मकवानपुर । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । पोखरामा हुने प्रतियोगिताको लागि मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएका हुन ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अनुसार, प्रदेश क्रिकेट टिमको अन्तिम १४ मा मकवानपुरका ३ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा रामनरेश गिरी, सुमन सुनार र शुभ कंशाकार रहेका छन् । प्रदेश क्रिकेट टिमको अन्तिम १८ को वैकल्पिकमा मकवानपुरकै रिजन ढकाल, गौरव खड्का र तक्षक सिम्खडा अटाएका छन् ।
यसैगरी, जुडोतर्फ अस्मिता गोले र सलिसा गोले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । उसुतर्फ वास्ताकुमारी पाख्रिन, प्रविण दोङ, आशीष लामा र साजन थिङ नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका समितिले जानकारी दिएको छ ।
अन्य विधा तर्फकाे खेलाडी छनाैट अन्तिम चरणमा रहेकाे बताइएकाे छ ।

