मकवानपुर । चितवनका लेखक वसन्त पराजुलीको आख्यान (उपन्यास) बखानकाे हेटौंडामा परिचर्चा गरिएकाे छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो ।
पत्रकार पराजुलीकाे तेस्राे कृति बखानकाे अग्रज साहित्यकार डा. निमेष निखिलले विविध पक्षमा संक्षिप्त टिप्पणी गरे । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताए । कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्नका लागि गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उनले बताए ।
प्रजातान्त्रिक आन्दोलनका प्रणेता मध्येका बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । उनी २००७ सालको जनक्रान्तिका एक योद्धा पनि हुन् । शाही सेनाको क्याप्टेन पदको जागिर छाडेर राणाविरोधी क्रान्तिमा होमिएका उनले क्रान्तिकै क्रममा दुई छोरासमेत गुमाएका थिए ।
गुरुङको जीवनका विविध संघर्षका क्षणहरूको रोचक चित्रणले उपन्यास जीवन्त बनेको निखिलको भनाइ थियो । चित्रसेन बाबाको मन्दिरको कथा, सोमेश्वर गढी तथा त्यहाँ रहेको मन्दिरको कथा, उपरदाङ गढीको सन्दर्भ, देवघाटको प्राचीनताको कथा, चितवन राष्ट्रिय निकुञ्जको स्थापना र यहाँ राजपरिवार तथा विदेशीहरूले शिकारका नाममा गरेको जङ्गली जनावरहरूको सिकारको नृशंस कथा उपन्यासमा अनुसन्धानमूलक ढङ्गले समेटिएको उनकाे विश्लेषण थियो ।
त्यसै गरी २००७ सालको राणाविरोधी जनक्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कु, त्यसपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विद्रोह, पुलिमराङदेखि बन्दीपुरसम्मका जनसरकार गठन तथा क्रान्ती र कब्जा लगायतका तत्कालीन सन्दर्भ, चितवनमा बस्ती विकासका प्रारम्भिक दिनको अवस्थालाई कथाका माध्यमले कलात्मक रूपमा उपन्यासमा उनिएकाे उन बताए । उपन्यासमा वर्णनात्मकता र विवरणात्मकता बढी भएका कारण साहित्यिक मिठास भने केही कम भएको महसुस हुने निखिलले टिप्पणी गरे ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उपन्यास मार्फत उपन्यासकार पराजुलीले आफ्नो जिल्ला चितवन र त्यहाँका विशिष्ट स्थान तथा ऐतिहासिक सन्दर्भहरूलाई चिनाउने प्रयास गरेको बताए । बखान सिंह गुरुङले २० चैत २० चैत २०१३ मा स्थापना गरेकाे बखान बचत तथा ऋण सहकारी सन्दर्भमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै राष्ट्रले उनकाे स्मरण गरेको उनले बताए । २० चैत २०१३ मा चितवनको बखानपुरमा बखान बचत तथा ऋण सहकारी स्थापना गरेर बखान सिंले सहकारी अभियान थालेका थिए । प्रजातन्त्र ल्याउन सशस्त्र संघर्ष गरेको आधारमा बखानपुरलाई पछि शारदानगर नामाकरण गर्दै राजनीतिक प्रतिशोध साधिए देखिने समेत उनको भनाई थियो ।
पाठककाे तर्फबाट आरपी गुरागाईंले पुस्तक राजनैतिक आर्थिक सामाजिक ऐतिहासिक भौगोलिक परिवेशलाई समेटर लेखिएकाेले जुन सुकै क्षेत्रका लागि समेत पठनीय र संग्रहणिय रहेकाे बताए । उनले चितवनको वस्ती विकासको केन्द्रमा लेखिएकाे पुस्तकले बसाई सराई संगै सस्कृती समेत सर्दै आएको बताउँदै लेखकले आख्यानमा उल्लेख भएका महिला पात्रको चरित्रलाई अलि कम महत्व दिएकाे देखिएकाे बताए ।
लेखक पराजुलीले पुस्तक राजनैतिक पृष्ठभूमिमा आएकाे भए पनि चितवनकाे वस्ति विकासकाे रुपमा बखानको आँखाबाट मात्रै हेरिएकोले अरु गौण लाग्नु स्वाभाविक रहेको जानकारी दिए । उनले पुस्तकमा चितवन मात्रै नभइ छिमेकका जिल्लाहरुकाे समेत विकासमा भूमिका रहेकाे बताए । मकवानपुरकाे हर्नामाडी क्षेत्रकाे समेत उल्लेख भएकाेले दुन क्षेत्रमा तत्कालिन समयमा वस्ति विकासमा बखान सिंहकाे सक्रियता रहेकाे पाइएकाे उनले जानकारी दिए ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा प्रजिअ अधिकारीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईले लेखकको कृतिगत सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, महासंघ केन्द्रीय सदस्य नारायण अधिकारी, महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो ।

