मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २ वटा प्रदेशकाे मतपत्र छपाइ सकिएकाे छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कर्णाली र सदुरपश्चिम प्रदेशकाे लागि मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रसहित हालसम्म प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएकाे छ । यस पटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएकाे हाे ।
निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी शुरु हुने आयाेगले जानकारी दिएकाे छ ।

