
तल्ला घरे सानेको घरमा सानो राम्रो चिटिक्क परेको कुकुरको छाउरो देख्दा माथ्ला घरे ठूलेलाई अचम्म लाग्यो। “हिजो सम्म त यो छाउरो देखिएको थिएन, यसले कहाँ बाट ल्याएछ?” ठूलेलाई त्यो छाउरो सार्है मन पर्यो । ऊ साने कहाँ गयो।
“यो छाउरो तिमिले कहाँबाट ल्याएउ?” उसले सानेलाई सोध्यो। “मैले ल्याएको हैन, राती पानी पर्दा दौडदै आएर यहाँ बस्यो। मलाई माया लाग्यो। तातो पारेर राखेँ, खान दिएँ, अहिले त मलाई छाडेर जानै मान्दैन।” “आहा कति राम्रो रहेछ, खान चाहिँ के दिन्छौ नि यसलाई?” “के दिनु नि आफैले खाने भात एक गाँस उसको लागि छुट्याएर दिन्छु।”
“यो मलाई सारै राम्रो लाग्यो। तिमीले पनि भेट्टाकै रछ, मलाई देउ। म यसलाई मिठो मिठो खानेकुरा खुवाएर पाल्छु।” सानेले कुकुरको छाउरो दिएर पठायो।ठूलेले आफ्नो घरको चौघेरा भित्र साङ्लोले बाधेर राख्यो अनि मिठो खानेकुरा खान दियो। “यति मिठो खान पाएपछि यो छाउरो अन्त के जान्थ्यो र!” उसले साङ्लो फुकाईदियो।
छाउरो खानेकुरा त्यसै छाडी कुई कुई गरी हाम फाल्दै सानेकहाँ पुगिहाल्यो। “खाने कुरा खाएर बस्ला भनेको त भागि पो हाल्यो त!” ठूले पछ्याउदै आईपुग्यो, छाउरो समाउन खोज्यो । सानेको काखमा लुटुपुटु गरिरहेको छाउरो झन् साने तिरै घुस्रियो। सानेले छाउरोलाई सुम्सुम्याउँदै भन्यो,”यो मानिस भन्दा फरक पशु हो नि ठुल्दाई खानामा मिसिएको माया र स्वार्थ छर्लङ्ग छुट्याउन सक्छ।”
सुन्दरहरैचा, मोरङ

