मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा ४ जना घाइते भएकोमा १ जनाको उपचारक्रममा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बकैया वडा नम्वर ५ तिनतलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार,बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्वरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
घाइतेमध्ये हेटौंडा अस्पतालमा उपचाररत मोटरसाइकल चालक भम्जनको बिहान ९ बजेर २१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त दुर्घटनामा परेर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ
ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सुर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौंडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
मकवानपुर । पुस १५ गते आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसारलाई नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । आजबाट बादर वर्षलाई बिदाइ गर्दै चरा वर्षको स्वागतमा नयाँ वर्ष मनाउदै ल्होसार मनाइदै छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
ल्होसारमा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ ।
मकवानपुर सहित अन्य जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले पनि तमु ल्होसार कार्यक्रम गरि मनाउदै छन ।
मकवानपुर । मकवानपुर जिल्लासहित देशभर चिसो बढेको छ । मकवानपुरमा २ दिन अघिबाट चिसो बढेको हो । हुस्सु लाग्ने घाम मधुरो हुने कारण चिसोले जन जिवन प्रभावित बनेको छ ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले तराईमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा समेत आकाश धुम्म रहेको तथा हुस्सु लागेको छ ।
शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने समेत महाशाखा बताउँछ ।
चिसो बढे संगै आबश्यक सतर्कता अपनाउन समेत मौसमविद तथा स्वास्थ्यकर्मीले भनेका छन । चिसोले बाल, वृद्धलाई छिट्टै असर गर्ने भएकोले सकभर चिसोमा ननिस्कन तथा तातो न्यानो लुगा लगाएर चिसो बाट बच्न सल्लाह दिएका छन् ।
अत्यधिक चिसोका कारण तराईका बिद्यालय बिदा दिन थालिएको छ । तीन दिनयता दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको बताइएको छ ।
पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
फुटबलका विश्वहस्ती महान् फुटबलर पेलेको निधन भएको छ । ब्राजिलियन फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।
पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनकाे मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् समेत पुष्टि गरेकी छिन् । पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।
सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । पेलेले चारवटा बिश्वकप खेलेका थिए भने तीन खेल जितेका थिए । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।
उनले १९५८ ,१९६२ र १९७० मा भएको विश्वकपमा सहभागी हुँदा १४ खेलमा १२ गोल गरेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शुक्रबार मनाइँदै गरिएको तमु अर्थात् गुुरुङ समुदायको नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले तमु अर्थात् गुरुङ समुदायमा प्रचलित पन्चांग अनुसार आजदेखि बाँदर वर्गको वर्ष समाप्त भएको छ र चरा वर्गको नयाँ वर्ष शुभारम्भ भएको भन्दै यसका अवसरमा शुभकामना दिएका हुन् ।
‘तमु ल्होछार’ गुरुङ समुदायमा नयाँ वर्षको रुपमा धुमधामका साथ मनाइने पर्व भएको प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ । ‘नववर्ष आरम्भको यस सुखद् घडीमा ल्होछार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनु हुने दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुप्रति सुख,शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माको शुभकामना छ ।
