मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा ४ जना घाइते भएकोमा १ जनाको उपचारक्रममा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बकैया वडा नम्वर ५ तिनतलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार,बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्वरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
घाइतेमध्ये हेटौंडा अस्पतालमा उपचाररत मोटरसाइकल चालक भम्जनको बिहान ९ बजेर २१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त दुर्घटनामा परेर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ
ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सुर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौंडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

