मकवानपुर । गजल मञ्च मकवानपुरको १९ औँ वार्षिकोत्सव तथा २ सय १ औँ गजल यात्रा गजलकार अमला अधिकारीको एकल गजल विशेष भएको छ ।
गजल मञ्चको निमन्त्रणमा शनिबार हेटौँडा आएकी अधिकारीले करिब डेढ दर्जन गजल वाचन गर्दा गजलका शेर नै पिच्छे तालीको गुन्जहाट कार्यक्रम स्थलमा भएको थियो ।
अब निदाउँ कालेका बा सपना देख्नुपर्छ ।
यो तितो विपनालाई एकछिन लखेट्नुपर्छ ।
खुन बेचेर नुन किन्यौ आँखा कमजोर भए,
यदि चश्मा किन्नुपरे आँखा बेच्नुपर्छ ।
––––
मुटु बधशालामा आँखा सिमानामा राखिदिनु ।
त्यसपछि मात्र यो शरीरलाई चितामा राखिदिनु ।
हामी कारखानामै सिध्याइदिन्छौँ रगत र पसिना,
सरकार हाम्रा नानीहरुलाई पाठशालामा राखिदिनु ।
––––
मलाई दूर बस्नु छ प्यारको असरबाट ।
तिमी दूर गइदेउ यी मेरा नजरबाटव।
मेरो धान फल्ने खेतमा मोटर गुडेको छ,
चामल ओसार्नु छ मोटरमा सहरबाट ।
माथिका गजलका शेरहरु जस्तै सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि समीक्षासमेत गरिएको थियो ।
कार्यक्रममा वाचित गजलहरुमाथि समीक्षक घनश्याम घिमिरेले विचार, भाव र संरचना पक्षको बारेमा समालोचना गरेका थिए । समीक्षक घिमिरेले अमलाका गजलहरुले आवाजबिहीनहरुका आवाजहरु बोलेको बताए । ग्रामीण परिवेश, भोगाई, विपन्न र निमुखाका जीवन भोगाईका विविध पाटाहरुलाई गजलमा सुन्दर तरिकाले प्रस्तुत गरिएको भन्दै घिमिरेले गजलकारको प्रसंशा गरेका थिए ।
गजल मञ्च मकवानपुरले अधिकारीलाई गजल श्रष्टा सम्मान समेत प्रदान गरेको छ । गजलको उन्नयन, विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहेकोले अधिकारीलाई गजल सम्मान २०८० प्रदान गरिएको हो । यसअघि निमेष निखिल, धनराज गिरी, रवि प्राञ्जल, बुँद राना, ज्ञानुवाकर पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, र श्याम न्यौपानेलाई उक्त सम्मान मञ्चले प्रदान गरिसकेको छ ।
शिक्षण पेशामा आवद्ध सर्लाही स्थायी निवासी अधिकारीका ४ वटा गजल सङ्ग्रह र एउटा उपन्यास प्रकाशित भइसकेको छ । उनको ‘अमला’, ‘आगो’, ‘आरन’ र ‘आश्रम’ गजल सङ्ग्रह हो ‘आलय’ उपन्यास प्रकाशित छन् ।
गजल मञ्च अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

