मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरका उम्मेदवारहरुले आ–आफूले जित हासिल गर्ने दावीका साथ चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचार प्रसारको क्रममा समेत आफू उम्मेदवार हुनुका कारण सहित जीत पछि विकासका कामको आश्वासन समेत दिने गरेका छन् । स्थानीय मतदाताहरुको माग समेत भूगोल सुहाँउदो रहेको छ । तर उम्मेदवारहरुको चुनावी आश्वासान र स्थानीयका माग विपरित रहेका छन् । स्थानीय आधारभूत आवश्यकता पुरा गर्न माग गरिरहँदा उम्मेदवारहरु विकास पूर्वाधारका कुरामा जोड दिइरहेका छन् ।
यसैबीच मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका महालक्ष्मी उपाध्याय डिनाले जिल्लाको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । उपाध्याय उम्मेदवार बनेसँगै मकवानपुर १ मा उनको चर्चा परिचर्चा बढ्दै गएको छ । उनको यो चौथो पटक चुनावी प्रतिस्पर्धा पनि हो ।
विद्यार्थी कालबाटै कांग्रेसको राजनीतिमा आवद्ध भएकी उनी पार्टीमा पनि उत्तिकै सक्रिय र प्रभावशाली नेतृ मानिन्छन् । सोही सक्रियताका कारण उहाँ समानुपातिकतर्फको पहिलो नम्बरको दावेदार हुँदापनि त्यसलाई त्यागेर प्रत्यक्ष तर्फ उम्मेदवार भएकी हुन् । डिनाले मकवानपुर–१ को जनताको मतबाट अनुमोदन हुन विभिन्न क्षेत्रलाई समेटेर आफ्नो चुनावी संकल्पहरु पनि सार्वजनिक गरेकी छिन् । यस अघिका निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट चुनावमा पराजीत उनी यस पटक सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनतासँग प्रत्यक्ष जोडिएर मकवानपुरको विकास र समृद्धिको कामका लागि चुनावी मैदानमा आएको उनी बताउँछिन् ।
जनताको मत जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने उनको दावी छ । विगतको जस्तो आगामी निर्वाचनमा चुनौतिको महशुस गरेको छैन– डिनाले भनिन् ‘आगामी निर्वाचनमा मलाई कुनै चुनौती छैन । भारि मतका साथ चुनाव जित्छु । विगतमा आफूले गर्न चाहेका तर सत्ता विहिन हुँदा सम्भव नभएका अधुरा कामहरु पुरा गर्ने उपाध्यायको लक्ष्य रहेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा सहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
लामो समय कम्युनिटहरुले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाई छ । ‘सडक पुल निर्माण विकासको मेरुदण्ड तर त्यो नै विकास होइन, जनताको आवश्यकता र उनीहरुलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो’, उनले भनिन् ‘हामी विकास विकास भन्छौ अनि बाटो बनाउँछौ, पुल बनाउँछौ तर आम जनताको स्वास्थ्यको पहुँच कतिको छ ? हामी बिर्सन्छौ । शिक्षाको पहुँच कस्तो छ ? भन्ने बारे हाम्रो ध्यान नै पुग्दैन । जनताको जीवन स्तरसँग जोडिएका कुराहरु हामीले सम्बोधन गर्न सकेका छैनौ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरुले राज्यबाट पाउने सेवामा सहज पहुँच पुर्याउनु मेरो मुख्य काम हो ।’
जनताको दैनिकीसँग जोडिएका कतिपय कुराहरुमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिन नै समस्या भइरहेकोले त्यसको परिवर्तन÷संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको डिनाले बताइन् । ‘म यस्तो गर्छु उस्तो गर्छु । यो बनाउँछु त्यो बनाउँछु भन्दिन । म सामान्य काम गर्छु जसले जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्छ । महिलाहरुलाई अवसर दिएर अघि बढाउँछु । शिक्षाबाट बञ्चित भएकाहरुलाई विद्यालयसम्म जाने वातावरण कानुनतः निर्माण गर्छु । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मेरो भूमिका हुन्छ’, उनले भनिन्।
हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोडदिँदै युवाहरुको लागि रोजगारको अवसर सृजना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको उनी बताउँछिन् । समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तार, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उनको दावी रहेको छ ।
उनले आर्थिक समृद्धिका लागि पनि आफुले पार्टी र सदनबाट महत्वपूर्ण भूमिका खेल्ने बताइन् । मकवानपुरको भूगोलको पहिचान गरेर विकास र समृद्धिको नमूना निर्माण गरिसकेकाले त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी
रहेको उनको भनाई छ ।

