मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा कार्यक्रम भएको हो ।
माघ २० गते शुक्रबार हेटौंडा ४ रोयल पार्टी प्यालेसमा २६ वटा स्टलमा सामाजिक, गणित र विज्ञान प्रदर्शनी गरिएको थियो । हेटौंडा ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहेको प्रदर्शनी संगै सास्कृतिक कार्यक्रम समेत भएको हो ।
शिक्षामा गुणस्तर सुधारका लागि असल र रचनात्मक प्रयत्न गर्न, शिक्षालाई प्रतिस्पर्धात्मक बनाउन, एकअर्काकाे शैक्षिक अनुभवलाई आदानप्रदान गर्न, शिक्षामा गरिएकाे आजकाे खर्च हाेईन, भाेलीकाे लागि लगानी हाे, भन्ने स्थापित गर्न,शिक्षामा बजेट, श्राेत, साधन र प्रविधिलाई प्रवर्द्वन गर्न, शैक्षिक क्षेत्रमा हामी केही न केही परिवर्तन गर्न, शैक्षिक जागरणकाे माध्यमद्वारा सामाजिक रूपान्तरण गर्ने उदेश्यले बृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरिएको ४ नम्बर वडा अध्यक्ष नविन सिक्देलले बताए ।
दिनभर चलेको प्रदर्शनीको करिब १० हजार जनाले अवलोकन गरेको बताइएको छ ।

मकवानपुर । मकवानपुरमा दादुरा संक्रमण घट्दो रहेको पाइएको छ ।
मकवानपुर जिल्लामा अघिल्ला बर्षहरुको तुलनामा रोगले संक्रमितको संङ्ख्या घट्दै गएको पाइएको हो। आ.ब. ०७६/०७७ मा ३३ जनामा, आ.ब. ०७७/७८ मा १८ जनामा, आ.ब. ७८।७९ मा ३ जनामा र यस आ.ब.को गत ६ महिनामा २ जनामा दादुरा देखा परेको छ ।
हालसम्ममा सबैभन्दा बढी मकवानपुर गढी गाउँपालिकामा दादुराको संक्रमित देखा परेको पाइएको छ । जहा आ.ब. ०७६/७७ देखि हालसम्ममा १३ जनामा देखा परेको । त्यस्तै गरि भिमफेदी गाउँपालिकामा आ.ब. ०७६/७७ मा ११ जनामा र ०७७/७८ मा १ जनामा देखा परेकोमा त्यसपछिका समयमा शुन्य अवस्थामा रहेको पाइएको स्वास्थ कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले बताए ।
त्यस्तै कैलाश गाउँपालिकामा ०७६/७७ मा ८ जनामा देखा परेकोमा सो पश्चातका बर्षहरुमा शुन्य रहेको पाइएको छ।
उनका अनुसार चालु आ.ब. मा हेटौडा उपमहानगरपालिकामा १ जना र बकैया गापामा १ जना गरि २ जनामा देखा परेको छ।
दादुरा खोप बच्चा जन्मिएको ९ र १५ महिना भित्रका बालबालिकामा २ पटक लगाइने गरिन्छ । जुन खोप गत बर्षहरुको तुलनामा हाल १०० प्रतिशत नै लगाइएको पाइएको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए ।
दादुराको पहिलो खोप आ.ब. ०७६/७७ मा ८१ प्रतिशत र दोस्रो खोप ७२ प्रतिशतमा लगाइएको, आव ०७७/०७८ मा पहिलो ८२ प्रतिशत र दोस्रो ८१ प्रतिशतमा लगाइएकोमा आ.ब. ०७८।०७९ मा पहिलो मात्रा १०१ प्रतिशतमा लगाइएकोमा दोस्रो मात्रा १०० प्रतिशतलाइ लगाइएको पाइएको उनले बताए ।
सन २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने सरकारको लक्ष्य रहेको छ । स्वास्थ्य मन्त्रालयले ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित राष्ट्रव्यापी रुपमा यो अभियान सुरु गरेको छ।
सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत रहेको पाइएको भए पनि मकवानपुरमा यस खोप पुर्ण रुपमा लगाएको पाइएको घिमिरेले बताए ।
बालबालिकालाइ सहि समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा यो संक्रमण नियन्त्रण आउने र भएकोले यसतर्फ सचेत बन्न स्वास्थकर्मीहरूको सल्लाह छ ।
मकवानपुर । शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा चितवनका एक प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । कँडेलले झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भीमोदय माविको शिक्षक पदमा नियुक्त भई हालसम्म लाभ लिई भ्रष्टाचार गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिमानाको सजाय हुने अभियोगसहितको माग/दाबी गरिएको आयाेगले जनाएकाे छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समथर चौरलाई कडा चट्टानयुक्त भएको ‘गलत प्राविधिक प्रतिवेदन’ तयार बनाएर सरकारी रकम हिनामिना गरेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सातजनालाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरको हो । मुगुको सोरु गाउँपालिका–६ मा फिल्डमा नभएको र नगरेको कामको मूल्यांकन गरी १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब–इन्जिनियर मनोज धामी र सब–इन्जिनियर जगतबहादुर मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नापी किताब र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेकाले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत भएको हुँदा परशुराम उपाध्याय, मनोज धामी र जगतबहादुर मल्ललाई ऐ ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिमाना गर्नसमेत मागदाबी गरिएको आयोगले जनाएको छ ।
त्यसरी गलत प्रतिवेदन तयार गर्नेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा १ अनुसार कारबाही हुने अख्तियारको ठहर छ । सो दफामा सरकारी निकाय वा सार्वजनिक संस्थाको कामकाजको सिलसिलामा कुनै विषयमा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्नेमा बदनियतपूर्वक भए गरेको कुरा लुकाइछिपाई वा नभएको नगरेको कुरा देखाई प्रतिवेदन दिने व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदखि ५० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको छ ।
आयोगको अनुसन्धानबाट फिल्डमा नभएको कार्यसमेत भएको भनी गलत नापी किताब तयार गर्ने कार्य गरेको एवं नापी किताब चेकजाँच र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेको भेटिएको छ ।
आयोगले कर्मचारी मात्र होइन कि फिल्ड निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई समेत अभियुक्त बनाएको छ । समितिका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छन्त्याल (शाही) ले खौलाचौर फिल्ड निर्माण कार्यमा गाउँपालिकासँग गरेको सम्झौताविपरीत फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई भुक्तानी लिएको अभियोग लगाएको छ । उनीहरूलाई सरकारी अधिकारीसरह १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । उनीहरूलाई गैरकानुनी लाभ वा हानी पु¥याउने बदनियतले काम गरेको ठहर गर्दैै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम कसुरको मात्रा हेरेर दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिमाना गरी बिगोसमेत जफत गर्न मागदाबी लिइएको आयोगले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपकबहादुर सिंहको उपस्थितिमा गायक प्रकाश सपुतले माहौल तताए।
महोत्सवमा राज्यमन्त्री सिंहको प्रमुख आतिथ्यता रहेको थियो । उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै समग्र उद्योग, व्यापार र व्यवसाय विद्युत लोडसेडिङले पर्ने असर न्यूनीकरण गरिने बताए । गलबन्दी च्यातियो…, पीर दियो…, कुरा बुझ्नु पर्छ…लगायतका आफ्ना चर्चित गीत प्रस्तुत गरेका सपुतले धमकेदार सांगीतिक प्रस्तुती दिएका थिए । सातौं दिन मंगलबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरु गीतसंगीतमा मज्जाले झुमेका थिए । महोत्सवमा गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए ।
युवापुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै गाउँदै सबैलाई नचाएकी थिइन् । आफ्ना चर्चित गीत प्रस्तुत गरेकी अधिकारीले हेटौंडामा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो ।
भोली बुधबार युवापुस्ताका मनपर्ने गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई, गायक विश्व नेपाली, कमेडियन सुदीप थापा लगायतका कलाकारको प्रस्तुती रहने महोत्सवका कलाकार/मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
सोमबार महोत्सवमा बाल गायक अशोक दर्जी र टंक बुढाथोकी, कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्द्धकको रुपमा रहेको महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङका स्टल रहेका छन ।
यस्तै मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
माघ ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । बुधबार चुरेहिल हस्पिटलका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।
मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा उक्त कार्यक्रम हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नविन सिग्देलले शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । माघ २० गते दिनभर हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने सिग्देलले बताए ।
शिक्षालाई प्रतिस्पर्धातमक बनाउने गरी गुणस्तर सुधारको काममा लागिएको बताउदै उनले पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी गरिने जानकारी दिए । १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा हेटौंडा वडा नम्बर ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहने बताइएको छ ।
