मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा ठमेल चियापप भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–७ नागस्वतीमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोलले पराजित गर्दै ठमेल भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।
ठमेल भेट्रान्सको लागि विजय गुरुङले गरेको पहिलो गोल नै जित दिलाउन निर्णायक भयो । गुरुङ म्याच अफ द म्याच घोषित भए । ठमेल भेट्रान्स अब बुधबार दिउँसो हुने फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स र पोखराको बगरभाई खलक बीचको विजेतासँग खेल्नेछ ।
मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा कोटेश्वर भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक नागस्वती भेट्रान्स सेमिफाइनल प्रवेश गरेको हो । यस्तै थापागाउँ भेट्रान्सलाई पराजित गर्दै बगरभाई खलक सेमिफाइनलमा प्रवेश गरेको हो ।
नागस्वती र बगरभाई बीचको सेमिफाइनल खेल मंगलबार नै हुने कार्यतालिका रहे पनि पानी परेको कारण स्थगित भएको र खेल बुधबार बिहान हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
In: खेलकुद, मकवानपुर बिशेष, मुख्य खबर, राष्ट्रिय
Tags: No Comments

