मकवानपुर । १३ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने मकवानपुरे खेलाडीको शनिवार बिदाइ गरिएको छ ।
काठमाडौंमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन विभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसियल टोलीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिदाई गरेका हुन् ।
काठमाडौंमा हुने १३ औं राष्ट्रपती कपमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडडी, तेक्वान्दो, कराते, उसुका प्रशिक्षक, म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाइ गरिएको हो ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका उनिहरुलाई सफलताको शुभकामना सहित बिदाई गरिएको छ ।
जिल्ला खेलकुद बिकास समिति मकवानपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लालाई बढी पदक ल्याउने गरि खेल्न तथा जिल्लाको नाम राख्ने गरि मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गर्दै सफलताको शुभकामना दिईन् । उपप्रमुख बानियाँले जिल्लाको नामलाई अव्बल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए ।
प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले ६४ जना खेलाडीलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गतवर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य माधब तिमल्सिना, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

