मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा मतदाताले परिचय खुल्ने कागजातकाे आधारमा समेत मददान गर्न पाउने भएका छन् ।
निर्वाचन आयाेगले मंगलबार प्रेश विज्ञप्ति प्रकाशित गरी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र हराएको वा नासिएको अवस्थामा परिचय खुल्ने आधिकारिक कागजातकाे आधारमा समेत मददान गर्न पाउने जनाएकाे छ ।
आयाेग सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ‘मंसिर ४ गते आइतबार हुने निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।¹


