मकवानपुर । आज चेपाङ समुदायमा जातिय महान पर्वको रुपमा मनाउँदै आइएको न्वागी पर्व मनाइदै छ । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रुपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।
आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले आज सार्जनिक बिदा दिएको हो । बागमती प्रदेशको ३ जिल्लामा मात्रै लागु हुने गरी पहिलो पटक प्रदेश सरकारले बिदा दिएको हो ।
नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदले २०७८ चैत ९ गते प्रदेशको चेपाङ बाहुल्यता रहेको मकवानपुर, चितवन र धादिङमा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यि ३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो ।
विगतको वर्षहरुमा झै चेपाङ संघले आज बुधबार चितवनमा सामूहिक रुपमा न्वाँगी पर्व मनाउँदै छ । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले पर्वको सबै तयारी पुरा भएको बताए । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।
प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएकोले सामुहिक रुपमा पर्व मनाउँदै महत्वबारे चर्चा गर्ने गरिएको छ । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न तथा फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ ।
सामूहिक रुपमा भोजन गरेर, रातभर रमाइलो गरेर जागा बस्ने गरीन्छ । लोपोन्मुख चेपाङ जातिले भीरपाखाबाट कन्दमुल र फलफूलहरु संकलन गरेर छाक टार्ने गरेको भएपनि यस दिन मिठो खाने र रमाउने गरेको प्रदेश साँसद सन्त चेपाङले बताए । चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको साँसद चेपाङले बताए । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा “छोनाम” भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ ।
बागमती प्रदेशमा ६३ हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । बागमती प्रदेश बाहेक गोरखालगायतको जिल्लाहरुमा पनि चेपाङको बसोबास रहेको छ । चेपाङ समुदायलाई संघीय सरकारले लोपोन्मुख प्रजातिको रुपमा सुचिकृत गरी सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि न्वागीपर्व विशेष महत्वका साथ मनाइएको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् पूर्व गोविन्दराम चेपाङले बताए ।
गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् । दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि गरेपछी भोली ‘बारना’ गरेर चाड समापन गरिदैछ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा ठमेल चियापप भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–७ नागस्वतीमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोलले पराजित गर्दै ठमेल भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।
ठमेल भेट्रान्सको लागि विजय गुरुङले गरेको पहिलो गोल नै जित दिलाउन निर्णायक भयो । गुरुङ म्याच अफ द म्याच घोषित भए । ठमेल भेट्रान्स अब बुधबार दिउँसो हुने फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स र पोखराको बगरभाई खलक बीचको विजेतासँग खेल्नेछ ।
मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा कोटेश्वर भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक नागस्वती भेट्रान्स सेमिफाइनल प्रवेश गरेको हो । यस्तै थापागाउँ भेट्रान्सलाई पराजित गर्दै बगरभाई खलक सेमिफाइनलमा प्रवेश गरेको हो ।
नागस्वती र बगरभाई बीचको सेमिफाइनल खेल मंगलबार नै हुने कार्यतालिका रहे पनि पानी परेको कारण स्थगित भएको र खेल बुधबार बिहान हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला पार्टी कार्यालय हेटौडामा आज बसेको बैठकले प्रत्यक्ष तर्फ मकवानपुरको दुई प्रतिनिधि सभा क्षेत्रमा ४ जना र प्रदेश सभा ४ वटा क्षेत्रमा १० जनाको नाम सिफारिसको लागि प्रदेश कमिटिलाई पठाउने निर्णय गरेको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा संबिधान सभाका सदस्य समेत भएका पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेको नाम सिफारिस गरेको छ । प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को क र ख का लागि ५ जनाको नाम सिफारिस गरेको छ । पार्टीका अनुसार १ को क मा पार्टी प्रदेश कमिटि उपाध्यक्ष प्रेमबहादुर पुलामी मगर, केन्द्रिय सदस्य बिजय गौतम र जिल्ला समन्वय सचिब भिमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ ।
यसैगरी ख का लागि हेटौडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि बैठकले दुई जनाको नाम सिफारिस गरेको छ । पोलिटब्युरो सदस्य समेत रहेका पार्टीको मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रिय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ ।
प्रदेश सभाको लागि क्षेत्र नम्बर २ को क र ख मा ५ जनाको नाम सिफारिस गरेको छ । २ को क को लागि पोलिटब्युरो सदस्य कुमारी मोक्तान, उपत्यका बिशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे प्रलोक र प्रदेश कमिटि सदस्य लब्शेर बिष्टको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ को ख का लागि प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिका पार्टी अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरेको पार्टी जिल्ला समन्वय समिति सचिब भिमबहादुर पाख्रिनले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी कुमारी मोक्तानको नाम २ ठाउँमा सिफारीस गरिएको हो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमाले पार्टी फुटेसँगै सकिएको बताएका छन् ।
पार्टी सकिएको ज्वलन्त उदाहरण स्थानीय तहको निर्वाचनपछिको प्रमाणदे खाएको पाण्डेले बताए । नेकपा समाजवादी पार्टीको भातृसंगठन युवा संघ नेपालको महाकाली–मेची यात्रालाई आज प्रदेशको राजधानी हेटौंडामा स्वागत गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरमा एमाले पराजित भएको स्मरण गराउँदै उनले भने “अब एमाले शिला खोज्नुपर्ने अवस्थामा पुगेको छ, देशमा अब समाजवाद आभाष गर्ने दिन आए ।”
आसन्न मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच इमानदारिता कायम हुन जरुरी रहेको उनले बताए ।
उनले कांग्रेस, माओवादी, जनमोर्चा, जसपा एकिकृत समाजवादी पार्टी गठबन्धन गरेर निर्वाचनमा उम्मेदवारी दिने तयारी भएको भन्दै युवालाई यसै अनुरुप लाग्न निर्देशन दिए ।
यस्तो अवस्थामा हामी एक ढिक्का भएर इमानदार हुन जरुरी छ’, नेकपा एसका उपाध्यक्ष समेत रहेका पाण्डेले भने । पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजा भएको आरोप लगाए । संविधान विरोधी गतिविधि, प्रतिगमन र संसद् विघटन जस्ता जनताको हितविपरीत कदम चालेर ओली नयाँ राजतन्त्रको स्वरुपमा देखिएको उनको आरोप छ ।
उक्त ¥यालीलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका मिना लामाले युवा संघ नेपालको महाकाली मेची अभियानले पार्टीको गौरब बढाएको बताइन् । उनले काठमाडौको मेयरलाइ फोहोर बिसर्जन गर्नको लागी सिक्न हेटौंडा आउन अनुरोध गरिन् ।
कार्यक्रममा युवा संघ नेपाल केन्द्रिय इन्चार्ज दिलु पन्तले कोणसभा कार्यक्रम मा बोल्दै महाकालीको नदिमा आफ्नो खुट्टा स्नान गरि पवित्र भावनाले सुन्दर, भ्रष्टाचार रहित तथा समृद्ध नेपाल बनाउन यस अभियान सुरु गरेको बताइन् । उनले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरि संकल्प पुरा गर्न र साझा नेपाल बनाउन अनुरोध गरिन् । -याली राप्ती रोड, बुद्ध चोक हुदै सिमाचोक मा पुगि कोणसभामा परिणत भएको थियो ।
मकवानपुर । “तिनै तहको सरकार मानवबेचविखन विरुद्ध सरोकार” भन्ने मूल नाराका साथ मानवबेचविखन विरुद्धको १६ औ राष्ट्रिय दिवसको अवसरमा मकवानपुरमा विभिन्न कार्यक्रम गरिएको छ ।
यसै बिच मानवबेचविखन विरुद्ध बालबालिकाहरुका लागि मनहरी गाउंपालिकाको प्रजाआधारभुत विद्यालय सिद्धकाली एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मनहरी गाउंपालिका मानवबेविखन ओसारपसार नियन्त्रण वडा नं ३ स्तरीय वडा समितिको आयोजना, मनहरी गाउपालिकासंगको सहकार्य, प्रजाआधारभुत विद्यालयको व्यवस्थापन तथा हिमराइट्स मकवापुर, माइती नेपाल, शान्ति फाउण्डेशनलगायत गैरसरकारी संस्थाहरुको समन्वयमा कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारको सभाध्यक्षता तथा मनहरी गाउंपालिकाका उपाध्यक्ष रेखा पुलामी मगरको प्रमुख आतिथ्यतामामा कार्यक्रम भएको थियो । कार्यक्रममा माइती नेपालकी संयोजक माया लामा, हिमराइट्स मकवानपुर संयोजक कुमारी वाइबा, शान्ति फाउण्डेशन जिल्ला अधिकृत सिता गुरुङलगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा कक्षा ६ , ७ र ८ का विद्यार्थी र शिक्षकहरुलाई मानवबेचविखनका अवधारणा, स्वरुपहरु, कारणहरु , कानुनीप्रावधानका बारेमा जानकारी गराइएको हिमराइट्स मकवानपुर संयोजक कुमारी वाइबाले बताइन् ।
