मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २ वटा प्रदेशकाे मतपत्र छपाइ सकिएकाे छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कर्णाली र सदुरपश्चिम प्रदेशकाे लागि मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रसहित हालसम्म प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएकाे छ । यस पटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएकाे हाे ।
निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी शुरु हुने आयाेगले जानकारी दिएकाे छ ।
मकवानपुर – आगामी कार्यकालमा बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौड सुरु भएको छ। आसन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भई प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा ६ जना उम्मेदवाहरू मैदानमा छन् । उम्मेदवारमध्ये केहीले खुलेरै आफ्नो मनोकांक्षा सार्वजनिक गरेका छन् ।
प्रदेश सरकारको नेतृत्वमा सत्तारूढ गठबन्धनमा आवद्ध तीन दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ६ नेता देखिएका छन् ।
नेपाली कांग्रेस, नेकपा समाजवादी र नेकपा एमालेबाट मात्रै २/२ जान आकांक्षी रहेको छन् । हालको कार्यकालमा नै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भए पनि अवसर नपाएका नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य प्रतिस्पर्धी हुन् । उनीसँगै नेपाली काँग्रेसका अर्का नेता आनन्दराम पराजुली पनि मुख्यमन्त्री बन्ने दाउमा उम्मेदवार बनेका छन् । पराजुली र बानियाँ काँग्रेसमा फरक धारका नेता हुन् ।
सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार बानियाँ हाल प्रदेशको मुख्यमन्त्री बन्नुपर्थ्यो । नेकपा एमालेको सरकार ढालेपछि समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वमा प्रदेश सरकार गठन हुँदा आठ–आठ महिना कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पछि मुख्यमन्त्री पाण्डेले बानियाँलाई पद छाड्न मानेनन्। पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउँदा अरु प्रदेशमा समेत सत्ता गठबन्धन टुट्ने भएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायत शिर्ष नेतृत्वबाटै पाण्डेको सरकार नै यथास्थितिमा राख्ने सहमति भयो ।
आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ चुनाव लड्ने मनस्थिति बनाएका बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको हो । बानियाँ यस अघि २०७४ मा चुनाव लडेको मकवानपुर–२ (ख) बाटै प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
बानियाँ मकवानपुर–१ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन र गृह राज्यमन्त्रीसमेत बनिसकेका छन् ।
काँग्रेसका अर्का नेता पराजुली अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा छिनो मत अन्तरले पराजित भएका नेता हुन । गत स्थानीय तहको निर्वाचनमा समेत पराजुलीलाई उपमहानगरपालिकामा मेयरको उम्मेदवारी बनाइने अन्तिम तयारी भए पनि गठबन्धनमा जाँदा समाजवादीले मेयरको टिकट पाएपछि उनी बाहिरिएका थिए । नेता बानियाँ मकवानपुर र केन्द्रसम्म राम्रो पकड भएको व्यक्ति मानिन्छन् ।
यसैगरी हाल बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पनि बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन्। प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जम्कट्टेल आगामी निर्वाचनपछि पनि सत्तामै रहने होडमा छन्।
उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस यता करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जम्कट्टेल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बनेका हुन् ।
एमाले विभाजनपछि प्रदेशको मुख्यमन्त्रीमा उनको पनि दावी थियो। तर, केन्द्रबाट माओवादी केन्द्रले अन्य २ वटा प्रदेशमा सरकारको नेतृत्व लिएका कारण बागमती समाजवादीको भागमा परेपछि जमकट्टेलले अवसर पाएनन् । खासमा उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी थिए । पछिल्लो पटक मुख्यमन्त्री बन्ने अपेक्षा लिएर धादिङ–१ (ख) बाट पुनः प्रदेशसभामा उम्मेदवार बनेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् । समाजवादीबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उनी आगामी मुख्यमन्त्रीको दौडबाट आउट भएका छन्। प्रदेश सरकारमा मुख्यमन्त्री बन्नकै लागि खनाल चितवन–१ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् ।
खनाल यसअघि प्रदेशको समाजिक विकास मन्त्री पनि भएका व्यक्ति हुन् । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। १५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आवद्ध भए, र २ महिना नबित्दै उनी फेरि मन्त्री बने । एकै कार्यकालमा उनले २ पटक मन्त्री बन्ने अवसर पाएका थिए। उनी सत्ता गठबन्धनको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने। हाल उनी सरकारका प्रवक्ता समेत हुन्।
यसैगरी बागमती प्रदेश सरकार सञ्चालनार्थ नेकपा एमालेबाट पनि मनोकांक्षा राख्नेहरू छन् । प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राखेका छन् । श्रेष्ठले सार्वजनिक रुपमा नै आफू प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेको बताएका छन्। श्रेष्ठ एमालेबाट काठमाडौं–२ (क) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन्।
यसैगरी एमालेबाट मुख्यमन्त्रीको अर्को प्रमुख दावेदारको रूपमा देवी ज्ञवाली रहेका छन्। २०७४ सालमा भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी रहेका ज्ञवालीलाई यो पटक चितवनबाट प्रदेशसभा उम्मेदवार बनाएर एमालेले मुख्यमन्त्रीको दावा पेश गरेको चर्चा छ। ज्ञवालीलाई एमालेको राम्रो मानिएको चितवनको क्षेत्र नंबर २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनाएको छ । ekagaj.com बाट
मकवानपुर । मकवानपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र स्मारक परिसरमा व्यवस्थित होटल खुलेको छ । पर्यटनको क्रममा स्मारक आइपुगेकाहरुलाई आवासीय सुविधा तथा तालिम सेमिनार समेतको व्यवस्था हुनेगरी होटल सञ्चालनमा ल्याइएको हो । स्थानीय युवाहरु बालकृष्ण बजगाई, रोशन बर्तौला, गोपाल श्रेष्ठ र बसन्त नेपालको लगानीमा होटल खोलिएको हो ।
कुल ३३ करोड लगानीमा सुरु गरिएको होटल आगामी कात्तिक २ गते बागमती प्रदेशका मुख्यसचिव मुकुन्द निरौलाले उद्घाटन गर्ने तयारी भएको छ । ३३ वटा कोठाहरु रहेको होटलमा सबै वर्गमा व्यत्तिहरुलाई आवासीय सुविधा प्रदान गर्न सकिने गरी व्यवस्थापन गरिएको बालकृष्ण बजगाइले बताए ।

होटलमा ३० वटा डिलक्स कोठाहरु छन् । जसमा ३ हजार ५ सयदेखी १८ हजार रुपियाँसम्म शुल्क तोकिएको छ । सबैभन्दा महङ्गो कोठा सुपर स्वीटको शुल्क १८ हजार तोकिएको बजगाईले बताए ।
सहकारी तथा संस्थागत प्रयोजनको लागी समेत कोठाहरु रहेको उनले बताए । यस प्रकारको कमन कोठामा २० जनासम्म आवासीय सेवा लिन सक्नेछन् ।
होटलमा हाल प्रत्यक्ष रुपमा ३७ जनाले रोजगार पाएका छन् । भुकम्प प्रतिरोधात्मक, प्राकृतिक सौन्दर्य रहेको यो होटल शान्त र प्रसस्त पार्किङ सुविधा रहेको छ । काठमाडौको विभिन्न होटलमा कुकको काम गरेर अनुभव कमाएका कुकहरूबाट बनाईने खाना अर्को सञ्चालक गोपाल श्रेष्ठले बताए ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मनोरम पर्यटकीय क्षेत्र सहिद स्मारक नजिकै सुबिधा स्थापना गरिएको यो होटलले स्मारकको पर्यटकहरुलाई विशेष सुविधा दिने छ ।
प्रदेशको राजधानी भएपछि हेटौंडामा बास बस्न तथा कार्यक्रमहरु गर्न होटेल नपाउने समस्या थपिदै आएको बेला यसले केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
१२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटेलको निर्माण लागत ३३ करोड रहेको छ । ३०० जना क्षमताको बेन्क्युट हल, १५० जना क्षमताको कन्फ्रेन्स हल यहाँ रहेको छ । हाेटलमा आज आयाेजित पत्रकार सम्मेलनमा यस्ताे जानकारी गराइएकाे हाे ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएकोले आगामी चुनावमा जित पक्का भएको दाबी गरेका छन् ।
बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न नसक्ने बताए । आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्बार श्रेष्ठले प्रदेशको राजधानीलाई अझ विकास गर्न जरुरी रहेको बताए ।
नेकपा एमाले विरुद्ध बनेको गठबन्धन जनतालाई सुख हैन दुख दिने नियतले आएको उनको दाबी थियो । नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक गराउन एमालेले जित्न आवश्यक रहेकोमा उम्मेद्बार श्रेष्ठको जोड थियो । मुलुकमा भैरहेको राजनीतिक षड्यन्त्र रोक्न एमाले नेतृत्वलाई सबै मिलेर स्थापित गराउनु पर्ने बताए ।
अहिले अर्थतन्त्रको अवस्था कहालीलाग्दो हुँदै गैरहेको भन्दै देशलाई अगाडि बढाउन, अर्थतन्त्र बलियो बनाउन एमालेले जित्नुको विकल्प नभएको बताए । बिपक्षीहरुले एमले विरुद्ध भ्रम फैलाउन सुरु गरेको भन्दै यसलाई चिरेर योजनाबद्ध ढंग बाट अगाडि बढ्नुपर्ने उनले बताए।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एबम हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर हरिबहादुर महत,नेकपा एमालेका जिल्ला सचीव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाललगायतको उपस्थिति थियो ।
मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताएका छन । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको भनाई थियो ।
बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाचो रहेको उनले औल्याए । देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रबादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।
नेपालको चुच्चे नक्सा जारी भए सङ्गै एमालेलगायतका राष्ट्रबादी शक्ति माथी प्रहार हुन थालेको उनको कथन थियो । उनले गठबन्धन राष्ट्रबादी शक्ति कमजोर पार्नको लागि मात्र बनेकोले यसले जनता र देशको हित नगर्ने बताए ।
” देश रहे मात्र प्रजातन्त्रको आभास हुन्छ , देश बचेमात्र आर्थिक समृद्धि हुन्छ ” उनले भने ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरलाई अस्थायी राजधानी बनाउने पक्षमा रहेपछि आफुले उपप्रधानमन्त्री पदबाट राजिनामा दिने चेतावनी पछि हेटौंडा अस्थायी राजधानी भएको उनले बताए ।
त्यो बेला बनेको अस्थायी राजधानीलाई एमालेका नेता डोरमणी पौडेल मुख्यमन्त्री भएपछि स्थायी कायम भएको भन्दै प्रशसा गरे ।
