मकवानपुर । जाँडरक्सी महोत्सव हास्यव्यङ्ग्य कविता प्रथम भएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उक्त कविता प्रथम भएको हो ।
हेटौंडामा आयोजित कार्यक्रममा भक्तपुरका डिल्लिप्रसाद मुलतिहुनको कविता जाँडरक्सी महोत्सव पहिलो हुँदा मकवानपुरका कवि प्रभास घिमिरेको कविता बाँदर द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता फलानो तेस्रो स्थान प्राप्त गर्यो।
यस्तै कास्कीका कवि संयोग बस्यालको हामी तथा कमल घिमिरेको नेताज्यूलाई स्वागत छ कविताहरू सान्त्वना स्थान प्राप्त गर्यो । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना भएका २ जनाका लागि ३ हजार राशीको पुरस्कार प्रदान गरिएको छ
।
देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचन गराइएको थियो । जसमध्ये ५ जना कविहरू अनुपस्थित रहेका थिए । विषयवस्तु लेखन, हास्यव्यङ्ग्यको प्रयोग तथा वाचन लगायतका विविध विधालाई आधार मानी गरिएको मूल्याङ्कनमा १०० पूर्णाङ्कलाई आधार मानिएको थियो ।
कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलसमेतको उपस्थिती थियो ।
अध्यक्ष सिग्देलले स्थानीय सरकारले बाटोघाटो, स्लाब ढलान, भवन निर्माण मात्र नभई साहित्य सिर्जना, कला, भाषा, शिक्षा आदिको विकासमा जोड दिन शुरु गरेको बताए ।
कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले हास्यव्यङ्ग्य विधा समाजको ऐनाका रूपमा विकास हुनुपर्ने तथा यस्ता प्रतियोगिताहरूले हास्यव्यङ्ग्य लेखनमा हौसला पुग्ने बताए ।
कार्यक्रममा मकवापुरका सर्जकहरूको तर्फबाट सर्जक सञ्जालका संयोजक निमेष निखिल तथा आँचल साहित्य कलाकी अध्यक्ष भावना सापकोटाले सम्पूर्ण साहित्यकारहरूको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालको जिल्ला शाखा मकवानपुर हास्यव्यङ्ग्य सिर्जना, बहस, वाचन तथा प्रतियोगितामार्फत् सक्रिय छ ।
मकवानपुर । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । आजको चन्द्र ग्रहण नाङ्गो आँखाले पनि हेर्न सकिने छ, र बिशेष मानिएको छ ।
विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।
यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिन्छ । चन्द्रग्रहणलाई नांगो आँखाले पनि हेर्न सकिन्छ ।
हेटौंडाको होटलबाट ४ जना बालश्रमिकहरूको उद्वार
Tags: No Comments
मकवानपुर । हेटौंडाको होटलहरूमा बालश्रम गर्दै आएका ४ जना बालबालिकाको उद्वार गरिएको छ ।
सिविन बाल हेल्प लाइन, श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिकालगायतबाट खटिएका प्रतिनिधिहरूले हेटौंडा १० बसपार्क क्षेत्रमा अनुगमन गरि ४ बालबालिकाहरूको उद्धार गरिएका हो । जसमा ३ बालिका र १ बालक छन् ।
बालबालिकाहरूलाई श्रममा लगाउनु गैरकानुनी भए पनि हेटौंडाका होटल व्यवसायीहरूले बलश्रमिक राख्न छाडेका छैनन् । बालश्रमबाट बालबालिका उद्वार गरेपछि पनि अभिभावकहरू जिम्मेवार नबन्ने गरेको पाईएको छ ।
हेटौंडाको होटलहरूको अनुगमन गर्दा बालश्रममा लगाइएको पाइएको हो । बालबालिकाहरूलाई बिद्यालय छुटाएर काममा लगाईएको अवस्थाबाट उनीहरूको उद्वार गरिएको हो
हेटौंडा १० मा रहेको १ डाँफे होटलबाट १५ बर्षिय बालकको उद्वार गरिएको हो । कैलाश गाउँपालिका वार्ड ८ कालिकाटार घर भएका उनी विगत १० महिनादेखि बालश्रमिकको रूपमा कार्यरत थिए ।
स्थानीय बिद्यालयमा कक्षा ५ पढेर छाडेका उनका अभिभावक गाउँमै बस्छन् । उनीहरूलाई होटल संचालक मानमाया थिङले श्रमिकको रूपमा काममा लगाउंदै आएको पाइएको छ । सोही होटलबाट १५ बर्षिया बालिकाको पनि उद्वार गरिएको छ । भिमफेदि गाँउपालिका ६ माण्डु भन्ने ठाउँमा घर भएकी ती बालिका पनि डेड महिनादेखि श्रममा थिइन् ।
यसैगरी हेटौंडा १० बसपार्क मै रहेको धादिङ होटल एण्ड लजबाट १३ बर्षिया बालिकालाई उद्वार गरिएको सिविन बाल हेल्प लाइनले जनाएको छ । धादिङ जिल्ला, रोराङ गाउँपालिका, जरुङ भन्ने ठाउँमा घर भएकी ती बालिका १ महिनादेखि होटलमा श्रमिकको रूपमा कार्यरत थिइन् ।
यसैगरी गण्डकी होटल एण्ड लजबाट १५ बर्षिया बालिकाको उद्वार गरिएको छ । विगत १ महिनादेखि होटलमा काम गर्दै आएको बालिकाले बताइन् । कक्षा ४ पढेर छोडेकी बालिकाले श्रमबाट उद्वार भएपछि स्कुल जाने रहर रहेको बताइन् । उद्वार गरिएका सबै बालबालिकाहरूले पढ्न वातावरण भएमा पढ्ने मनशाय प्रकट गरे ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागू भएको स्थानीय तहको रूपमा घोषणाको तयारीमा रहेको छ । यसै सिलसिलामा होटल अनुगमन गर्दा १० दिन अघि पनि ती बालबालिकालाई बालश्रममा लगाइएको पाएपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाउन एक साताको समय दिइएको थियो ।
प्रशासन, नगरपालिका, श्रम कार्यालय र सिविन समेतको उपस्थितिमा ती होटलका सन्चालकहरूलाई सचेत गराइएको भए पनि उनीहरूले बालश्रमिकबाट काम लिइरहेको पाईएपछी उद्वार गरिएको हो ।
अनुगमन टोलिले हेटौंडा १० को मूनलाइट गेष्टहाउसमा एक साता अघि बालश्रमिक भेटिएपछी अभिभावकको जिम्मेवारीमा पठाउन दिइएको निर्देशन अनुसार हाल बाल श्रमिक नभेटिएको टोलिले बताएको छ ।
यसैगरी महालक्ष्मी इन्जिनियर वर्कसप राममन्दिर नजिक सल्यान जिल्लाको अन्दाजी १६ वर्षिय बालक श्रममा रहेको तर जन्मदता नभएको उमेर एकिन गर्न कठिन भएपछि उमेर एकिन हुने कागजात पेश गर्न एकहप्ता समय दिइएको छ ।
अनुगमन टोलीमा हेटौडा उपमहानगरपालिका बालअधिकार समिति अन्तंगत बालश्रम अनुगमन उपसमितिका सदस्यहरु जिल्ला प्रहरी कार्यालयबाट चुडा कुमारी खड्का, श्रम कार्यालयबाट भीम शर्मा बालहेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवाली, नगर बालमैत्री सहजकर्ता आपना ढुंगाना, सि एस सी नेपालका कल्याणी बस्नेत, जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रतिनिधि, हेटौंडा १० का जनप्रतिनिधि, महिला तथा बालवालिका सरोकार केन्द्र र टाइनी हेन्सका प्रतिनिधिहरुसमेतको उपस्थिति थियो ।
उद्वार गरिएका बालबालिकाहरु हाल बालहेल्पलाइन १०९८ को संरक्षणमा रहेका छन । उनीहरूको काम अवधी, उपलब्ध पारिश्रमिक, बालबालिका माथि दुर्व्यबहार तथा शोषण भए नभएको परामर्श पश्चात जरिवान क्षतिपुर्तिलगायतको कानुनी प्रक्रिया बारे टुङ्गो लगाउन बाँकी छ ।
अनुगमन टोलिमा सहभागी र अन्य सरोकारवाला समेतलाई झिकाएर वास्तविक तथ्यमाथी छलफल गरिने र बालबालिकाहरुलाइ सम्बन्धि अभिभावकको साथ पुनस्थापना गरिने सिविनका प्रबन्धक ज्ञवलिले बताए ।
अभिभावक नै जिम्मेवार नहुदा बालबालिका बालश्रममा पर्ने गरेको बाल हेल्प लाइनकी मनोसामाजिक परामर्शकर्ता सम्झना अधिकारीले बताइन् ।
“हामीले श्रमबाट उद्वार गरेर ल्याएपछि बोलाउदा पनि सम्पर्कमा आउन भ्याउदिन भनेर जवाफ आउँछ” अधिकारीले भनिन् “अभिभावकलाई नै परामर्श आवश्यक छ ।”
उनीहरूलाई आगामी दिनमा अध्ययनको लागि छात्रवृत्ति सहयोग गरिने, अभिभावकलाई आयाअर्जनमा सहयोग गर्ने, बालबालिकालाई पनि अवस्था हेरेर सीप सिकाउने जस्ता पक्षमा पनि सहयोग गरिने ज्ञवलीले बताए ।
बालसंरक्षणको सवालमा सेवा प्रदायकहरुलाई अभिमुखिकरण
Tags: No Comments
मकवानपुर । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डले बालसंरक्षण र मानव बेचबिखन तथा ओसारपसारको अवस्थाको सवालमा सेवा प्रदायकहरुको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा बालबालिका विरुद्धको कसूर, नेपालमा वैकल्पिक हेरचाह अवधारणा, कानूनी प्रावधान र हालको अवस्था बारे प्रस्तुती गरिएको थियो । यसैगरी अपराध पीडित र प्रभावित बालबालिकाको अधिकारहरू सिद्धान्त र कानूनबारे पनि प्रस्तुती गरिएको थियो । नेपालमा पारीवारिक पुनर्मिलन तथा र क्षतिपूर्तिको वर्तमान परिदृश्यबारे पनि कार्यक्रममा प्रस्तुती तथा छलफल गरिएको थियो ।
मकवानपुर जिल्लामा रहेको बालगृह सञ्चालन गरिरहेका, बालबालिकाको क्षेत्रमा कार्य गरिरहेका समाजिक संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रममा अधिवक्ताहरु कपिल अर्याल र सुखदेव सापकोटाले प्रस्तुती गरेका थिए ।
बालगृह सञ्चालकहरुलाई गृह सञ्चालनको लागि न्यूनतम भौतिक पूर्वाधार तथा कानूनी जिम्मेवारीको सवालमा महत्वपूर्ण जानकारी प्राप्त भएको सिविन बाल हेल्प लाइन १०९८ का प्रबन्धक झविन्द्र ज्ञवालीले बताए ।
कार्यक्रममा माइती नेपाल मकवानपुर, मकवानपुर महिला समूह, अस्मिना नेपाल, हिरण्य नेपाल, सिविन बाल हेल्प लाइनलगायत मकवानपुर जिल्लामा जिल्लामा रहेर बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।
सेलर्डले बालसंरक्षण तथा न्यायको लागि बालबालिकाको क्षेत्रमा कानूनी सहयोग तथा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको अधिवक्ता जगन्नाथ सुवेदीले बताए ।
हेटौंडामा विराट ज्ञान महायज्ञ सुरु
Tags: No Comments
मकवानपुर । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको विराट ज्ञान महायज्ञको बुधबारबाट सुरु भएको छ ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिमा महायज्ञको सुरुवात गरिएको हो । महायज्ञको पहिलो दिन कलश यात्रापछि महायज्ञको सुरुवात गरिएको गोरक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले बताए ।
हरेक ५ वर्षको अन्तरालमा बैशाख १ गते नयाँ वर्षबाट सुरु हुने महायज्ञ यो वर्ष बृहष्पति अस्थ भएका कारण बैशाख २० गतेबाट सुरु गरिएको हो । यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा महायज्ञ आयोजना गरिएको थियो ।
पाँचौं संस्करणको रुपमा २०८० बैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि बैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।
महायज्ञ शुभारम्भ समारोहमा बोल्दै पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले विराट् महायज्ञ मौलिकता संरक्षणतर्फको सर्वोत्तम कार्य भएको टिप्पणी गरे। हाम्रो देशको मौलिकता संरक्षण गर्नका लागि आवश्यक परे संविधान संशोधन गर्न पनि ठूला दल तयार हुनुपर्ने उनले बताए । “संविधानलाई संशोधन गरेन भने कुरूप हुन्छ, मौलिकता संरक्षणका लागि आवश्यक प-यो भने संविधान संशोधन पनि गर्नुपर्छ” उनले भने । यसका लागि प्रचण्ड, देउवा, ओलीसहितका सबै नेताहरूलाई उनले अनुरोध गर्दै भने “मौलिकता संरक्षणका लागि एकमुख हुनुहोस् ।”

कार्यक्रमका राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरू नेपाललाई बैदिक धर्मसहितको धार्मिक राष्ट्र बनाउन कम्मर कसेर लागेको उल्लेख गर्दै सबैलाई साथ दिन अपिल गरे । यस्तै मकवानपुर १ बाट निर्वाचित राप्रपाका संघीय सांसद दीपकबहादुर सिंहले धर्म, परम्परा, संस्कार र रीतिरिवाजलाई बेवास्ता गरेर कुनै पनि मुलुक अघि बढ्न नसक्ने बताए।
उनले धर्मसंस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे। राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारीले राजनीतिभन्दा धर्मको क्षेत्र फराकिलो हुने तर्क गरे । महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले धार्मिक र अध्यात्मिक जागरणका लागि पञ्चवर्षीय महायज्ञ आयोजना गरिएको बताए। ‘
समितिका अनुसार महायज्ञमा पितृको सम्झनामा करोडौँ दीप प्रज्वलन गर्नुका साथै महाआरती एवं महिलाबीच मात्रै गीता वाचन प्रतियोगिता पनि गरिनेछ ।

महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुनेछ ।
महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु, सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय÷ अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायीलगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।
पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह समेत उनले गरे ।
महायज्ञ हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा बैशाख २० देखि २६ गतेसम्म आयोजना हुनेछ । बुधबारको खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा गरिएको थियो ।
बैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।

बैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।
बैशाख २३ गते बिहान सबैकार्य पुर्ववत दिवकार्य पुर्ववत् अपरान्ह ३ बजे विश्वशान्तिको कामना सहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।
त्यसैगरी, बैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे ब्रतवन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।
बैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन बैशाख २६ गते बिहान ७ बजे कथावाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए । तस्बिर: पत्रकारहरु निशा गुरुङ र मनिता राना
