मकवानपुर । हेटौंडाको होटलहरूमा बालश्रम गर्दै आएका ४ जना बालबालिकाको उद्वार गरिएको छ ।
सिविन बाल हेल्प लाइन, श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिकालगायतबाट खटिएका प्रतिनिधिहरूले हेटौंडा १० बसपार्क क्षेत्रमा अनुगमन गरि ४ बालबालिकाहरूको उद्धार गरिएका हो । जसमा ३ बालिका र १ बालक छन् ।
बालबालिकाहरूलाई श्रममा लगाउनु गैरकानुनी भए पनि हेटौंडाका होटल व्यवसायीहरूले बलश्रमिक राख्न छाडेका छैनन् । बालश्रमबाट बालबालिका उद्वार गरेपछि पनि अभिभावकहरू जिम्मेवार नबन्ने गरेको पाईएको छ ।
हेटौंडाको होटलहरूको अनुगमन गर्दा बालश्रममा लगाइएको पाइएको हो । बालबालिकाहरूलाई बिद्यालय छुटाएर काममा लगाईएको अवस्थाबाट उनीहरूको उद्वार गरिएको हो
हेटौंडा १० मा रहेको १ डाँफे होटलबाट १५ बर्षिय बालकको उद्वार गरिएको हो । कैलाश गाउँपालिका वार्ड ८ कालिकाटार घर भएका उनी विगत १० महिनादेखि बालश्रमिकको रूपमा कार्यरत थिए ।
स्थानीय बिद्यालयमा कक्षा ५ पढेर छाडेका उनका अभिभावक गाउँमै बस्छन् । उनीहरूलाई होटल संचालक मानमाया थिङले श्रमिकको रूपमा काममा लगाउंदै आएको पाइएको छ । सोही होटलबाट १५ बर्षिया बालिकाको पनि उद्वार गरिएको छ । भिमफेदि गाँउपालिका ६ माण्डु भन्ने ठाउँमा घर भएकी ती बालिका पनि डेड महिनादेखि श्रममा थिइन् ।
यसैगरी हेटौंडा १० बसपार्क मै रहेको धादिङ होटल एण्ड लजबाट १३ बर्षिया बालिकालाई उद्वार गरिएको सिविन बाल हेल्प लाइनले जनाएको छ । धादिङ जिल्ला, रोराङ गाउँपालिका, जरुङ भन्ने ठाउँमा घर भएकी ती बालिका १ महिनादेखि होटलमा श्रमिकको रूपमा कार्यरत थिइन् ।
यसैगरी गण्डकी होटल एण्ड लजबाट १५ बर्षिया बालिकाको उद्वार गरिएको छ । विगत १ महिनादेखि होटलमा काम गर्दै आएको बालिकाले बताइन् । कक्षा ४ पढेर छोडेकी बालिकाले श्रमबाट उद्वार भएपछि स्कुल जाने रहर रहेको बताइन् । उद्वार गरिएका सबै बालबालिकाहरूले पढ्न वातावरण भएमा पढ्ने मनशाय प्रकट गरे ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागू भएको स्थानीय तहको रूपमा घोषणाको तयारीमा रहेको छ । यसै सिलसिलामा होटल अनुगमन गर्दा १० दिन अघि पनि ती बालबालिकालाई बालश्रममा लगाइएको पाएपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाउन एक साताको समय दिइएको थियो ।
प्रशासन, नगरपालिका, श्रम कार्यालय र सिविन समेतको उपस्थितिमा ती होटलका सन्चालकहरूलाई सचेत गराइएको भए पनि उनीहरूले बालश्रमिकबाट काम लिइरहेको पाईएपछी उद्वार गरिएको हो ।
अनुगमन टोलिले हेटौंडा १० को मूनलाइट गेष्टहाउसमा एक साता अघि बालश्रमिक भेटिएपछी अभिभावकको जिम्मेवारीमा पठाउन दिइएको निर्देशन अनुसार हाल बाल श्रमिक नभेटिएको टोलिले बताएको छ ।
यसैगरी महालक्ष्मी इन्जिनियर वर्कसप राममन्दिर नजिक सल्यान जिल्लाको अन्दाजी १६ वर्षिय बालक श्रममा रहेको तर जन्मदता नभएको उमेर एकिन गर्न कठिन भएपछि उमेर एकिन हुने कागजात पेश गर्न एकहप्ता समय दिइएको छ ।
अनुगमन टोलीमा हेटौडा उपमहानगरपालिका बालअधिकार समिति अन्तंगत बालश्रम अनुगमन उपसमितिका सदस्यहरु जिल्ला प्रहरी कार्यालयबाट चुडा कुमारी खड्का, श्रम कार्यालयबाट भीम शर्मा बालहेल्पलाइनका प्रबन्धक झबिन्द्र ज्ञवाली, नगर बालमैत्री सहजकर्ता आपना ढुंगाना, सि एस सी नेपालका कल्याणी बस्नेत, जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रतिनिधि, हेटौंडा १० का जनप्रतिनिधि, महिला तथा बालवालिका सरोकार केन्द्र र टाइनी हेन्सका प्रतिनिधिहरुसमेतको उपस्थिति थियो ।
उद्वार गरिएका बालबालिकाहरु हाल बालहेल्पलाइन १०९८ को संरक्षणमा रहेका छन । उनीहरूको काम अवधी, उपलब्ध पारिश्रमिक, बालबालिका माथि दुर्व्यबहार तथा शोषण भए नभएको परामर्श पश्चात जरिवान क्षतिपुर्तिलगायतको कानुनी प्रक्रिया बारे टुङ्गो लगाउन बाँकी छ ।
अनुगमन टोलिमा सहभागी र अन्य सरोकारवाला समेतलाई झिकाएर वास्तविक तथ्यमाथी छलफल गरिने र बालबालिकाहरुलाइ सम्बन्धि अभिभावकको साथ पुनस्थापना गरिने सिविनका प्रबन्धक ज्ञवलिले बताए ।
अभिभावक नै जिम्मेवार नहुदा बालबालिका बालश्रममा पर्ने गरेको बाल हेल्प लाइनकी मनोसामाजिक परामर्शकर्ता सम्झना अधिकारीले बताइन् ।
“हामीले श्रमबाट उद्वार गरेर ल्याएपछि बोलाउदा पनि सम्पर्कमा आउन भ्याउदिन भनेर जवाफ आउँछ” अधिकारीले भनिन् “अभिभावकलाई नै परामर्श आवश्यक छ ।”
उनीहरूलाई आगामी दिनमा अध्ययनको लागि छात्रवृत्ति सहयोग गरिने, अभिभावकलाई आयाअर्जनमा सहयोग गर्ने, बालबालिकालाई पनि अवस्था हेरेर सीप सिकाउने जस्ता पक्षमा पनि सहयोग गरिने ज्ञवलीले बताए ।

