तीजकाे समय छ म चितवन स्थित विपि काेइराला मेेमाेरियल अस्पतालकाे वेड नं १५४ मा श्रीमानकाे उपचारमा व्यस्त छु । हेटौंडा घरमा ताला लागेकाे छ, छाेरा छाेरि माइती (उनीहरूको मामाघर) मा छन् । आमासंग भएकोले छोराछोरीको हालचालबारे चासो छैन, ढुक्क छु ।
हामी नेपाली हरदिन जसो कुनै न कुनै चाड / दिवस मनाईरहेका हुन्छौ, चाडपर्व र संस्कृतीका धनि छौ हामी । धेरै मध्ये तीज एउटा पर्व जुन मलाइ कहिल्यै मन नपर्ने चाड । यसपालि तीज मनाउन पाइन भनेर हैन । तीजमा भाेक भाेकै बस्नु पर्ने, अझ घरमा गाइवस्तु र केटाकेटी छन भने व्रत वस्नु जति गाह्रो के हाेला र झै लाग्छ । हुनत गाह्रो भन्ने कुरा सुतिरहेकाे समयमा पनि अनुभव गर्ने कुरा हाे, यदि कुनै कुराले ऐठन गरिरहेकाे छ भने । तर मेराे लागि गाह्रो शब्दले मानसिक र शारिरिक दुबै जनाउँछ ।
दशैकाे समयका लागि भनेर खसी बोका मालिकले खुवाइ पियाइ पुटुक्क बनायर खसी बजारमा बेच्न राखिएका खसी बोका झै लाग्छ मलाई तीजका महिलाहरु । जाे आफुलाई अरुकाे नजरमा पार्न हर सम्भव सिंगार्दछन र अरुकाे खिल्लि उडाउँछन् । भगवानले त भन्दैनन हाेला तँ बढि सिंगारिस तेराे प्रार्थना म पहिला सुन्छु । या तँ कस्ति नराम्री भर आकी तेराे प्रार्थना सुन्दिन भनेर । जीवनकाे अनुभवले भन्छ मनमा श्रद्वा भए भगवान स्वयं व्यक्तिकाे मनमा हुन्छन न कि कुनै मन्दिरमा ।
अझ याे साडी, गरगहना उफ !! कुनै गरिव परिवारकाे व्यक्तिले पहेलाे गहना जे लगाए पनि नक्कली हुने अनि धनाढ्य परिवारले नक्कली लगाए पनि सक्कली साेच्ने याे एक किसिमकाे समुदायले हाम्राे समाजमा गरिवले त तीजमा सास पनि फेर्न हुन्न कि झै गरेर देखाउँछन् ।
गरगहना लगाउन नसक्ने त थिइन म पनि तर कहिले पनि जरुरी ठानिन । आमाले लगाइदिनु भएको नाककाे फुलि कहिलेे उतारेर नया लगाउने साेच बनाइन, कानमा जे लगाए पनि चिलाइहाल्ने र पाकिहाल्ने मेराे समस्या याे तीजले बुझ्थेन । श्रृङ्गार विना बचपनदेखि हालसम्म पनि हिड्न सकिन, ओठमा बल्ल लालि लगाउन वानि पार्दै थिएँ । कपडामा जुन हल्का छ तेहि लगायर हिड्ने बानीले कुन सुहायाे कुन सुहाएन साेच्न भ्यायन ।
कहिल्यै तीजका लागि याे चाेलाे, याे साडि, याे कुर्ता सलवाल भन्न मन नलाग्दा पनि अरुकाे लागि लगाउनु पर्थ्याे मैले, त्यहि अरुकाे नजरमा नआउनका लागि बाध्य भयर केही श्रृङ्गार गर्दा गर्दा वाक्क थिएँ म ।
म पनि व्रत वस्न कुनै कसर नराख्ने मान्छे, तर कहिल्यै आफूलाई सिँगार पटार गराएर भगवानकाे अगाडि उभ्याइन । आमा भन्नुहुन्थ्यो पुजा गर्दा ब्रम्हमुहुर्त समयमा नुहायर चाेखाे कपडा लगाउनु पर्छ । त्यसैगरि संधै भगवानकाे प्रार्थना गर्थे म ।
ल भाे छाेडाै यि कुरा । हस्पिटल मात्र यस्ताे ठाउँ देखे मैले जहाँ सबै जना उस्तै हुन्छन् । हतास, निराशको भित्र आशा जोडेर जगाईरहेका । काेहि पनि अरुले के खायाे के लायाे भन्नेमा चासाे दिदैनन् । सबैको आ आफ्ना पीडा छ, आ आफ्नो संसार छ । सबकाे उहीँ पीडा, काेहि राेइरहेका, काेहि मलिन मुहारमा घाेत्लिएका, काेहि याे ओैषधि पाइएन भन्दै भागदाैडमा लागेका । काेहि चेकअपकाे लाईनमा काेहि औषधिकाे लाइनमा काेहि शाैचकाे लाइनमा, काेहि प्लेट कचाैरा बोकेर खानाकाे लाइनमा ।
एउटा बेडकाे बिरामीले र बिरामी कुरुवाले अर्काे वेडमा के भइरहेकाे छ सम्म थाहा पाउदैन । बस कुनै बेला बिरामी पिडाले चिच्याइरहेकाे सुने केही नहाेस भनेर साेच्नसम्म भ्याउँछ । नत्र बिरामी कुरुवा समेत बिरामीभन्दा बढी बिरामी भईरहेकाे हुन्छ भागदाैडमा ।
तर उस्ले म बिरामी भए भन्न सुहाउँदैन । तर यहाँ एउटा सुकुन हुने रहेछ तीज जस्ताे चाडवाडकाे भागदाैड भन्दा । कम्तिमा देखासिकि हुन्न यहाँ । टन्न पैसा हुनेकाे पीडा र गरिव विपन्न परिवारकाे पीडा पनि उहीँ छ यहाँ । यहाँ याे नर्सकाे परिवारकाे या डाक्टरको परिवारकाे हाे यस्लाइ पीडा हुन्न भन्ने लेखियकाे हुन्न, डाक्टरको परिवारका व्यक्ति समेत श्वास फेर्न नसकेर छटपटिएर मरेकाे देखें । कारमा चढेर उपचार गराउन आउनेहरु शव वाहनमा फर्केकाे देखे र ठुलाे पाेकाे बोकेर उपचारका लागि घरमा ताला लगाएर एक्लै आएका बिरामी पनि हाँसीहाँसी निकाे भएर गएकाे देखें ।
त्यसैले हस्पिटल यस्ताे ठाउँ लाग्याे जहा बिरामीको अगाडि बाध्य भएर मुस्कुराउनु अनि केही बेर हराएर कुनामा पसेर रुनुकाे नियतिसंग जाेडिएकाे छ । जहाँ कसैले कसैकाे कुभलाे साेच्नसम्म भ्याउँदैन । अनि कसैले कसैकाे आशु पुछ्न पनि हिम्मत गर्दैन ।
किनकी एउटाकाे आखामा आशु देख्ने बित्तिकै सबकाे गला अबरुद्व हुने स्थान रहेछ याे । अनि यउटा मुसुक्क हासे फिर्ता पनि तेहि मुस्कान छरिने स्थान रहेछ । कसेैले कसैलाइ चिन्दैन, तर पनि काेहि अन्जान छैन झै लाग्ने रहेछ । सायद भगवानकाे घर भन्दा यमराजकाे ढाेका झै लाग्ने हस्पिटलमा सबकाे लागि उस्तै व्यवहार हुन्छ ।
एक त भगवान प्रति आस्था गुमाउदै गएकी मेरा लागि तीजमा हस्पिटल विताउन कुनै गाराे भएन । बरु म जस्ता कयाै यहाँ भयकाहरुकाे पनि त चाड हाे याे उनीहरूको अनुहारमा मलिनता भईरहेकाे समयमा कसरी म चाहिँ रमाउन सक्छु र झै भएकाे छ ।
जीवन भाेगाइहरुकाे चाङ रहेछ । अनुभवहरुकाे संगालाे, हरेक कुराहरु लाग्ने बानीमा निर्भर रहेछ । पिडाकाे हाेस या खुसीकाे । बानी लागेपछि दुख पनि सहयात्रि, सुख पनि । सुख बाड्न सहज हुने रहेछ बरु तर दुख बाड्न अति गाराे । पिडाकाे समयमा कसैले गर्ने सानाे सहयाेग पनि ठुलाे लाग्ने अनि काेहि पर भैदिदा पनि ठुलाे लाग्ने रहेछ ।
तर वास्तवमा जब अरुकाे साथकाे आवश्यकता पर्छ तब काेहि साथमा हुनु र नहुनुले सिकाउने जति ठुलाे पाठ दुनियाँमा कुनै कितावले नसिकाउने रहेछ । काे आफ्नाे अनि काे पराई यहिबाट चिनिने रहेछ । आफूलाई पराई लागिरहेकाे मान्छे अचानक आफ्नाे लाग्ने अनि आफूले आँखा चिम्लेर विस्वास गरेकाहरु पराई पाे भैदिदा रहेछन् थाहै नपाइ ।
यी सबै परिस्थिति र मनकाे स्थितिले निर्धारण गर्ने कुरा रहेछ । कसैले बोल्ने दुई शव्दकाे सहानुभुति पूर्ण शव्दले पनि बाँडले छेडे झै छेड्ने रहेछ । हस्पिटल एउटा अर्कै संसार जस्तो लाग्छ । कहिले बिछट्टै अपनत्व पाइने,कहिले गहिरो चोटको सामना गर्नुपर्ने । कहिले सानो सामान्य कुराले पनि मनभित्र उर्जा भरिने,कहिले चाहेको सानै कुरामा पनि साथ कसैको नमिल्ने । मैले कसैको भावना, संवेदना, धार्मिक विश्वासलाई खोट लगाउन खोजेकी हैन । बस आफ्नो भोगाइ देखाई बिसाएकी हुं ।
जे जे हाेस जीवन सिकाइहरू कै संगालो रहेछ,म त्यै संगालोमा माला उन्दैछु, सपना भर्दैछु छ । सिकाइको एक एक पलहरूमा सिक्दैछु सबैभन्दा ठुलाे कुरा स्वास्थ्य र सम्पत्ति रहेछ । सम्पत्ति विना स्वास्थ्य राम्राे बनाउन कठिन अनि स्वास्थ्य विना सम्पत्ति कमाउन कठिन । दुबैकाे तालमेल मिले मात्र खुसी र सुखहाल जीवन जीउन सकिने रहेछ । याे तिजमा भगवान शिवलाइ यहि प्रार्थना सम्पूर्ण हिन्दु धर्मावलम्बीको स्वास्थ्यलाई स्वस्थ राखुन । म जस्तै गरि बिरामी आफन्त कुर्दै बिरामीको भविष्यमा सपना सजाई रहेकाहरूको सपना साकार होस् । अरूले मन्दिर धाएर के मागिरहेछन थाहा छैन,म बेड न १५४ मा घोत्लिएर यहि कामना गरिरहेको छु ।
मकवानपुर । हेटौंडा उपमहानगर क्षेत्रबाट उत्पादन हुने फोहर व्यवस्थापनका लागि कार्यदल गठन गरीएको छ । उपमहानगरका नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा भएको ८ औं कार्यपालिका बैठकले पालिका क्षेत्रबाट निस्किएका फोहर व्यवस्थापन गर्नका लागि उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरेको हो ।
एक साता अघि सहीखबरले हेटाैडाकाे फाेहाेर व्यवस्थापन चुनाैतीपूर्ण भएकाे बारे सामाचार प्रकाशन गरेकाे थियाे ।
कार्यदलले उपमहानगका क्षेत्रबाट उत्पादन भएका फोहरलाई एकै ठाउँ डम्पिङ गर्ने भन्दा पनि फरक /फरक ठाउँहरुमा फोहर व्यवस्थापनको लागि सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । अहिलेको व्यवस्थापनमा खर्चिलो र जोखिम बढि भएकाले उपमहानगर क्षेत्रका अन्य ठाउँमा समेत फोहर व्यवस्थापन गर्न सकिन्छ कि भन्ने हिसाबले कार्यदल गठन गरेर कामगर्न लागिएको नगर प्रमुख लामाले बताइन् ।
अब पुरानै शैलिबाट फोहर व्यवथापनमा असहज अवस्था आएकाले नगर क्षेत्रका वडाहरुमा पनि डम्पिङ साईडको व्यवस्थापनगर्नका लागि कार्यलदलले कामगर्ने बताइएको छ । सबै क्षेत्रबाट उपमहानगरले निर्धारण गरेको डम्पिङ साईड सम्मफोहर ल्याउँदा व्यवस्थापनमा निकै कठिन देखिएकाले सम्बन्धीत वडाको फोहर व्यस्थापनका लागिअन्य ठाउँको पहिचानको लागि कार्यदल गठन गरीएको उनले बताइन् ।
फोहर व्यवस्थापन कार्यदलको सदस्यमा हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्वा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुवेदी सदस्य रहेका छन् ।
मकवानपुर । एमाले मकवानपुरले उम्मेद्वारकाे सिफारिसकाे लागि मिति, मापदण्ड र प्रक्रिया तोकेको छ ।
नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी सचिवालयकाे बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनकाे लागि भाद्र १८ गते र १७ गते सम्बन्धित कमिटीकाे बैठक बसी सिफारिस गर्ने निर्णय गरेकाे छ ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा र केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाकाे प्रमुख आथित्यतामा बसेकाे बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे उम्मेद्वारकाे अन्तिम सिफारिसकाे लागि १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीकाे पूर्ण बैठक बस्ने भएकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयाे ।
प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, आमन्त्रित सदस्य निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने विधानकाे व्यवस्था रहेकाे सचिव सिग्देलले बताउनु भयाे । उम्मेद्वार सिफारिस गर्दा पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिबद्वता, लाेकप्रियता र विजयकाे सुनिश्चिता, पार्टीप्रतिकाे निष्ठा र आन्दाेलनमा याेगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानुन बमाेजिमकाे याेग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन अनुरूप सिफारिस गर्ने निर्णय गरेको पार्टी सचिब ननिन सिग्देलले बताए ।
उम्मेदवारको लागि १ महिलासहित ३ जनाकाे सिफारिस गर्नसक्ने प्रावधान रहेकाे बारे पार्टीले ध्यान दिने सचिव सिग्देलले बताए । बैठकले प्रतिनिधिसभा १ नं. मा अनन्त पाैडेल, प्रदेशसभा “क” मा रामचन्द्र राई, “ख”मा गाेपाल श्रेष्ठ, २ नं. डाेरमणि पाैडेल, प्रदेशसभा “क” मा नवराज तिमल्सिना, “ख”मा एकराज उप्रेतीलाई सहजकर्ता ताेकिएकाे जनाईएकाे छ ।
बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलालगायतका प्रदेश सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वार्षिक विवरण सार्वजानिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कामहरुको तथ्याङगत विवरण सार्वजानिक गरेको हाे ।
भ्रष्ट्राचार न्यूनिकरणको लागि सहकार्य सम्वन्धी छलफलमा आयोगका उपसचिव एंव सुचना अधिकारी विष्णुप्रभा सापकोटाले वार्षिक १३ हजार भन्दा बढी उजुरी दर्ता भएकाे जानकारी दिए । सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी दिएका थिए ।
सापकाेटाका अनुसार आयाेगकाे हेटाैडा कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका उजुरी १३ हजार ५६ तथा आर्थिक वर्ष २०७७/७८ काे फर्छ्यौट हुन नसकी जिम्मेवारी सारिएकाे बाँकी ८ हजार ९३ उजुरी रहेका छन् । आयाेगकाे हेटाैडा कार्यालयमा दर्ता भएका उजुरीमध्ये १३ हजार १ सय ६ उजुरी फर्छ्यौट भएको सापकोटाले बताए ।
‘आयोगले चालु आर्थिक वर्षमा ९० वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेकाे छ’ सापकाेटाले भने– ‘उक्त मुद्दाहरूमा ४ सय ६३ जना व्यक्तिलाई प्रतिवादी बनाईएको छ ।’ विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णयबाट २ अर्ब ५४ करोड ४७ लाख ६ हजार ४४ रुपैयाँ बिगो मागदाबी गरिएकाे उनले बताए । विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेकाे ९० वटा मुद्दा मध्ये राष्ट्रसेवक कर्मचारी २ सय २२ जना, निर्वाचित र मनोनित पदाधिकारी १ सय जना, मतियारहरुमा १ जना पूर्व मन्त्री, व्यवसायी र अन्य गरी १ सय ४० जना रहेका छन् ।
आयोगमा सार्वजनिक खरिद, निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेकाे बताइएकाे छ । सापकाेटाले सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी उजुरी प्रायः दर्ता हुने गरेकाे बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु समेत दर्ता भएको सापकोटाले बताए ।
कार्यक्रममा आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमले पनि नागरिकलाई सचेतना फैलाउन आग्रह गरेका छन् । उनले कानुनी दायरामा रहेर भ्रष्टचारीलाई कारवाही गरि भ्रष्टचारको अन्त्य गर्नतर्फ आयोग लागि रहने बताए ।
मकवानपुर । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे हेटाैडा कार्यालयमा हेटाैडा उपमहानगरपालिकाकाे उजुरी बढी परेकाे छ । मकवानपुरका १० स्थानीय तह मध्ये उपमहानगरपालिकाकाे आर्थिक वर्ष २०७८।०८९ मा धेरै उजुरी परेकाे अख्तियार हेटाैडा कार्यालयले जनाएकाे छ । आर्थिक वर्ष २०७७।०७८ मा भन्दा गत आर्थिक वर्षमा धेरै उजुरी परेका हुन् ।
मकवानपुर अन्य स्थानीय तह मध्ये गत आर्थिक वर्षमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले जानकारी दिए । आयोगको हेटौंडा स्थित कार्यालयले पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८।०७९ मा १ सय २४ वटा उजुरी परेका जानकारी गराइएकाे हाे । उपमहानगरपालिका सम्बन्धी आर्थिक वर्ष २०७७।०७८ मा ४५ वटा मात्र उजुरी परेका अख्तियारले जनाएकाे छ ।
यसैगरी विगत २ वर्षमा हेटाैडा पछि धेरै उजुरी परेका स्थानीय तहमा मनहरी गाउँपालिकाको ४२ वटा, बकैया गाउँपालिकाको २१ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा, कैलाश गाउँपालिकाकाे १२ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, थाहा नगरपालिकाकाे ८ वटा बागमती गाउँपालिकाको ६ वटा र इन्द्रसराेवर गाउँपालिकाकाे ४ वटा दर्ता भएकाे सूचना अधिकारी सापकोटाले बता ।
परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए ।

