मकवानपुर । घटना १, भारत मध्यप्रदेश जिल्ला भुपालथाना गोबिन्दपुरा घरभई मकवानपुर जिल्ला बकैया गाउँपालिका ५ तिनतलेमा बस्ने २९ वर्षीया जिया उदासी हत्याको आरोपमा प्रहरीले ०७९ वैशाख १२ गते ३० वर्षीय पति गगन कुमार सोनीलाई गिरफ्तार ग-यो ।
आरोपितले ०७९ बैशाख ११ गते तिनतलेस्थित लालबहादुर स्याङ्बोको घरमा डेरामा पत्निको घाँटी थिची हत्या गरेको भनी पीडितपक्षले बैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । शवको पोष्टमार्टम वैशाख १२ गते हेटौंडा अस्पतालमा भयो । पोष्टमार्टमपछि शव परिवारले बुझी राप्ती किनारमा सदगद गरे । पीडितपक्षको उजुरीका आधारमा प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरी कर्तव्य ज्यान कसुरमा ०७९ बैशाख १६ गते मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गयो । जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठको इजलासले ०७९ जेठ १४ गते आरोपिलाई पुर्पक्ष थुनामा पठायो ।
घटना २
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय २७ वर्षीय तेस्रोलिङ्गी कल्पु कुमारी गुरुङलाई ज्यान मार्ने उद्धेश्यले घाइते बनाएको आरोपमा हेटौंडा १२ का ३२ वर्षीय सुनिल कुमार साहलाई प्रहरीले ०७९ साउन ९ गते गिरफ्तार गयो ।
आरोपित साहले साउन ७ गते हेटौंडा ९ पशुपतिनगर नजिक पीडितलाई ज्यान मार्ने नियतराखी ढुङ्गा र दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको भनी पीडितले साउन ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार गरी साउन ९ गते डिस्चार्ज भयो । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपिलाई गिरफ्तार गरी ज्यानमार्ने उद्योग कसुरमा साउन १२ गते मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला न्यायाधीस मनकुमारी जिएमको इजलासले भदौ ५ गते आरोपितबाट धरौटी माग गरेको छ ।
यि दुई प्रतिनिधि घटनामात्रै हुन् । सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० वटा घटना भएका छन् ।
जसमा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले जनाएको छ । जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको व्यक्ति पीडित भएको इन्सेकले जनाएको छ । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् भने ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो ।
जस अन्तरगत २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस अवधिमा ८ ओटा हत्याका घटना भएकाछन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ वटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ ज लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ वटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ वटा हत्याको घटना इन्सेकमा अभिलेख भएको इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले बताए ।
इन्सेकको अभिलेखालयमा गतबर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका थिए । बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुर्व्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका थिए । उक्त समयमा महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुर्व्यवहार र ६ जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले बताए । त्यस अवधिमा १० वटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष थिए एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ ।
यसैगरी सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ । गतबर्षको तथ्याङ्कसंग यस बर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा खासै अन्तर नभएको देखिन्छ। अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पुर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
मकवानपुर । गुणस्तरीय शिक्षा हासिल गर्न गराउन मकवानपुरका सरोकारवालाहरू बिच १६ बुदे सहमति भएको छ ।
मकवानपुर जिल्लाका दुई स्थानीय तहहरू हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच सहमति भएको हो ।
नेपालका शिक्षक सङ्घ, संगठनहरू र स्थानीय सरकारहरूबीच संवाद र सहकार्य गर्दै शैक्षिक गुणस्तर सुधारको लागो सहमति गरिएको हो।
शैक्षिक सरोकारवाला सङ्घ, सङ्गठनहरूको अनिवार्य सहभागितामा उपमहानगर तथा गाउँपालिकास्तरीय शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल गर्न सहमत हुँदै बजेट निर्माण तथा पालिकाको शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व शिक्षकका सङ्घ, सङ्गठनहरूसँग छलफल गरिने, यस्तो बैठक र संवाद वर्षमा कम्तीमा दुई पटक गरिने, अनिवार्य, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका पेसागत समस्या हल गर्नका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाइने सहमति भएको हो ।
यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गरिने, पालिकाभित्र सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गरिने,पालिकाभित्र बसोबास गर्ने कुनै पनि बालबालिकालाई विद्यालयीय तहको शिक्षा आर्जन गर्नबाट वञ्चित नगरिने सहमति भएको हो ।
यसैगरी विद्यालयमा प्रदान गरिँदै आएको दिवा खाजालाई अझ व्यावहारिक, पोषणयुक्त र पर्याप्त बनाइने,बालमैत्री, अपाङ्गमैत्री तथा महिलामैत्री विद्यालय बनाउनका लागि लगानीमा वृद्धि गरिने,प्रविधिमैत्री विद्यालय, पोसाक, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिइने सहमति भएको हेटौंडा मेयर मिना लामाले बताइन ।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय र प्रदेश शिक्षा ऐनसँग अनुकूल हुने गरी समयसापेक्ष, शिक्षक र विद्यार्थीमैत्री शिक्षा ऐन, नियमावली ल्याइने, आपतकालीन सिकाइलाई निरन्तरता र गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षकहरूलाई प्रविधि प्रशिक्षण र आवश्यक पेसागत विकास तालिम प्रदान गरिने, बजेट निर्माणमा स्थापित चरण र प्रक्रियाको पालना गर्दै विद्यालय विकासका लागि आवश्यक बजेट विनियोजन गरिने भएको छ ।
यसअघि यी पालिकाभित्र वसोवास गर्ने निम्न आय भएका विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क उच्च शिक्षा अध्ययनका लागि गरिएको व्यवस्थालाई निरन्तरता दिइने, शिक्षक सुत्केरी बिदामा बस्दा पठनपाठनको निरन्तरताका लागि बिदा अवधिको समयमा विद्यालयमा स्वयमसेवक शिक्षकको व्यवस्था गरिने भनिएको छ । सहमति पत्र अनुसार १० वर्षे शिक्षा योजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।
यसैगरी भयरहित सिकाइ वातावरण निर्माणका लागि आवश्यक वातावरण निर्माण गरिने, जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग लड्दै पर्यावरणमैत्री शैक्षिक वातावरण निर्माणका लागि कदम चालिने भनिएको छ ।
सहमति पत्रमा नेपाल शिक्षक महासङ्घका जिधराज ढकाल, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, मकवानपुरगढी गाउंपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानलगायत सरोकारवालाहरूले हस्ताक्षर गरेका छन् ।


मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पाचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण पुष २४ गतेदेखि माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुने भएको हो ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए ।
‘फुटबल खेलको विकास, स्थानीय खेलाडीहरुको प्रोत्साहन र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाप्रतियोगिताको मुख्य उद्देश्य हो’ श्रेष्ठले भने । खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,
हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । वागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको बताइएको छ ।
प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाचौ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । वागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।
मकवानपुर । गत मसिर ४ मा सप्पन्न निर्वाचनबाट पहिलो दल बनेको नेपाली काग्रेससँग चुनावी गठबन्धन कायम नहुँदा प्रतिपक्षमा रहेको बेला बागमती प्रदेश सरकारमा सत्तारुट ३ दलले अहिलेसम्म दावी गरेका छन् ।
केन्द्रीय सत्ता समीकरणको असरले हाल प्रदेश सरकरको नेतृत्वको लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले दावी गरेको छ । सरकारमा दावी गर्ने ३ दल मध्ये २ दलले संसदीय दलकाे नेता सर्वसम्मत चयन गरेका छन् भने माओवादीले संसदीय दलकाे नेता चयनकाे लागि बैठक सुरु गरेकाे छ । संभवत शनिबार सम्ममा उसले समेत संसदीय दलकाे नेताकाे टुंगाे लागउने छ ।
नेकपा एमाले नयाँ बनेकाे सत्ता समिकरणकाे ठुलाे पार्टी भएकाेले सरकारकाे नेतृत्वमा दावी गर्दै आएकाे छ । एमाले बागमती प्रदेश सभाकाे संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएसँगै बागमतीकाे मुख्यमन्त्रीमा एक्ला दावेदारकाे रुपमा समेत हेर्न थालिएकाे छ । पार्टी केन्द्रीय सदस्य तथा अध्यक्ष निकट मानिने थपलियाले आगामी साता बागमती प्रदेशमा नयाँ सरकार बन्ने र आफू संसदीय दलको नेता भएकोले आफ्नै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको समेत विहीबार संसदीय दलकाे नेतामा चयन पछी बताएका छन् ।
यद्यपी थपलियाले केन्द्रको समीकरण अनुसार नै अघि बढ्ने बताएका छन् । उनी यस अघि २०७४ सालमा तत्कालीन डोरमणि पौडेल मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।
सरकारको नेतृत्व गरिरहेकाे नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी छ । मााअेवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न नसकेपनि प्रदेश सरकारको नेतृत्वमा दावी गरेको हो । माओवादीले पहिलाे प्रदेश सभामा एमालेलाई सहयाेग गरेकाेले अब आफूहरु सरकारकाे नेतृत्व गर्न पाउने बताउँदै आएकाे छ ।
माओवादीको बागमती प्रदेश संसदीय दलको नेता बन्न शालिकराम जम्मकट्टेल, युवराज दुलाल र सरल सहयात्री पौडेल र गंगानारायण श्रेष्ठको दौडधुपमा छन् । यद्यपी जम्मकट्टेल र पौडेल मध्ये १ मा सहमती गर्ने प्रयास भइरहेकाे पार्टीले जनाएकाे छ ।
याे बाहेक राप्रपाले समेत बागमतीमा सरकार गठन आफ्नाे नेतृत्वमा हुन् पर्ने दावी पेश गरेकाे बताइएकाे छ । बागमती प्रदेशको चौथो ठुलो दल राप्रपा सत्ता समिकरणका लागि निर्णायक भूमिकामा देखिएकोले पनि उसकाे दावी स्वाभाविक मान्न सकिन्छ । केन्द्रीय सरकारमा जाने राप्रपाले निर्णय गरेसँगै ७ प्रदेशमा १ मा उसले दावी गर्नु अन्यथा देखिदैन् । अन्य प्रदेशमा राप्रपाकाे सदस्य संख्या कम भएकाेले सरकार गठनमा निर्णायक भूमिका नरहने तर बागमतीमा निर्णायक शक्ति नै राप्रपा रहेकाे छ ।
प्रदेशमा पहिलाे दल काँग्रेस गठबन्धन टुटेसँगै प्रतिपक्षमा सिमित भएकाे छ । बागमती प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी १ सय १० सदस्य रहेकाेमा सरकार बनाउन ५६ संख्या आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ । अहिलेकाे समिकरणमा फेरबदल आउने सम्भावना देखिदैन । यद्यपी सरकार गठनकाे दाेस्राे विकल्पमा नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपा मिल्दा समेत बहुमतकाे सरकार गठनकाे सम्भावना भने कायम छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना संसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । एमाले २७ माओवादी २१ र राप्रपा १३ गरी ६१ सदस्य हुन्छ । यस्तै काँग्रेस ३७ राप्रपा १३ र नेकपा एस ७ गर्दा ५७ सदस्य हुने हुँदा बहुमतकाे सरकार गठन हुन सक्ने देखिन्छ । त्यसैले पनि राप्रपाले आफ्नाे पार्टी सरकार गठनकाे निर्णायक भएकाेले बागमतीमा दावी गरेकाे हाे ।
यता केपी ओलीकाे उच्चस्तरीय राजनीतिक संयन्त्रका संयाेजक भएका छन् । प्रचण्डकै प्रस्तावमा उच्चस्तरीय संयन्त्रको संयोजक बनेका ओलीकाे अनिवार्य सहमतिमा मात्र राज्यका महत्त्वपूर्ण निर्णय र नियुक्त हुने भएको छ । उच्चस्तरीय संयन्त्रको संयोजक तोकेसँगै शक्ति बाँडफाँटबारे गृहकार्य सुरु भएको छ । मुख्य ३ पद प्रधानमन्त्री राष्ट्रपति र सभामुखमा सहमती भएकाे भनिएकाे छ । तर बाँकी पदमा सहमती हुन नसकेकाे अवस्थामा प्रदेश मुख्यमन्त्रीकाे भागबण्डा मिलाएपछि अन्य नियुक्त गर्दै जाने बताइएकाे छ ।
सात प्रदेशमध्ये चार प्रदेशमा एमालेले नेतृत्व गर्ने, दुईमा माओवादी केन्द्र र बाँकी एकमा जसपा, जनमत वा नागरिक उन्मुक्तिलाई दिने गरी सहमति हुन सक्ने बताइरहँदा बागमती प्रदेश भने माओवादीले पाउन सक्ने २ प्रदेश मध्ये सुदुरपश्चिम लुम्विनी पछी विकल्पमा राखिएकाे छ । यस अनुसार राप्रपाले बागमतीमा पनि दावी अनुसार मुख्यमन्त्री नपाउने देखिन्छ । तर उपसभामुख लगायतका अन्य कुनै पदमा उसले चित्त बुझाउनु पर्ने हुन्छ । राप्रपालाई बागमतीमा उपसभामुख दिएर सहमतिमा ल्याउने प्रयास भएकाे समेत नेताहरु बताउँछन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सहकारी सम्बन्धी आवश्यक नीति बनाउने भएकाे छ । उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले उपमहानगरले सहकारीसम्बन्धी नीति बनाउने तयारी गरेको बताएकी हुन् ।
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार लामाले आर्थिक उद्यम विकासमा सहकारीहरुले भूमिका खेल्नुपर्ने बताएकी हुन् । सहकारीले ऋण लगानी गर्दा सचेत हुनुपर्ने भन्दै उनले एक जना ऋणी घाटामा जाँदा समग्र सहकारीमा असरपर्नेमा गम्भीर हुनुपर्ने बताएकी हुन् । सहकारीले महिलालाई आर्थिक उपार्जन तथा आत्मनिर्भतामा जाेड्नु पर्ने बताइन् ।
‘कोभिड, डेंगु जस्ता रोगबाट नगरवासीलाई जोगाउन स्थानीय तहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै प्रमुख लामाले भनिन्– ‘सफा हेटौंडा, स्वच्छ हेटौंडा भन्ने अभियानमा जोडिन सहकारी र सहकारीकर्मीलाई आग्रह पनि गर्दछु ।’ बचत, ऋण लगानीसँगै सहकारीहरु समाज परिवर्तनकाे वाहक वन्नु पर्ने उनले बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सहकारी सामाजिक संस्था भएकाले जागरण र समाजको विकासको महत्वपूर्ण काम गर्नुपर्ने बताए । ‘सहकारीहरुको सामाजिक गतिविधि प्रसंशनीय भएपनि अझै धेरै काम गर्नुपर्छ,’ उनले भने, ‘सहकारी र यस क्षेत्रको विकास मैले सक्दो सहयाेग गर्नेछु ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहकारीका सल्लाहकार प्रकाश पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ की अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
पत्रकार श्रेष्ठसहित अन्य व्यक्तित्व सम्मानीत
नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले २७ औं बार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार अशाेक सुजन श्रेष्ठ सहित विभिन्न व्यक्तित्वलाई सम्मानीत गरेकाे छ । सहरकारीले मंसिर ४ गतेकाे निर्वाचनमा मकवानपुरबाट नवनिर्वाचित प्रदेशसभा सांसदलाई सम्मान गरेकाे छ ।

यसैगरी असल बचतकर्ता, ऋणी, जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्य, कर्मचारी तथा सहयोगीहरुलाई सम्मान गरेकाे सहकारी अध्यक्ष रामहरी न्यौपानेले बताए । बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ र समानुपातिक प्रदेश सांसद लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओडाएर बधाई तथा सम्मान गरिएको थियो । यस्तै सहकारीका असल बचतकर्ता प्रतिमा बाबु श्रेष्ठ, असल मासिक बचतकर्ता सोमबहादुर दोङ्ग लामा, असल ऋणी सुशिला कमिनी, बृद्ध भत्ता प्राप्त गर्ने सदस्यहरु, वडाको जेष्ठ नागरिक, एकल महिला, जेष्ठ शेयर सदस्यहरुलाई नगद तथा उपहारसहित सम्मान गरिएको थियो ।
त्यस्तै, सहकारीको खुत्रुके बचतकर्ता, उत्कृष्ट बचत समूह, सहकारीको दैनिक निर्माण सामग्री लोड अनलोड गर्ने सहयोगीहरु, संस्थाबाट सम्पूर्ण निर्माण सामग्री प्रयोग गरी घर निर्माण गर्ने सदस्यहरु, नियमित कारोबारीहरु, निर्माण सामग्री बिक्रीमा बिशेष भुमिका खेल्नेहरु, सहकारीका विशेष सहयोगी लगायतलाई पनि सम्मान गरिएको अध्यक्ष न्याैपानेले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष शुकराम केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा, नारायणी बहुउद्धेश्यीय सहकारीका पूर्व अध्यक्ष निरञ्जन ढकाल, सल्लाहकार विजेन्द्र अग्रवाल, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाकी उपाध्यक्ष सति खड्का न्यौपाने, उपभोक्ता मञ्च हेटौंडाका अध्यक्ष कुमार प्रसाद पौडेल, कु्श्माण्ड सरोवर त्रिवेणीधामका अध्यक्ष ईश्वरी न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।
