मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई हेटौंडा उपमहानगरपालिका- १० न्यूरेनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार शनिबार बेलुका हेटौंडा १० का ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगरलाई ३ सय ५० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिइएको हो ।
लागूऔषध किनबेच भइरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले स्थानीय होम बहादुरको घरबाट उक्त परिमाणको धुलो खैरो हेरोइन सहित ३ जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । गजल मञ्च मकवानपुरको १९ औँ वार्षिकोत्सव तथा २ सय १ औँ गजल यात्रा गजलकार अमला अधिकारीको एकल गजल विशेष भएको छ ।
गजल मञ्चको निमन्त्रणमा शनिबार हेटौँडा आएकी अधिकारीले करिब डेढ दर्जन गजल वाचन गर्दा गजलका शेर नै पिच्छे तालीको गुन्जहाट कार्यक्रम स्थलमा भएको थियो ।
अब निदाउँ कालेका बा सपना देख्नुपर्छ ।
यो तितो विपनालाई एकछिन लखेट्नुपर्छ ।
खुन बेचेर नुन किन्यौ आँखा कमजोर भए,
यदि चश्मा किन्नुपरे आँखा बेच्नुपर्छ ।
––––
मुटु बधशालामा आँखा सिमानामा राखिदिनु ।
त्यसपछि मात्र यो शरीरलाई चितामा राखिदिनु ।
हामी कारखानामै सिध्याइदिन्छौँ रगत र पसिना,
सरकार हाम्रा नानीहरुलाई पाठशालामा राखिदिनु ।
––––
मलाई दूर बस्नु छ प्यारको असरबाट ।
तिमी दूर गइदेउ यी मेरा नजरबाटव।
मेरो धान फल्ने खेतमा मोटर गुडेको छ,
चामल ओसार्नु छ मोटरमा सहरबाट ।
माथिका गजलका शेरहरु जस्तै सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि समीक्षासमेत गरिएको थियो ।
कार्यक्रममा वाचित गजलहरुमाथि समीक्षक घनश्याम घिमिरेले विचार, भाव र संरचना पक्षको बारेमा समालोचना गरेका थिए । समीक्षक घिमिरेले अमलाका गजलहरुले आवाजबिहीनहरुका आवाजहरु बोलेको बताए । ग्रामीण परिवेश, भोगाई, विपन्न र निमुखाका जीवन भोगाईका विविध पाटाहरुलाई गजलमा सुन्दर तरिकाले प्रस्तुत गरिएको भन्दै घिमिरेले गजलकारको प्रसंशा गरेका थिए ।
गजल मञ्च मकवानपुरले अधिकारीलाई गजल श्रष्टा सम्मान समेत प्रदान गरेको छ । गजलको उन्नयन, विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहेकोले अधिकारीलाई गजल सम्मान २०८० प्रदान गरिएको हो । यसअघि निमेष निखिल, धनराज गिरी, रवि प्राञ्जल, बुँद राना, ज्ञानुवाकर पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, र श्याम न्यौपानेलाई उक्त सम्मान मञ्चले प्रदान गरिसकेको छ ।
शिक्षण पेशामा आवद्ध सर्लाही स्थायी निवासी अधिकारीका ४ वटा गजल सङ्ग्रह र एउटा उपन्यास प्रकाशित भइसकेको छ । उनको ‘अमला’, ‘आगो’, ‘आरन’ र ‘आश्रम’ गजल सङ्ग्रह हो ‘आलय’ उपन्यास प्रकाशित छन् ।
गजल मञ्च अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । १३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको शनिवार बिदाइ गरिएको छ ।
काठमाडौंमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन विभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसियल टोलीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिदाई गरेका हुन् ।
काठमाडौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडडी, तेक्वान्दो, कराते, उसुका प्रशिक्षक, म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाइ गरिएको हो ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका उनिहरुलाई सफलताको शुभकामना सहित बिदाई गरिएको छ ।
जिल्ला खेलकुद बिकास समिति मकवानपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लालाई बढी पदक ल्याउने गरि खेल्न तथा जिल्लाको नाम राख्ने गरि मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गर्दै सफलताको शुभकामना दिईन् । उपप्रमुख बानियाँले जिल्लाको नामलाई अव्बल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए ।
प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले ६४ जना खेलाडीलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गतवर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।
सुख्खा मौसम सुरू भएसंगै बनमा डढेलो लाग्दा सर्वसाधारणमा त्रास फैलिएको छ भने सरोकारवाला निकायबाट कुनै कदम अघि बढाईएको पाइएको छैन ।
हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउंपालिका क्षेत्रमा पर्ने नमुना सामुदायिक वन, बनस्खण्डि सामुदायिक वन र मनकामना सामुदायिक वनमा हिजोबाट सुरू भएको आगलागी अहिले मानव बस्ती नजिकै पुग्न थालेको छ ।
बस्तिमा आगो पस्ने डरैडरमा बसेका मनकामना डांडाका स्थानीयहरूले सरकार रमिते भएर बसेको भन्दै गुनासो गरे ।
मकवानपुरका बिकट गाउँदेखि हेटौंडा बजार क्षेत्रका वनहरुमा समेत आगलागी भइरहेका छन् । यता डिभिजन वन कार्यालय मकवानपुरका कर्मचारी भने रमिते बनेका छन् । फागुन महिनाको अन्तिमदेखि अहिलेसम्म मकवानपुर जिल्लाका सामुदायिक वनहरू डढेलोको जोखिममा पर्न थालेका छन्।

सुख्खा समय, बनमा झरेको पत्कर र हावाहुरीको कारण डढेलो बढेको छ । पछिल्लो साता मकवानपुरका दश वटै स्थानीय तहका सामुदायिक वनहरुमा डढेलो लाग्नेक्रम बढ्दै आएको छ ।
सामुदायिक वनहरूमा डढेलो लागेका कारण संरक्षण गरेका वनजङ्गल नष्ट हुने र नजिक रहेका घरगोठमा आगलागी हुने डर रहेकाले स्थानीय त्रसित हुन थालेका छन्।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो लागेका छन् ।
डढेलो निभाउनका लागि साुमदायिक वन समुहमा रहेका उपभोक्ताहरुले पनि खासै चासो नदिएको र स्थानीय सरकारले पनि वास्त नगरेको स्थानीय कल्पना अधिकारीले बताइन् ।
“वन छेउमा घर छ, कतिखेर हावाले आगो सहितको पत्कर घर गोठमा ल्याउने हो डरै डर छ” मनकामनाका भुवन लामाले भने ।
जङ्गलमा सुकेका पातपतिङ्गर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा घाँसी तथा गाईगोठालाले लुकेर आगो लगाउने गरेको पाइन्छ। आगोले वनजङ्गलमा डढेलोको रूप लिँदा वन, वनस्पति, वन्यजन्तुमा ठूलो नोक्सानी हुने गरेको छ।
डढेलोले संरक्षित साल तथा अन्य जातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ।
सामुदायिक वनमा आगलागी हुँदा हरेर बस्नुपर्ने बाध्यता रहेको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिब सापकोटा बताउछन् । हरेक दिन वनहरुमा आगलागी भइरहेका छन् । तर, आगलागी नियन्त्रण गर्ने थोरै मात्र जनसक्ति भएकाले हेरेर बस्नुपर्ने अवस्था आएको उनले बताए ।
जताततै आगलागी हुँदा पनि त्यही भएका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुलाई लिएर डढेलो नियन्त्रण गर्ने प्रयास भने कमै भएका छन् । हेटौंडा उपमहानगरपालिकाको कार्यलयबाट २ मिनेटको दुरीमा रहेको मनकामना सामुदायिक वनमा आगलागी हुंदा नगरपालिका पनि रमिते बनेर बसेको छ ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् ।
देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ ।
मकवानपुर । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।
नयाँ वर्षको दिन आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । नयाँ वर्ष आरम्भका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे प्रदेश प्रमुख यादवचन्द्र शर्मा लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको प्रगतिको कामना गरेका छन् ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने भनाई छ ।
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन ।
विक्रम सम्वत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत सूर्यसँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।
नेपाली पात्रो विक्रम सम्बतमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो पात्रो नेपालको आधिकारिक पात्रो हो। यस पात्रो अनुसार नयाँ वर्ष बैशाख १ गते पर्दछ। हरेक वर्ष प्रकाशित हुने पात्रोले वर्षभरिका तिथि मिति, राष्ट्रिय दिवस, सांस्कृतिक दिवस, चाडपर्व, सार्वजनिक विदा लगायतका मितिहरू तय गर्दछ। नेपालमा पात्रो निर्माणका लागि पञ्चाङ्ग निर्णायक समितिले पञ्चाङ्ग गणना गरी पात्रो प्रकाशित गर्दछ।
