मकवानपुर । मकवानपुर जिल्लासहित देशभर चिसो बढेको छ । मकवानपुरमा २ दिन अघिबाट चिसो बढेको हो । हुस्सु लाग्ने घाम मधुरो हुने कारण चिसोले जन जिवन प्रभावित बनेको छ ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले तराईमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा समेत आकाश धुम्म रहेको तथा हुस्सु लागेको छ ।
शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने समेत महाशाखा बताउँछ ।
चिसो बढे संगै आबश्यक सतर्कता अपनाउन समेत मौसमविद तथा स्वास्थ्यकर्मीले भनेका छन । चिसोले बाल, वृद्धलाई छिट्टै असर गर्ने भएकोले सकभर चिसोमा ननिस्कन तथा तातो न्यानो लुगा लगाएर चिसो बाट बच्न सल्लाह दिएका छन् ।
अत्यधिक चिसोका कारण तराईका बिद्यालय बिदा दिन थालिएको छ । तीन दिनयता दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको बताइएको छ ।
पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

