मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले खेलकुद क्षेत्रमा नीतिगत निर्णय गरेर काम गर्ने बताएकी छिन् । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट उम्मेदवार डिनाले मंशिर ४ गतेकाे निर्वाचनपश्चात जिल्लाको खेलकुद क्षेत्र र खेलाडीका लागि नीतिगत निर्णय गरेर देखिने गरी काम गर्ने बताइन् ।
कांग्रेस खेलकुद समन्वय प्रचारप्रसार उपसमितिले हेटौंडामा आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा डिनाले निर्माणाधीन गौरिटार रंगशालालाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाइन् । ‘खेल जगतलाई नेपाली कांग्रेस र गठबन्धनले महत्वपूर्ण रुपमा हेरेको छ’, उनले भनिन्, ‘देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान पु¥याउने खेलकुद र खेलाडीका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने छाै । आगामी दिनमा खेल खेलेरै सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माण गर्नेछौं उनले भनिन् ।
आवश्यक पूर्वाधार निर्माणमा जोड दिदैं खेलका सबै विधालाई समान महत्व दिएर आवश्यक नीति निर्माण गर्ने डिनाको बताइन् । मकवानपुरका मतदाताको गुनासो र समस्या सुन्न र सकेसम्म समाधान गर्नका लागि नै प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएको उनले जानकारी दिइन् । निर्वाचनको खेलमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी लाग्न खेलाडी एवम् प्रशिक्षकहरुलाई उनले अनुरोध गरिन् । ‘मंसिर ४ गते हुन लागेको निर्वाचनको खेलमा गठबन्धनलाई जिताउनुहोस् । तपाईं खेलकुदकर्मीले कहिल्यै निराश हुन नपर्ने गरी काम गर्नेछौं’, डिनाले भनिन् ।
खेलकर्मीको समस्या समाधान गर्नेछौंः पराजुली
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले खेलकुदकर्मीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । खेलकुद समन्वय प्रचारप्रसार उपसमितिको कार्यक्रममा उनले मंसिर ४ को निर्वाचन पछि बन्ने केन्द्र र प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताएका हुन् ।
मुलुकको विकास र समृद्धिका लागि गठबन्धन बनेको उल्लेख गर्दै उनले खेलकुद सहित सर्वाङ्गीण विकासमा काम गर्ने बताए । ‘हामी गर्नसक्ने काम मात्रै बोल्छौं । अरु जस्तो हावादारी आश्वासन र फोस्रा नारा बाँड्दैनौं’, पराजुलीले भने, ‘खेलसहित स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा साझा योजना बनाएर काम गर्नेछौं ।’ खेल क्षेत्रसंग सम्बन्धित जानकारहरुसँगको छलफल र समन्वयमा यस क्षेत्रको समस्या समाधानमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए । खेलमा आफू जित्न लागिपर्ने खेलाडीहरुले आफैं मैदानमा उत्रिएझैं गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न उनले अनुरोध गरे ।

थापा दाजुभाई एन्फा अध्यक्ष भएर मकवानपुरमा के गरे ? ः शेर्पा
कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिका संयोजक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको भाई गणेश थापाले लामो समय एन्फाको नेतृत्व गर्दा पनि मकवानपुरमा खेलक्षेत्रको विकासमा कुनै काम नगरेको आरोप लगाएका छन् ।
‘थापा दाजुभाईले लामो समय एन्फामा नेतृत्व गर्दा पनि मकवानपुरमा फुटबल र अन्य खेलको विकासमा कुनै काम हुन सकेन’, शेर्पाले भने, ‘अहिले ति असफल व्यक्तिहरु नै कोही उम्मेदवार, कोही जिताउने अभियानमा लागेको देखेको छु । आफ्नो पार्टीको चुनाव चिन्हबाट प्रतिपस्पर्धा गर्न नसक्नेले मकवानपुरको विकास गर्लान् भनेर आश गर्नु बेक्कार हो ।’ भूकम्प पीडितको लागि आएको पैसा समेत गणेश थापाले आफू निकटका व्यक्तिहरुलाई बाँडेको उनले आरोप लगाए ।
‘एन्फामा बर्षौं नेतृत्व गर्दा, पटक पटक मन्त्री हुँदा जिल्लाको विकासमा सिन्को नभाँच्नेले अब जितेर मकवानपुरको विकास गर्ला भनेर नसोचे पनि हुन्छ’, शेर्पाले भने, ‘गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय, आनन्दराम पराजुलीसहितका नेताहरुलाई जिताउनुहोस् वहाँहरुलाई खेल क्षेत्रमा कस्तो नीति तथा कार्यक्रम बनाउने भनेर हामी सहयोग गर्नेछौं ।’

