र अरु ३ छोरीहरु नवजागृती प्राथमिक विद्यालय जान्छन् । उनीहरु उतै विद्यालयले दिने खाजा खान्छन् । साँझ मात्रै घरमा जे पाक्छ त्यो खान्छन् ।
सविताका श्रीमान काँइला प्रजा पनि दैनिक ज्यालादारी गर्छन् । आफ्नो जग्गा नभएको कारण बाह्रै महिना ज्यालामा धाउनु परेको उनी बताउँछन् । एक कठ्ठा पुर्ख्यौली जग्गामा काँइला प्रजाका ४ जना दाजुभाइको घर अटाएर बनाइएको छ । उनीहरु सबैको अवस्था समान छ । ओत लाग्ने २ कोठे कच्चि घर अनि ज्यालादारी दैनिकी ।
सविता र काइला प्रजाको आडैमा घर छ ४५ वर्षिया रिना प्रजाको पनि । दैनिक ठ्याक्कै सविता र काइला प्रजाकै जस्तो । हरेक दिन ज्याला अनि साँझ बल्ने चुल्हो । आधा शताब्दि नजिक उमेर पुगेकी उनको श्रीमान् बिरामी छन् । “उपचारको लागि खर्च छैन, बिहान बेलुकी खुवाउन मात्रै जोहो गर्ने हो” रिना भन्छिन् “यसपालि बल्ल छोरो काममा लाग्यो अब सजिलो होला कि भन्ने छ ।” उनको छोरा पछिल्लो महिनाबाट गाडीमा सहचालकको काम सुरु गरेका छन् । दैनिक ज्यालादारी भन्दा अरु कुनै काम गर्न पाए हुने भन्ने उनको रहर छ तर रहरलाई काममा उतार्ने उपाय छैन उनीसँग ।
५० वर्षिया पम्पा प्राजको पनि दैनकी उस्तै छ । पाँच दशक टेकेको उनीको शरिरले आराम लिन पाएको छैन, बरु छाक टार्नुको पिरलो मनमा गडिरहन्छ । “ढाड कम्बर दुखेर काम गर्न त गाह्रो हुन्छ, तर तर यहाँ हामी सबैको बाध्यता उस्तै हो, छाक टार्नको लागि ज्याला गर्न जानै पर्छ” उनी भन्छिन् । परिवारका सानासाना बालबालिकाहरु केही विद्यालय जान्छन्, उतै जे पाइन्छ खान्छन्, अरु ज्यालामा जान्छन् साँझको भान्साको जोहो गर्छन । काखे बच्चाहरु ज्याला गर्न जाँदा लिएरै जान्छन् ।
सविता, पम्पा, रिनाको जस्तै दैनिक छ शक्तिको पनि । २१ वर्षिया शक्ति प्रजाको पनि भान्साको जोहो गर्न ज्याला महजुरी गर्छिन । एक वर्षको बच्चा काखि च्यापेर उनी पनि दैनिक ज्याला मजदुरी गर्न हिड्छीन् । “बच्चा बिरामी पर्दा भने ज्यालादारीमा जान सकिदैन अनि के पकाउने भन्ने पीरले सताउँछ” उनी भन्छिन् “जुन दिन ल्यायो त्यही दिन खायो, भोलीको लागि बचाउन सकिदैन कसरी सजिलो हुनु ।”
मनहरी ३ डेडु खोलाका यि भूमिहिनहरुको दैनिक एकै नाशको छ । जग्गा विहीन उनीहरुसँग आफ्नो श्रम ज्यालामा लगाउनुको विकल्प छैन । ज्यालाको लागि उनीहरु घण्टौको बाटो समेत धाउनु पर्छ । खेतीको समयमा उनीहरुले नजिकै ज्यालाको लागि काम पाउँछन्, तर खेतीको समय नहुँदा उनीहरु अन्य प्रकारको घरायसी काममा धाउनु पर्ने हुन्छ । घाँस दाउरा संकलन गर्ने, कपडा धुने, विहे वा अन्य सामाजिक धार्मिक कार्यक्रममा भाँडाहरु धुने जस्ता काममा उनीहरु हर दिन धाउने गर्छन् ।
नजिकै आफ्नो सरकार छ, अर्थात वडा सरकार । वडा सरकारले आफूहरुको लागि के गर्न सक्छ ? आफूले वडा सरकारबाट के सहायता लिन सक्छौ भन्ने समेत उनीहरु बेखर छन् । डेडुखोलामा ४५ परिवार बस्छन् । उनीहरु अधिकांशको आफ्नो जग्गा छैन । पशु पालनको लागि समेत आफूहरुसँग पुँजि अभाव छ । “एक त वस्तु पाल्नको लागि गोठ बनाउने ठाँउ छैन, अर्को वस्तु किन्ने पैसाको अभाव छ” स्थानीय लक्ष्मी बर्तौला भन्छिन् “सबैजसोको समस्या आर्थिक नै हो ।”
आर्थिक समस्याको समाधान गर्न आफूबाट पनि पहल जरुरी छ । यो बुझेर उनीहरुले आफ्नो बस्तिमा टोल विकास समूह गठन गरे । २ वर्षदेखि उनीहरुले हरक महिना टोल विकासमा एक सय रुपैया बचेत पनि सुरु गरे । तर टोल विकासको पहलले पनि उनीहरुको समस्यालाई समाधानको लयमा ल्याउन सकेको छैन ।
स्थानीय क्षेत्रको विकासमा टोल विकासलाई सरकारले एउटा भरपर्दो कडिको रुपमा लिएको छ । सर्वसाधारणको नेतृत्व सिप देखि स्थानीय क्षेत्रको विकासमा हातेमालो गर्न, स्थानीय विकासको लागि योजना तर्जुमा गर्न र आवश्यकतालाई सम्बोधन गर्ने दरिलो अंगको रुपमा स्थानीय टोल विकास संस्था रहन्छ । तर यहाँ टोल विकासले स्थानीय टोलको विकासमा किन लय समाउन सकेको छैन । किन स्थानीयवासीको समस्या सधै समस्या नै बनेर खडा भइरहेको छ ?
यहाँको श्री शान्ति टोल विकास समूहकी सदस्य मिठु कार्की भन्छिन् “टोल विकासलाई नै थाहा हुदैन वडा र पालिकाले के कस्ता काम गरेको छ भन्ने बारेमा, हामीलाई हाम्रो टोलको विकासको लागि वडाले के गर्छ थाहै छैन ।”
स्थानीय सरकारले समय समयमा विपन्न, अतिविपन्न तथा सिमान्तकृत समूदायको आर्थिक सबलिकरणको लागि विभिन्न अनुदान तथा बिउपुजीमा आधारित कार्यक्रमहरु लागु गरिरहेको हुन्छ, तर यहाँका महिलाहरुले यसबारे थाहै नभएको बताए ।
पहिलो पटक पोरवर्ष (आर्थिक वर्ष २०८०/०८१ मा) वडाले २ घर बराबर १ पाकेट तितेकरेलाको बिउ दिएको थाहा छ, यति हो” स्थानीय रिना प्रजाले भनिन् “त्यो पनि हाम्रो त लगाउने ठाउँ नै नभएकोले मैले लिइन, जग्गा हुनेहरुले मात्रै लिनु भयो ।” टोल विकासको नेतृत्वमा आफ्नो टोलमा विकासको गतिविधिहरु भएको आफूहरुले थाहै नपाएको बताउँछन् स्थानीय ४९ वर्षिय सन्तबहादुर प्रजा । “एउटा राँगा र एउटा पाडी पालेको छु, १० वटा कुखुरा छन्, वडाले पनि बाख्रा, कुखुरा दिन्छ भनेको सुनेको छु, कसले पाउने हो थाहा छैन” सन्तबहादुरले भने “हामी त वडामा पुगेर बोल्न पनि जान्दैनौ, कसलाई के भन्नुपर्ने हो थाहा छैन ।”
आफूहरुले माग्न नजानेकै कारण नपाएको होला भन्ने बुझाइ छ सन्तबहादुरको, तर फारम भरेर माग गरेको बाख्रा पनि आफूले नपाएपछि वडामा फेरी फर्केन नगएको बताउँछिन् रिना प्रजा । ज्याला गर्न गएको बेलामा वडामा फर्म भरे बाख्रा पाइन्छ रे भन्ने सुनेर उनले फारम भरेको तर बाख्रा नपाएको बताइन् ।
स्थानीय सरकारले स्थानीय महिलाको सहभागीतामा नै स्थानीय आवश्यकता अनुसारको योजना बनाउने र कार्यान्वयनमा ल्याउनु पर्ने संघीयताको एउटा मर्म हो । तर यहाँका स्थानीयवासीलाई यसबारे जानकारी छैन । स्थानीय वडा सरकारले पनि यसबारे सही सूचना दिनु आफ्नो कर्तव्य ठानेको देखिदैन । वडाको नीति तथा योजनामा स्थानीय अतिविपन्न वर्गका महिलाको पहुँचमा केन्द्रित रहेको आफूले पनि नपाएको बताउँछिन् स्थानीय समाजिक सहजकर्ता मनिषा पुडासैनी ।
आर्थिक वर्षभरी सम्पन्न गर्ने गरी योजनाहरु बनाउँदा वडाले स्थानीय टोल विकास समूहलगायत अन्य सरोकारवालाहरुलाई समन्वय गरेर योजना छनौट गर्नुपर्ने हुन्छ तर यस अनुसार योजना छनौटको काम नभएको डेडुखोलावासी बताउँछन् । “योजना छनौटको लागि बैठक भनेर हामीलाई विहान बोलाइएको थियो, तर दिउँसो ४ बजेसम्म तोकिएको स्थानमा कोही भेला भएनन्, भोली पल्ट थाहा भयो, तोकिएको भन्दा अर्कै स्थानमा रातको समयमा बैठक बसेर योजना बनाइएछ” टोल विकास समूह सदस्य कार्कीले भनिन् । त्यसपछि टोल विकास समूहले वडामा खासै निगरानी समेत नराखेको उनी बताउँछिन् ।“ आफ्नो केही काम परिरहन्छ, वडामा धाइरहन पनि भ्याएदैन, हामी गएर कुरा राख्दा पनि सुनुवाइ हुदैन, अनि जानै मन लाग्दैछ” उनले भनिन् ।
स्थानीय सरकारलाई बोल्दा सुन्ने र छाम्दा भेटिने सरकार भनिन्छ । डेडुखोलावासीको अवस्थाले यो पुष्ट्याइ गर्दैन् । वडाबाट सेवा लिनको लागि स्थानीय सरकारले प्रदान गर्ने विभिन्न योजना तथा अनुदान सहयोगमा सिमान्तकृत वर्गले बेहोर्नु परेका झन्झटपछि आफूले वास्तै गर्न छाडेको उनीहरु बताउँछन् ।
स्थानीय सरकारसँग वितृणा र निराशा राखेर भन्दा समन्वय र सहकार्य गरेर समस्यालाई सम्बोधन गर्दै सामान्यीकरणतर्फ केन्द्रित हुनुपर्ने सामाजिक सहजकर्ता पुडासैनी बताउँछिन् । डेडुखोलाकै स्थानीय पुडासैनी भन्छिन् “यहाँका स्थानीयको समस्या र वडा सरकारको बुझाइको सवालमा आफू आफैंमा त्रुटी छ ।” स्थानीय सरकारले अतिसिमान्तकृत समूदायमाथि आफ्नो दायित्वलाई बुझ्नै प्रयास गरेको जस्तो लाग्दैन, स्थानीयकै कमजोरी देखाएर वडा सरकार पन्छिन् खोज्छ” पुडासैनी भन्छिन् । स्थानीयको लागि कुन समयमा कस्तो सेवा प्रभावकारी हुनसक्छ, त्यो अनुसारको कार्यक्रम तथा अनुदानहरु ल्याउनु पर्ने उनी बताउँछिन् ।
महिलाको आर्थिक सवलाीकरणमा प्रत्यक्ष प्रभाव पर्ने सिपमुलक कार्यक्रम यहाँको लागि आवश्यक भएको पुडासैनीको धारणा छ ।
यता मनहरी ३ को निमित्त वडा अध्यक्ष हिराबहादुर प्रजा वडाबाट तालिमका कार्यक्रम लैजान खोज्दा स्थानीयहरुले समय नदिएको बताउँछन् । “हामीसँग एकातिर सरकारी बजेट काटिएको कारण समस्या छ, अर्को स्थानीयहरुको रुचि नै आर्थिक समृद्धिमा छैन” उनले भने “यो वडाको डेडुखोला भन्ने ठाउँका महिलाहरुलाई सशक्तिकरणमा ल्याउन समस्या नै छ ।”
स्थानीयलाई अनुदानको रुपमा दिने बजेट नभएको उनले बताए । वडा कार्यलयले हरेक वर्षजसो कृषकलाई बिउ दिने गरेको उनले दावि गरे । यो वडाको उक्त बस्तिमा मात्रै नभइ अन्यत्र पनि यस्तै प्रकारको समस्या भएको कार्यवाहक वडा अध्यक्ष प्रजाले स्वीकार गरे । तर योजना छनौट गर्दा आफूले सूचनामा कमजोरी गरेको सवाल भने उनले स्वीकार गरेनन् । “तोकिएकै स्थान र समयमा हामीले कार्यक्रम गरेका हौ, तर उहाँहरु नै आउनु भएन” उनले भने ।
वडा कार्यलयले बाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत केही सहायता गर्ने गरेको बताउँदै उनले भने “तर ५० प्रतिशतमात्रै अनुदान वडाले दिन्छ, त्यहाँका महिलाहरुलाई ५० प्रतिशत लगानी गर्न पनि समस्या भएकोले हामीले कार्यक्रम लैजान नसकेकै हो ।” यसका अतिरीक्त सिप विकासको कार्यक्रमहरु रहेको तर स्थानीय महिलाहरु नै तालिमको लागि समय दिन नसकेको उनले बताए ।
ब्युटिसिन, सिलाई जस्ता सिप विकासको कार्यक्रम छन् तर त्यहाँका महिलाहरु यि सिपमा सहभागी हुनै नचाहने गरेको कारण समस्या हुने गरेको उनले बताए । दिनहुँ ज्याला मजदुरीको कारण उनीहरुलाई सिप सिकुञ्जेल घर कसरी चलाउने भन्ने समस्या हुने गरेको टोल विकास समूहकी सदस्य मिठु कार्कीले बताइन् ।
टोल विकासलाई सक्रिय बनाउन र योजना बनाउन पनि यहाँका महिलाहरुले ध्यान नदिने गरेको उनले बताए । म आफै पनि विपन्न वर्गको प्रतिनिधि हुँ, तर मैले प्रयास गर्दा पनि यहाँको यि वर्गको उत्थान गर्न सकेको छैन । उहाँहरुलाई आफ्नो आवश्यकता अनुसारको योजना माग गर्न आव्हान गर्ने गरेका छौं गत वर्ष पनि यसै गरेका हौं, तर कार्यक्रम नै माग भएन ।
वडासम्म पहुँच पुर्याउन पनि नसक्नेलाइ वडाले किन बेवास्ता गर्यो ? कार्यवाहक वडा अध्यक्ष प्रजा भन्छन् “हैन हामीले उहाँहरुलाई चासो दिएकै छौ, अनुदान पनि छ, यो वर्ष यहाँ खानेपानीको योजना सम्पन्न हुँदै छ” कतिपय अवस्थामा स्थानीयहरुले पनि आफ्नो लागि केही योगदान गर्नु जरुरी छ, सिप सिक्नु भन्दा भ्याउँदैनौ भन्नुहुन्छ, हामी स्थानीय सरकारले मात्रै चाहेर उहाँहरुको आर्थिक समृद्धि संभाव छैन ।”
वडा तथा गाउँपालिकाले निरक्षर स्थानीय महिला तथा अतिसिमान्तकृतलाई उपयुक्त सिपको कार्यक्रम तथा योजना ल्याएर उनीहरुलाई रोजिरोटिको जोहोमा समस्या नहुने गरी कार्यक्राम ल्याउनु पर्ने पुडासैनी बताउँछिन् । कतिपय अवस्थामा घरेलु मदिराको अधिक प्रयोग गर्ने गरेको कारण पनि यहाँका स्थानीयहरुको आर्थिक रुपमा पछाडी छन् । जुवातास अर्को समस्या छ यहाँ । जसको कारण महिला हिंसाको रुप पनि डरलाग्दो छ । आर्थिक समृद्धिको पाटो यसैले कमजोर छ ।
टोल विकास संस्थालाई वडा सरकारले सशक्त बनाउन सके सचेतनाको पाटोमा प्रभावकारी काम गर्न सकिन्छ, तर वडा वडाले खासै चासो दिएको देखिदैन । महिलाको आर्थिक अवस्था कमजोर छ, दैनिक ज्यालामा जाँदा दिनमै एक हजार कमाउनु हुन्छ, तर बचत र जीवनस्तरमा सुधार नै छैन । यसबारे स्थानीय महिलालाई पनि आर्थिक समृद्धिको लागि नै सचेत बनाउनु आवश्यक छ ।
मकवानपुर । आगामी २१ फागुनकाे लागि ताेकिएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले २७ राष्ट्रिय र ४ अन्तरराष्ट्रिय संस्था गरी ३१ वटा संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो ।
पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले गत ११ कात्तिकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।
निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उनको भनाइ छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक ती संस्थाका बारेमा निर्णय हुने आयोगले स्पष्ट पारेको छ ।
मकवानपुर । हेटौंडामा घर भत्काउने क्रममा ४ जना घाइते भएका छन् । गत २० मंसिरमा राजमार्गकाे क्षेत्र अन्तर्गत पर्ने हेटौंडा बजारमा डोजर चलाएर छोडेको घर भत्काउने क्रममा गत बुधबार १ र आइतबार (आज) ३ जना गरी हालसम्म ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार हेटौडा १ स्थित उद्योग वाणिज्य संघ अगाडीको बिकी जैसवालको घरका संरचना भत्काउने क्रममा मकवानपुर मकवानपुरगढी १ रानिसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट ९ बस्ने २६ वर्षीय दिनेश चौधरी, उदयपुर बेलका १ पुरन्दा बस्ने ३० वर्षीय अरुण चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले जानकारी दिए ।
घाइतेहरुलाई मकवानपुर प्रहरीले स्थानीय समेतको सहयोगमा उद्दार गरी उपचारको लागि अस्पताल पठाएको छ । घाइते ३ जना मध्ये सन्तोष र दिनेशकाे मकवानपुर सहकारी अस्पताल र अरुणकाे हटौंडा अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरुकाे शरीरका बिभिन्न भागमा चोट पटक लागेकाे तर अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
यस अघी २४ मंसिर बुधबार हेटौडा १ उद्योग वाणिज्य संघ अगाडि नै रहेकाे सुदिप थापा सडक बिस्तारको क्रममा भत्काइएकाे घर सफा गर्ने क्रममा १ जना कामदार घाइते भएका थिए । दुई तला माथिको ढलान तल झर्दा रौतहट माधवनारायण ७ लौकाहा घर भई हाल हेटौडा १० बुद्धचोकमा बस्दै आएका १९ वर्षीय जितेन्द्र माझी घाइते भएका हुन् ।
हेटौंडा बजार क्षेत्रकाे राजमार्ग विस्तार गर्ने क्रममा करिब ५०० घरमा डोजर चलाएर छोडेकोमा अहिले बाँकी संरचना घरधनीहरुले हटाइरहेको छन् । सडक डिभिजन कार्यालयले डोजर लगाएर भत्काइएकाे संरचनामा रहेकाे सामान हटाउन र बाँकी संरचना घरधनी आफैंले हटाउन भनेकाे थियाे । अहिले बुद्धचोकबाट उत्तर तर्फकाे त्रिभुवन राजपथ क्षेत्रमा पर्ने घरधनीहरुले बाँकी संरचान हटाउने काम गरिरहेका छन् ।
मकवानपुर । मकवानपुरकाे सदरमुकाम हेटौंडाकाे बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सर्वोच्च अदालते मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेकाे छ ।
शुक्रबार सर्वोच्चमा उक्त मुद्दामा छलफल तथा बहसकाे सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश भएको हो । डिभिजन सडक कार्यालय हेटौंडाको पूर्व पश्चिम राजमार्गकाे राताेमाटेदेखि राप्तिपुल तथा त्रिभुवन राजपथकाे बुद्धचाेक देखि सामरी पुल सम्मकाे सडक विस्तारकाे सूचना विरुद्ध विन्दवासिनी कंसकार समेतले रिट दायर गरेका थिए । उक्त रिटकाे सम्बन्धमा १९ मंसिरमा अल्पकालिन आदेश जारी गर्दै शुक्रबार आज छलफलकाे लागि बाेलाएकाे अदालतले रिट निवेदनमाथि सर्वोच्च अदालतको इजलास नम्बर २ मा सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको बताइएकाे छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले आगामी पुस २ गते पेसी तोक्दै मिसिल झिकाउने आदेश गरेका हुन् । उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णयहरू हरेर छलफल हुनेछ । रास्वपा नेतृ एवम् पूर्वसांसद कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौंडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
२० मंसिरकाे विहानै सडक विस्तारकाे काम सुचारु गरेकाे सडक डिभिजनले २१ मंसिरमा सर्वोच्चकाे आदेश तामेल भएकाेले तत्कालका लागि सडक विस्तार सम्बन्धी कार्य स्थगित भएकाे जनाएकाे थियाे । सडक विस्तारकाे क्रममा करिब ५०० घर तथा संरचना भत्काइएका छन् ।
त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाकाे मुख्य बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । उपमहानगरले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको बुद्ध चोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गको रुपमा विकास गर्न प्रस्ताव गरिएको हो ।
हेटौंडामा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्ने प्रस्ताव अघि सारेकाे हाे । बुद्ध चोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुदैं गएको र उक्त मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् ।
पर्यटकीय मार्गको रुपमा अगाडि बढाउन प्रस्ताव गर्दै उक्त सडक खण्डलाई सडक केन्द्रबाट दायाँबायाँ १६–१६ मिटर मात्र सडक सीमा निर्धारण गर्न सरकारसँग अनुरोध गर्ने गरी सहमति भएको बताइएकाे छ । सडक डिभिजन हेटौंडाले बुद्धचोकबाट सामरी पुलसम्म दायाँबायाँ २५–२५ गजको सडक सीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाइएसँगै उक्त मार्ग भएर जाने वडा नम्बर १ र २ का वडाध्यक्षसहित जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता रहेको सो भेलामा सडक केन्द्र भागबाट दायाँबायाँ १६–१६ मिटर चौडा गर्न प्रभावितहरुले सहमति जनाएकाे हेटौडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
वडाध्यक्ष महर्जनले विकास नागरिकको लागि भएको र विनाशले मात्र समृद्धि हासिल गर्न नसकिने भन्दै हेटौंडाको बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक चौडाका नाममा ठुलो लगानी गर्नुको औचित्य पुष्टि हुने आधार नभएकोले सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्न उपयुक्त हुने सुझाव दिइएकाे बताउँछन् ।
’त्रिभुवन राजपथको बुद्धचोकबाट उत्तरतर्फ पर्यटकीय मार्ग बनाउन कार्यपालिका बैठकले समेत निर्णय गरेको छ’ उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपानेले भने उक्त निर्णयलाई आगामी पुसकाे नगरसभाबाट पारित गरेर संघीय सरकारलाई अनुराेध गर्छौं ।’
हेटौंडा उपमहानगरपालिकाको ७६ औँ कार्यपालिका बैठकले नगर सभामार्फत संघीय सरकारलाई उक्त प्रस्तावन गर्ने निर्णय गरेको हो । न्यौपानेले पर्यटकीय मार्ग बनाउँदा नागरिकको भौतिक संरचनामा कम क्षति हुने र सरकारको लगानीका आधारमा उच्चतम प्रतिफलसमेत प्राप्त हुने बताए ।त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म करिब तीन किमि सडक रहेकाे छ ।