मकवानपुर । एमाले महासचिव ईश्वर पोख्रेलले आफूहरुले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान आगामी २०८४ मा हुने आम निर्वाचित केन्द्रीत रहेको बताएका छन् । उनले अब एमालेले ‘मिसन ८४’ लाई अभियानको रुपमा सञ्चालन गर्ने बताए ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडामा भएको प्रशिक्षणमा महासचिव पोख्रेलले वर्षभरी एमाले हुने तर भोट हाल्ने दिन एमाले विर्सने सदस्यहरु एमाले हुन नसक्ने भन्दै उनले नविकरणमा भन्दा कटिवद्ध एमाले निर्माण अभियानमा जोड दिन मातहतका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
एक फरक प्रसङ्गमा महासचिव पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेको कोटाबाट टिकट दिने पार्टी नेतृत्वको निर्णयबारे खुलासा समेत गरेका छन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रममा पोखरेलले स्थानीय तहमा देखिएको पार्टीको पराजय, राजतन्त्रको पक्षमा रहेको राप्रपाको उदयको शंकेत सहित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेर नाकावन्दीको समयमा दिएको महत्वपूर्ण साथ तथा गणतन्त्रलाई स्विकार गरेको कारण थापालाई एमालेले उम्मेद्वार बनाएको बताए । यस्तै देशमा नाकाबन्दीको चर्को असर रहेको समयमा थापाले गरेको सहयोग निकै महत्वपूर्ण रहेको निश्कर्ष नेतृत्वले निकालेको र उनलाई एक पटक अवसर दिईएको उनको भनाई रहेको थियो ।
यस्तै महासचिव पोखरेलले जनताको प्रश्न देखेर रिसाउने र भाग्नेहरु जनताको नेता हुन नसक्ने दाबी गरेका छन् । प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले अरुलाई प्रश्न गर्न सहज भएको मान्नेहरु आफूलाई प्रश्न आउँदा भाग्दै हिडेको बताए ।
स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका एकजना स्थानीय ब्यवसायीप्रति गरेको ब्यवहारप्रति ब्यङ्ग्य गर्दै महासचिव पोखरेलले भने ‘हिजो अरुलाई प्रश्न सोध्नेहरु आज जनताबाट आएको प्रश्न देखेर भाग्न पाईन्छ ?’ महासचिव पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले देशको अर्थतन्त्र बदल्न नसक्ने दाबी गरे । एमाले सरकारमा हुँदा नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको तर एमालेको बहिर्गमन पछि देशको अर्थ ब्यवस्था ध्वस्त हुँदै गएको उनले बताए ।
एसियाको दुई ठुला शक्तिराष्ट्रहरुको बिचमा आफूहरु रहेको र विश्वको अर्थतन्त्रको केन्द्र यि दुई राष्ट्र बन्दै गएको कारण नेपालमा विदेशी शक्तिको चलखेल बढनसक्ने भन्दै महासचिव पोखरेलले विदेशी शक्तिको केन्द्र बन्नबाट रोक्नको लागि एमालेलाई जनताले बहुमत दिनपर्ने बताए ।

