मकवानपुर । राजावादीसँग स्वतन्त्र पार्टीको घाँटी जोडिएको छ मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार इन्द्र बहादुर बानियाँ बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बानियाँले राजावादीहरुसँग राष्ट्रिय स्वतन्त्र पार्टीको साँठगाँठ रहेको दावी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग आफूहरु स्वतन्त्र हौं भन्ने रवि लामिछानेको ‘घाँटी जोडिएको’ बानियाँले बताएका हुन् ।
मकवानपुरकाे मनहरी गाउँपालिकामा भएकाे गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै बानियाँले भने–‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ । लामिछानेले संघीय ब्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी नदिएकाे समेत बाँनियाले आराेप लगाएका छन् । ‘कांग्रेस हुँ भन्दै अरु नै चिन्ह लिएर उठ्नेहरुसँग भ्रममा नपर्नुहोला’ बाँनियाले आफ्नाे क्षेत्रमा प्रचार प्रसारमा भने– देशको व्यवस्था बदलिएको छ अब जनताको अवस्था बदल्न लोकतान्त्रिक बाम गठबन्धनले भूमिका खेल्नेछ ।
एमाले नीति, नियत र नेता ठिक नभएको नक्कली कम्युनिष्ट भएको भन्दै अबको चुनावमा जनताले गठबन्धनको पक्षमा भारी मत प्रदान गर्ने बानियाँले विश्वास व्यक्त गरे । उनले भने ‘केपी ओली नेतृत्वको एमालेलाई देशबाटै परास्त गरेर जनताको अवस्था परिवर्तन गर्न यो लोकतान्त्रिक बाम गठबन्धन लागि पर्नेछ ।’ ‘यो गठबन्धन जे बोल्छ, त्यो गरेरै छाड्छ, गरिब, दीन दुःखीको अवस्था परिवर्तन गर्न नै यो क्षेत्रमा दोस्रोपटक आएको हुँ’ बानियाँले भने–‘पहिलोपटक यो क्षेत्रमा निर्वाचित भएपछि धेरै बोलेको पूरा गरेको छु ।’
नेपाली कांग्रेस मनहरी ४ का सभापति आइतराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी बागमती प्रदेश कमिटी सदस्य ओम घलान, कांग्रेस महासमिति सदस्य उमा दाहाल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी अध्यक्ष सञ्जिव पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

