मकवानपुर । निर्वाचन आयाेगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टिकरण साेधेकाे छ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेकाे विषयमा आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको हाे ।
आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ । पत्रमा भनिएको छ –निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने व्यवस्था छ ।’
बागमती प्रदेश सरकारले गत असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको देखिन्छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्न समेत निर्देशन दिएको छ ।
आयोगले मुख्यमन्त्रीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश जारी गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को (ख) को उल्लंघन भएको देखिएकोले यहाँलाई र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।
त्यस्तै प्रमुख सचिवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेशहरू किन ल्याउनु परेको हो ? साथै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश ल्याउने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड दफा (५) को (ख) को उल्लंघन भएको देखिएकाले यहाँलाई समेत उक्त निर्णयको लागि जिम्मेवार ठह-याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? जवाफ पेश गर्न भनिएको छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छिन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का उम्मेदवार माेक्तानले आफ्नाे क्षेत्रकाे चुनावी सभामा भनिन् ‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ–गाउँमा पुगिराखेको छु । उनले भनिन् ‘गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष दुःख तपाईं हामीले पाउँछौ, विकास हुन सक्दैन ।’
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका भएकाे चुनानी कार्यक्रममा बुधबार उनले गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ दिन आग्रह समेत गरेकी छिन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहकी उनले आफ्नो राजनीतीको मुख्य उद्देश्य नै गरिब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशील रहने समेत बताइन् ।
नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जमान सिं वाईबा, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्रबहादुर श्रेष्ठ, बागमती प्रदेश परिषद सदस्य विनायक गोले, नेकपा एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य सुमित्रा लामा, ईन्द्रसरोबर गाउँपालिका १ का वडा अध्यक्ष सुवास आले मगर लगायतले आफ्नाे क्षेत्रकाे विकासकाे लागि लोकतान्त्रिक बाम गठबन्धनलाई भोट दिएर जिताउँनुपर्ने बताएका थिए ।
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले खेलकुद क्षेत्रमा नीतिगत निर्णय गरेर काम गर्ने बताएकी छिन् । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट उम्मेदवार डिनाले मंशिर ४ गतेकाे निर्वाचनपश्चात जिल्लाको खेलकुद क्षेत्र र खेलाडीका लागि नीतिगत निर्णय गरेर देखिने गरी काम गर्ने बताइन् ।
कांग्रेस खेलकुद समन्वय प्रचारप्रसार उपसमितिले हेटौंडामा आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा डिनाले निर्माणाधीन गौरिटार रंगशालालाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाइन् । ‘खेल जगतलाई नेपाली कांग्रेस र गठबन्धनले महत्वपूर्ण रुपमा हेरेको छ’, उनले भनिन्, ‘देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान पु¥याउने खेलकुद र खेलाडीका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने छाै । आगामी दिनमा खेल खेलेरै सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माण गर्नेछौं उनले भनिन् ।
आवश्यक पूर्वाधार निर्माणमा जोड दिदैं खेलका सबै विधालाई समान महत्व दिएर आवश्यक नीति निर्माण गर्ने डिनाको बताइन् । मकवानपुरका मतदाताको गुनासो र समस्या सुन्न र सकेसम्म समाधान गर्नका लागि नै प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएको उनले जानकारी दिइन् । निर्वाचनको खेलमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी लाग्न खेलाडी एवम् प्रशिक्षकहरुलाई उनले अनुरोध गरिन् । ‘मंसिर ४ गते हुन लागेको निर्वाचनको खेलमा गठबन्धनलाई जिताउनुहोस् । तपाईं खेलकुदकर्मीले कहिल्यै निराश हुन नपर्ने गरी काम गर्नेछौं’, डिनाले भनिन् ।
खेलकर्मीको समस्या समाधान गर्नेछौंः पराजुली
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले खेलकुदकर्मीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । खेलकुद समन्वय प्रचारप्रसार उपसमितिको कार्यक्रममा उनले मंसिर ४ को निर्वाचन पछि बन्ने केन्द्र र प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताएका हुन् ।
मुलुकको विकास र समृद्धिका लागि गठबन्धन बनेको उल्लेख गर्दै उनले खेलकुद सहित सर्वाङ्गीण विकासमा काम गर्ने बताए । ‘हामी गर्नसक्ने काम मात्रै बोल्छौं । अरु जस्तो हावादारी आश्वासन र फोस्रा नारा बाँड्दैनौं’, पराजुलीले भने, ‘खेलसहित स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा साझा योजना बनाएर काम गर्नेछौं ।’ खेल क्षेत्रसंग सम्बन्धित जानकारहरुसँगको छलफल र समन्वयमा यस क्षेत्रको समस्या समाधानमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए । खेलमा आफू जित्न लागिपर्ने खेलाडीहरुले आफैं मैदानमा उत्रिएझैं गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न उनले अनुरोध गरे ।

थापा दाजुभाई एन्फा अध्यक्ष भएर मकवानपुरमा के गरे ? ः शेर्पा
कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिका संयोजक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको भाई गणेश थापाले लामो समय एन्फाको नेतृत्व गर्दा पनि मकवानपुरमा खेलक्षेत्रको विकासमा कुनै काम नगरेको आरोप लगाएका छन् ।
‘थापा दाजुभाईले लामो समय एन्फामा नेतृत्व गर्दा पनि मकवानपुरमा फुटबल र अन्य खेलको विकासमा कुनै काम हुन सकेन’, शेर्पाले भने, ‘अहिले ति असफल व्यक्तिहरु नै कोही उम्मेदवार, कोही जिताउने अभियानमा लागेको देखेको छु । आफ्नो पार्टीको चुनाव चिन्हबाट प्रतिपस्पर्धा गर्न नसक्नेले मकवानपुरको विकास गर्लान् भनेर आश गर्नु बेक्कार हो ।’ भूकम्प पीडितको लागि आएको पैसा समेत गणेश थापाले आफू निकटका व्यक्तिहरुलाई बाँडेको उनले आरोप लगाए ।
‘एन्फामा बर्षौं नेतृत्व गर्दा, पटक पटक मन्त्री हुँदा जिल्लाको विकासमा सिन्को नभाँच्नेले अब जितेर मकवानपुरको विकास गर्ला भनेर नसोचे पनि हुन्छ’, शेर्पाले भने, ‘गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय, आनन्दराम पराजुलीसहितका नेताहरुलाई जिताउनुहोस् वहाँहरुलाई खेल क्षेत्रमा कस्तो नीति तथा कार्यक्रम बनाउने भनेर हामी सहयोग गर्नेछौं ।’
मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा मतदाताले परिचय खुल्ने कागजातकाे आधारमा समेत मददान गर्न पाउने भएका छन् ।
निर्वाचन आयाेगले मंगलबार प्रेश विज्ञप्ति प्रकाशित गरी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र हराएको वा नासिएको अवस्थामा परिचय खुल्ने आधिकारिक कागजातकाे आधारमा समेत मददान गर्न पाउने जनाएकाे छ ।
आयाेग सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ‘मंसिर ४ गते आइतबार हुने निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।¹

मकवानपुर । आज कार्तिक शुक्ल पूर्णिमा बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने बताइएकाे छ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । बेलुकी ५:२७ बजे ग्रहणको उन्मीलन हुने छ । बेलुकी ६:३४ बजे ग्रहण सकिनेछ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
ग्रहणको सुतक बार्नेले आज बिहान ०८:११ बजेदेखि भोजन गरेका छैनन् । शास्त्रीय रूपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुन्छ ।ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ ।
भरणी नक्षत्र र मेष राशिलाई कष्ट
आजको ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।
यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए ।
ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सुतकका बेला नित्य कर्म गर्छन् । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् सुनाउँछन् । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।
कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । आज शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
