मकवानपुर । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।
नयाँ वर्षको दिन आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । नयाँ वर्ष आरम्भका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे प्रदेश प्रमुख यादवचन्द्र शर्मा लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको प्रगतिको कामना गरेका छन् ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने भनाई छ ।
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन ।
विक्रम सम्वत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत सूर्यसँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।
नेपाली पात्रो विक्रम सम्बतमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो पात्रो नेपालको आधिकारिक पात्रो हो। यस पात्रो अनुसार नयाँ वर्ष बैशाख १ गते पर्दछ। हरेक वर्ष प्रकाशित हुने पात्रोले वर्षभरिका तिथि मिति, राष्ट्रिय दिवस, सांस्कृतिक दिवस, चाडपर्व, सार्वजनिक विदा लगायतका मितिहरू तय गर्दछ। नेपालमा पात्रो निर्माणका लागि पञ्चाङ्ग निर्णायक समितिले पञ्चाङ्ग गणना गरी पात्रो प्रकाशित गर्दछ।

