मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुर नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
संघले शनिबार गरेको शुभकामना कार्यक्रममा निर्माण क्षेत्रका समस्याहरुको बारेमा छलफल समेत भएको छ ।
कार्यक्रममा अहिले निर्माण क्षेत्रमा देखिएका समस्याहरु समाधान गरिनु पर्नेमा जोड दिइएको छ ।
निर्माण व्यवसायीसँगै ठेक्का आव्हान गर्ने तीनै तहको सरकार जिम्मेवार भएमा निर्माण क्षेत्रमा देखिएको समस्या समाधान हुने समेत बताइएको थियो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समयमा काम सम्पन्न नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै निर्माण व्यवसायीका समस्यमा समाधानमा तीनै तहको सरकार सकारात्मक रहेको बताईन । सरकारबाट हेर्दा काम नभएको देखिन्छ, तीन पटक म्याद थप्दासमेत काम नभएको पाइन्छ भन्दै निर्माण क्षेत्रका समस्या समाधानमा पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरिन ।
बागमती प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री एकालाल श्रेष्ठले जिम्मेवारी लिएपछि काम समयमा पूरा गर्नुपर्ने भन्दै सबै व्यवसायमा अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताए । निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले कतिपय स्थानीय तहले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान नगर्ने गरेकाले निर्माण व्यवसायीले आफ्नो काम सहज रुपमा गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे ।
टेण्डर निकाल्दा बजेट सुनिश्चिततासँगै सबै तयारी गरेर आव्हान गर्नुपर्ने, बैंक व्याजदरको समस्या समाधान हुनुपर्नेलगायतका धारणा कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा, नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण कटुवाल, निर्माण व्यवसायी सङ्घ मकवानपुरका पूर्व अध्यक्ष आनन्दराम पराजुली, संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललगायतको उपस्थिति रहेको थियो ।
अवैध भन्सार छलेर ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा बरामद
Tags: No Comments
मकवानपुर । अवैध भन्सार छली ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज हेटौडा उप महानगरपालिका वडा नं १५ रातोमाटे र वडा नं १० बसपार्कको सडकमा सवारी जाँच्ने क्रममा उक्त कपडा बरामद गरिएको हो ।
पर्सा जिल्लाको गौरबाट काठमाडौ लैजादै गरिएको तर्फ जादै गरेको ना ५ ख १७३८ र सर्लाही मलंगवाबाट काठमाडौ तर्फ जादै गरेको ना ६ ख १२३३ नं को यात्रुबाहक बसबाट कपडा बरामद गरिएको हो ।
कपडाको अनुमानित मुल्य ५ लाख ७५ हजार ४०० रहेको प्रहरीले जनाएको छ । भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी ल्याएको बिभिन्न किसिमको कपडा र पाउडर दुधको प्याकेटहरु फेला परेको हुदाँ आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशमा सुरक्षाको मुख्य चुनौतीको रूपमा सवारी दुर्घटना रहेको पाईएको छ ।
प्रदेश सुरक्षा समितिको बैठकमा सवारी दुर्घटनापछि आत्महत्याको चुनौती बढी रहेको बताईएको हो ।
प्रदेशको सुरक्षा चुनौतीको रूपमा सवारी दुर्घटना, आत्महत्या, विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू प्रदेशको सुरक्षा चुनौती रहेको र त्यसलाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन गर्न वाधक बनिरहेका कतिपय पञ्चायतकालीन ऐन, कानून समयानुकूल संशोधन गर्ने र आवश्यकता अनुसार नयाँ ऐनकानुन निर्माण गर्दै जानेमा प्रदेश सरकार लागिरहेको उनले बताए ।
प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा
आज हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समितिको बैठकमा यस्तो सवाल उठाईएको हो ।
यस अघि १३ वटा जिल्लाको सुरक्षा समितिको समन्वयात्मक बैठक भएको थियो ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि (सीसी क्यामेरा लगायत) जडान गर्ने, विपदको जोखिम कम गर्न र विपदमा परेकाहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले प्रदेश विपद व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने त्यस्तै साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामाग्रीको स्वनियमन, नियमन गर्ने कानुन बनाउने, महिला हिंसा र आत्महत्या हुनबाट जोगाउन समुदायलाई सचेत गराउन सचेतनामूलक कार्यक्रमहरू गर्नुका साथै, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रदेश सुरक्षा समितिको बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट सुरेन्द्र कार्की, नेपाली सेनाका मध्यपृतनापति होमनाथ दवाडी, नेपाल प्रहरी बागमती प्रदेश प्रमुख प्रहरी नायव महानीरिक्षक किरण राणा, बागमती प्रदेश सशस्त्र प्रहरी बल प्रमुख प्रहरी नायव महानीरिक्षक लक्ष्मण बहादुर सिंह, राष्ट्रिय अनुसन्धान बिभाग प्रदेश प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी गराएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैंडा, बागमती प्रदेश सरकारका प्रमुख सचिब मुकुन्द निरौलाले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको समेत उपस्थिति थियो ।
काठमाडौं । चार वर्षभित्र सक्ने भन्दै १४ जेठ २०७४ मा निर्माण थालिएको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)ले थप म्याद भएको छ । पछिल्लो पटक म्याद थपेर मंसिर २०८१ सम्म सक्ने भनिएकोमा मन्त्रिपरिषद् बैठकले आयोजनाको म्याद २०८३ चैतसम्म थप गरेको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले द्रुतमार्गको निर्माण अवधि २०८३ चैतसम्म थपिएको जानकारी दिइन् ।
सुरुको लक्ष्यअनुसार यो मार्ग नेपाली सेनाले २०७८ भदौसम्म सम्पन्न गर्नुपर्ने थियो । त्यसअनुसार काम भएको भए यो परियोजना तयार भएर देशलाई आर्थिक लाभ दिन थालिसकेको हुन्थ्यो ।
लक्ष्यअनुसार काम नहुँदा पनि सेनाले आयोजनामा मनपरी ढंगले म्याद थपको अनुमति पाइरहेको छ । सुरुमा एक खर्ब ७५ अर्बमा तयार हुने अनुमान गरिएको यो परियोजनाको लागत अहिले दुई खर्ब १३ अर्ब रुपैयाँ पुगिसकेको छ । पछिल्लो म्याद थपसँगै आयोजना अझ महँगिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत मंगलबार द्रुतमार्गको अवलोकन गराएर सेनाले म्याद थपको लागि तयार गराएको थियो । निर्धारित समयमा पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको द्रुतमार्ग परियोजनाको निर्माण अवधि पछिल्लो म्याद थपको निर्णयपछि १० वर्ष पुग्ने निश्चित भएको छ ।
प्रचण्ड नै प्रधानमन्त्री रहेका १४ जेठ २०७४मा वर्षभित्र सक्ने लक्ष्यसहित सेनालाई जिम्मा दिएर आयोजनाको शिलान्यास गरिएको थियो । त्यसबेला सेनाले समयमै काम सक्ने विश्वास व्यक्त गरेका प्रचण्डले करिब ६ वर्षपछि मंगलबार फेरि निर्माण निर्माणस्थल पुगेर आफैंले द्रुतमार्ग उद्घाटन गर्न पाउने विश्वास व्यक्त गरेका थिए । काठमाडौं फर्किएर उनले मन्त्रिपरिषद्बाट एकैपटक ४ वर्षपछि मात्रै निर्माण सक्ने गरी म्याद थपको नयाँ निर्णय गरेका छन् ।
२०४९ सालमा सम्भाव्यता अध्ययन भएको यो परियोजनाको ट्रयाक खोल्ने काम ०७० मा नेपाली सेनाबाटै भएको थियो । तराई–मधेशलाई काठमाडौंसंग एक घण्टाको दूरीमा ल्याएर वीरगञ्ज नाकाबाट अधिक लाभ हासिल गर्ने उद्देश्यसहित निर्माण थालिएको द्रुतमार्गको काममा सेनाले अनेकन बहानाबाजी गरेर ढिलाइ गर्दै आएको छ ।
सुरुमा डीपीआर नै नबनाई काम थालेको सेनाले सुरुङ, अग्ला र लामा पुलहरुको ठेक्का समयमै लगाउन सकेन । उसले विभिन्न प्याकेजका ठेक्का अझै लगाउन सकेको छैन ।
ललितपुरको खोकनाबाट मकवानपुर हुँदै बाराको निजगढमा पूर्वपश्चिम राजमार्गसँग जोडिने द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर छ । यसमा पुल र सुरुङबाहेक ५५.५ किलोमिटर सडकखण्ड हुनेछ ।
राष्ट्रिय गौरबको यो आयोजनामा अहिलेसम्म जम्मा २२.४७ प्रतिशत भौतिक प्रगति भएको छ । करिब ६ वर्षमा एक चौथाइ काम सकिएको यो आयोजना कहिले बनिसक्छ भन्ने अनिश्चित छ । निर्धारितभन्दा ६ वर्ष ढिलो हुनेगरी म्याद थपको नयाँ निर्णय भएपनि सेनाका प्राविधिक अधिकृतहरु नै २०८३ चैतसम्म सकिनेमा आशावादी छैनन् ।
‘प्राविधकि रुपमा जटिल पुलहरुको काम सुरु भएकै छैन, सुरुङमार्गको काम पनि सुस्त नै छ,’ एक प्राविधिक अधिकृत भन्छन्, ‘४ वटा प्याकेजको ठेक्का लगाउनै बाँकी छ । खोकनामा प्रस्थानविन्दुको विवाद टुंगिन सकेको छैन । कसरी बन्ला र ४ अबको वर्षभित्र ?’
द्रुतमार्गको १०.५९ प्रतिशत खण्डमा सुरुङ र ६.४१ प्रतिशतमा पुलहरु बन्नुपर्छ । मकवानपुरको महादेवडाँडा, धेद्रे र लेनडाँडामा बनिरहेको सुरुङको काम अति सुस्त छ । द्रुतमार्गमा साना, ठूला गरी ८७ वटा पुल बनाउनुपर्नेछ ।
ललितपुरको खोकनाबासीले प्रस्थान विन्दु नै परिवर्तन गर्न माग गरेका छन् भने कतिपयले मुआब्जाको दर चित्त नबुझाएर रकम बुझेका छैनन् । कतिपय जग्गा धनीले मुआब्जाका लागि आवश्यक कागजात नै जुटाउन पनि सकेका छैनन् ।
० (जिरो)देखि २६ किलोमिटरसम्मको सडक खण्डको ठेक्का लगाउन बाँकी छ । हालको विवादित अवस्थामा ठेक्का लागेपनि खोकनावासीले काम गर्न दिने देखिंदैन ।
आयोजनामा अहिलेसम्म कुल खर्च गर्नुपर्ने रकममध्ये करिब साढे २२ प्रतिशत खर्च भइसकेको छ । सर्भे/डिजाइन, जग्गा अधिग्रहण, रुख कटान लगायत कुनै पनि काममा शतप्रतिशत प्रगति भने छैन । ढुंगा–माटो कटिङ र फिलिङ समेत सकिएको छैन । मेसिनरी स्ट्रक्चर, रिटेनिङ वाल, बक्स कल्भर्ट, ग्याबिन, पाइप तथा कल्भर्टको काममा पनि लक्ष्यअनुसार प्रगति छैन ।
सेनाले द्रुतमार्गलाई ११ भागमा विभाजन गरेर काम गरिरहेको छ, जसमध्ये ८, ९, १० र ११ नम्बर प्याकेजमा ठेक्का लाग्न बाँकी रहेको आयोजनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । चालु आर्थिक वर्षको अन्त्यसम्म यी ४ प्याकेजमा ठेक्का लागेर काम अघि बढ्ने बताउँदै उनले भने, ‘यसकै लागि अहिले म्याद थप भएको हो ।’
अरु प्याकेजमा २०७८ जेठमा ठेक्का लागेको हुनाले निर्माण अवधि त्योबेलै देखि गणना हुने प्रवक्ता भण्डारीको तर्क छ । शिलान्यासपछि करिब ४ वर्ष पूर्वतयारीको काम गरिएको दाबी गर्दै उनले त्यसलाई निर्माण अवधि मान्न नहुने बताए ।
‘अब निर्माणको लागि सहजसँग जग्गा पाउनुपर्यो,’ प्रवक्ता भण्डारीले भने, ‘सरकारले वातावरणीय प्रभाव मूल्यांकनका बाँकी प्रक्रिया छिटो पुरा गरेर विस्तृत परियोजना प्रतिवेदन पुनरावलोकनको विषय टुंगो लगाइदिए तोकिएको समयमै आयोजना सक्छौं ।’ अनलाइन खबरबाट
मकवानपुर । आज वैशाख कृष्ण औंसीको दिन । नेपालमा हिन्दू संस्कृति अनुसार आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी पर्वको रूपमा मनाइने गरिन्छ। आमालाई सम्मान गरी बैशाख ७ गते विहीबार आमाको मुख हेर्ने दिन मनाइँदै छ ।
आमाकाे महत्व अमुल्य रहेकाे छ । आमालाई भगवानकाे अर्काे रुपले पुज्ने गरिन्छ । त्यसाेत आज विहानै देखि आमाकाे नाममा समाजिक संजाल भरिएका छन् । आमा नजिक भएकाहरु आमाको मुख हेर्न तथा खुवाउन जाने गर्छन । आमा भन्दा अलि टाढा भएकाहरु विभिन्न माध्यमबाट आमालाई भेट्ने गर्छन ।
इलाम सुर्योदयकी टिन्कु भट्टराईले सामाजिक संजाल फेसबुकमा आमा सम्वन्धमा यसरी भाव व्यक्त गरिन् ।
मनको घाउ सफलताले धुनुपर्छ भन्छिन् आमा
भित्री ईख बाहिरी मुस्कान हुनुपर्छ भन्छिन् आमा
गल्तीहरु चुनौती हुन् बिचल्लीत नहोउ कहिल्यै ,
उच्च शिखर साहशले नै छुनुपर्छ भन्छिन् आमा ।
यस्तै विन्दामाया तामाङ ओखलढुंगाले पनि फेसबुकमै आमा सम्वन्धमा यसरी भाव व्यक्त गरिन् ।
आमाको प्यार बेच्ने अनि किन्ने कुनै खानदान नभईदियोस
ममता नै उच्छिन्ने त्यत्ती सम्मको अरु वरदान नभईदियोस
सयौं – हजारौं आमाको आँसु झरेको सर्वत्र देखेकी छु मैले
विन्ती छ भगवान आफ्नै आमा नचिन्ने सन्तान नभईदियोस ।
याे मुक्तकिलाे भावले समेत आमाकाे महत्व अमुल्य रहेकाे बताउँछ ।
आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।
आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्।
यसैगरी काठमाडौकी वृन्दा ढुगानाले फेसवुकामा आमाकाे नाममा यसरी मुक्तक राखेकी छन् ।
आफू बरु भोकै बसेर सन्तान अघाउने आमा
मष्तिस्कमा नै पसेर माया सद्भाव जगाउने आमा
सकिंदैन वयान गरेर महिमा अपरम्पार आमाको
आफ्नो चाहना कसेर आफ्ना सजाउने आमा।
आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ।
चितवन भरतपुरकि सरस्वती पौडेलले आमालाई सम्झिएर फेसबुकमा लेखेकी छिन
मनको घाउ बल्झिरहन्छ दुखाइ सानो भएन आमा
आँखा रसाइ रहन्छन कहिल्यै ओभानो भएन आमा
मातातिर्थ औँशीमा मात्र होइन सधैं सधैं शुन्य लाग्छ
बर्षहरु पुराना हुँदै गए तर यो याद पुरानो भएन आमा ।
मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । आमाको पवित्रस्थल भएकाले त्यो स्थानको नाम मातातीर्थ रहेको भनाइ बुढापाकाको छ । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।
स्वस्थानी व्रतकथा अनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतिदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
यसै गरी भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगेका थिए। उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाले। ‘माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो भन्ने अर्काे धार्मिक विश्वास समेत पाइन्छ।
त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने गरिन्छ ।
