मकवानपुर । मकवानपुरकाे सदरमुकाम हेटौंडाकाे बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सर्वोच्च अदालते मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेकाे छ ।
शुक्रबार सर्वोच्चमा उक्त मुद्दामा छलफल तथा बहसकाे सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश भएको हो । डिभिजन सडक कार्यालय हेटौंडाको पूर्व पश्चिम राजमार्गकाे राताेमाटेदेखि राप्तिपुल तथा त्रिभुवन राजपथकाे बुद्धचाेक देखि सामरी पुल सम्मकाे सडक विस्तारकाे सूचना विरुद्ध विन्दवासिनी कंसकार समेतले रिट दायर गरेका थिए । उक्त रिटकाे सम्बन्धमा १९ मंसिरमा अल्पकालिन आदेश जारी गर्दै शुक्रबार आज छलफलकाे लागि बाेलाएकाे अदालतले रिट निवेदनमाथि सर्वोच्च अदालतको इजलास नम्बर २ मा सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको बताइएकाे छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले आगामी पुस २ गते पेसी तोक्दै मिसिल झिकाउने आदेश गरेका हुन् । उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णयहरू हरेर छलफल हुनेछ । रास्वपा नेतृ एवम् पूर्वसांसद कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौंडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
२० मंसिरकाे विहानै सडक विस्तारकाे काम सुचारु गरेकाे सडक डिभिजनले २१ मंसिरमा सर्वोच्चकाे आदेश तामेल भएकाेले तत्कालका लागि सडक विस्तार सम्बन्धी कार्य स्थगित भएकाे जनाएकाे थियाे । सडक विस्तारकाे क्रममा करिब ५०० घर तथा संरचना भत्काइएका छन् ।
त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाकाे मुख्य बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । उपमहानगरले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको बुद्ध चोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गको रुपमा विकास गर्न प्रस्ताव गरिएको हो ।
हेटौंडामा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्ने प्रस्ताव अघि सारेकाे हाे । बुद्ध चोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुदैं गएको र उक्त मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् ।
पर्यटकीय मार्गको रुपमा अगाडि बढाउन प्रस्ताव गर्दै उक्त सडक खण्डलाई सडक केन्द्रबाट दायाँबायाँ १६–१६ मिटर मात्र सडक सीमा निर्धारण गर्न सरकारसँग अनुरोध गर्ने गरी सहमति भएको बताइएकाे छ । सडक डिभिजन हेटौंडाले बुद्धचोकबाट सामरी पुलसम्म दायाँबायाँ २५–२५ गजको सडक सीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाइएसँगै उक्त मार्ग भएर जाने वडा नम्बर १ र २ का वडाध्यक्षसहित जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता रहेको सो भेलामा सडक केन्द्र भागबाट दायाँबायाँ १६–१६ मिटर चौडा गर्न प्रभावितहरुले सहमति जनाएकाे हेटौडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
वडाध्यक्ष महर्जनले विकास नागरिकको लागि भएको र विनाशले मात्र समृद्धि हासिल गर्न नसकिने भन्दै हेटौंडाको बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक चौडाका नाममा ठुलो लगानी गर्नुको औचित्य पुष्टि हुने आधार नभएकोले सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्न उपयुक्त हुने सुझाव दिइएकाे बताउँछन् ।
’त्रिभुवन राजपथको बुद्धचोकबाट उत्तरतर्फ पर्यटकीय मार्ग बनाउन कार्यपालिका बैठकले समेत निर्णय गरेको छ’ उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपानेले भने उक्त निर्णयलाई आगामी पुसकाे नगरसभाबाट पारित गरेर संघीय सरकारलाई अनुराेध गर्छौं ।’
हेटौंडा उपमहानगरपालिकाको ७६ औँ कार्यपालिका बैठकले नगर सभामार्फत संघीय सरकारलाई उक्त प्रस्तावन गर्ने निर्णय गरेको हो । न्यौपानेले पर्यटकीय मार्ग बनाउँदा नागरिकको भौतिक संरचनामा कम क्षति हुने र सरकारको लगानीका आधारमा उच्चतम प्रतिफलसमेत प्राप्त हुने बताए ।त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म करिब तीन किमि सडक रहेकाे छ ।

