मकवानपुर । बागमती प्रदेश सभाकाे दाेस्राे अधिवेशन सुरु भएकाे छ । मंगलबार सभाकाे दाेस्राे अधिबेशनकाे पहिलाे बैठक शुन्य समयमात्र संचालन भएर स्थगित भएकाे छ । बिशेष समय नरहेकाे मंगलबारकाे प्रदेश सभा बैठक विशेष समयमा प्रवेश नै नगरी बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबारकाे प्रदेश सभा बैठकमा सभामुख सानु कुमार पाठकले प्रदेश प्रमुखकाे कार्यालयबाट प्राप्त विधेयक फिर्ता र सन्देशको पत्र तथा प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस लगतै सभामुख पाठकले बैठकमा विशेष समय नरहेको जानकारी गराउँदै शुन्य समयको प्रारम्भ गरेका थिए । संसदमा शुन्य समयमा सांसदहरुले देशकाे जल्दाेबल्दाे समस्याका बारेमा आफ्नाे धारणा राख्ने गर्दछन् ।
मंगलबारकाे प्रदेश सभाकाे शुन्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले राष्ट्रिय सरोकारको साथै बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई समय मै सरकारको तर्फबाट निगरानी र उद्दार कार्यको लागि सजकता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।सभामा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले, नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन प्रसाद पौडेल, राप्रसा संसदीय दलका नेता उद्धब थापा, बागमती प्रदेश नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्र राज बज्राचार्यल लगायतले धारणा व्यक्त गरेका थिए ।
प्रदेश सरकारले जनताको लागि पूर्वाधार विकास, आर्थिक समृद्धिलाई अग्रसर तुल्याउन जनमुखी कार्यक्रम ल्याउनुपर्ने सु्झाव दिएका थिए । उनीहरुले प्रदेशको सबै जिल्लाहरुलाई सदरमुकामसम्म जोड्ने सडक सञ्जाल, खानेपानी, विद्युतको विस्तार र स्वास्थ्य उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेटलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।
उनीहरुले प्रदेशमा सुशासन ल्याउन र बढ्दै गएको भ्रष्टाचारलाई न्यूनिकरण गर्नका लागि सबै राजनीतिक दलहरुमा दलगत स्वार्थ त्यागेर कठोर कलम चाल्न आग्रह गरे । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जुनसुकै दलका नेता भएपनि कानूनी कठघरामा उभिनु पर्ने बताउँदै सांसदहरुले त्यस्ता व्यक्तिहरुलाई राजनीतिक दलका उच्च नेताहरुले संरक्षण दिन नहुनेतर्फ सबैले आत्मसमिक्षा गर्नुपर्ने समय आएको स्पष्ट पारेका थिए ।
प्रदेश सरकारले प्रदेशको सबै जिल्लामा सुशासनलाई कार्यान्वयन गर्न र जनतालाई आधारभुत रुपमा विकासको पूर्वाधार, प्रत्यक्ष रोजगारीको अवसर, उच्च शिक्षा र गुणस्तरीय शिक्षालाई प्रभावकारी रुपमा परिचालन गर्ने गरी बजेट ल्याउनुपर्ने उनीहरुले माग गरे ।

यस्तै, बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमुलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।
उनले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए । उक्त बैठकमा उनले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरे । उक्त विधेयकमाथि अर्काे बैठकमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सभाकाे शुन्य समयमा सभाका सदस्यहरुले धारणा राखे पछि प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको दोस्राे अधिवेशनकाे दाेस्राे बैठक जेष्ठ १० गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।
मकवानपुर । विश्वकप क्रिकेटको छनोटका १ दिवसीय खेलहरु असार ३ गतेदेखि हुने भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
गत चैत २ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष तीनमा रहेको नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।
सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।
प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका छ ।
नेपाल रहेको समूह ए मा सुपर लिगमा अन्तिम पाँचभित्र परेका वेष्ट इण्डिज, जिम्म्बावे र नेदरल्याण्ड्स छन् । अमेरिका प्लेअफबाट छानिएको टिम हो ।
मकवानपुर । मकवानपुरको भिमफेदीमा रहेको कारागारका ३० जना बन्दीहरु अज्ञात रोगबाट बिरामी परेका छन् ।
आज सोमबार २९ जना कैदीबन्दी एकैपटक बिरामी परेको कारागार स्रोतले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।
कारागार प्रशासक पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो । दिनभर बिरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा हामीले कारागारमै उपचार गरिरहेको पौडेलले बताए भने ।
प्रशासक पौडेलका अनुसार २ जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी अहिले कैदीबन्दीको उपचार गरिरहेका छन् । ‘केही कैदीबन्दीले मानिस नै नचिनेको प्रतिकृया दिइपछि थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागेको उनले बताए ।
उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको हुनसक्ने बताइएको छ । विषाक्त खानाको कारण बिरामी भएको आशंकामा स्वास्थ्य परिक्षण गर्दा यस्तो नकारात्मक नतिजा नआएको पौडेलले बताए ।
ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले कैदिबन्दी बिरामी भएको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
विभिन्न मितिमा सजाय तोकी कारागारमा रहेको विभिन्न मुद्दाका २९ जना कैदिबन्दीहरुलाई अचानक झाडा पखला लागी बिरामी भएकोले निजहरुको सोही कारागारमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ जना डक्टर, ४ जना सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदी मकवानपुरबाट १ जना डक्टर, ४ जना सहयोगी गरी जम्मा ११ जनाको टोलीले आवश्यक औषधी सहित खटीएर सबै बिरामीलाई स्लाइन पानी दिई उपचार गराई रहेको इप्रका भिमफेदीले जनाएको छ । कारागारमा हाल ११०८ जना कैदीबन्दी रहेका छन् ।
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म पानी महशुल विलिङ रकमबाट ९७.२६ प्रतिशत रकम उठाउन सफल भएको छ ।
बोर्डले ९ करोड ८० लाख ९२ हजार मध्येमा ९ करोड ५४ लाख ११ हजार बिलिड्ड उठाउन सफल भएको हो । उपभोक्तालाई पानी वितरणको लागि बोर्डले उपभोक्तासंगको सहकार्यमा २६ लाख ४२ हजार ५०४ बराबरको २२ हजार ३३६ मिटर पाइप लाइन विस्तार गरिएको छ । बोर्डको सेवा क्षेत्र भित्र ४ लाख ३८ हजार रुपैयाँ बराबरको ३ हजार ८६ मिटर जिर्ण पाइप परिवर्तन गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले बताए ।
बोर्डको सेवा क्षेत्रभन्दा बाहिर हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा २८ लाख ३६ हजार ४५४ रुपैयाँ बराबरको ५१ हजार ९२० मिटर पाइप उपलब्ध गराइएको छ । हाल बोर्डले हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नं २,४,५,६,७, ८,९,१० गरी ८ वटा वडाको सबै भु-भाग र वडा नं. १, १४, १५, १६, १७, १८ र १९ का केही भु—भागहरुमा बसोबास गर्ने करिब १ लाख ५५ हजार नगर बासीहरुलाई दैनिक १ करोड ८८ लाख लिटर पानी उत्पादन गर्दै आएको छ । करिब २३ हजार ५ सय धाराहरुबाट सरदर दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको निमित्त कार्यकारी निर्देशक सापकोटाले बताए ।
हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई राहत दिने उद्देश्यले २०७९ साल भदौ महिनादेखि न्यूनतम खानेपानी महशुलमा १० हजार लिटर पानीका छुटको व्यवस्था गरेसंगै खानेपानी बोर्डमा उपभोक्ता समितिहरु हस्तान्तरण हुने क्रमले तिब्रता पाएको छ । हालसम्म बोर्डमा हेटौंडा वडा नंं. १० मा अवस्थित न्युरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हेटौंडा १८ हर्नामाडीको हर्नामाडी डिप बोरिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौंडा वडा नं. ६ को कल्याणटार खड्कुले खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा आबद्ध भईसकेका छन् ।
बोर्डबाट उठाउन बाँकी पानी महशुल रकम ४६ लाख रहेको लेखा प्रमुख संजय न्यौपानेले बताए । चालु आवमा हेटौंडा उपमहानगरपालिकाले खानेपानीको पाइप खरिदको लागि ८३ लाख ८७ हजार उपलब्ध गराएको न्यौपानेले बताए ।

यसैबिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दशौं वार्षिकोत्सवको विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मेयर मिनाकुमारी लामाले जनतालाई स्वच्छ पानी पिउने अधिकारको सम्मानमा सधै लागि परेको बताइन् ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय सचिव, हेटौंडा उपमहानगरपालिकाका २ जना सहित १४ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । वार्षिक उत्सव विशेष कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले सन् २०३० सम्म सबकौ लागि प्रर्याप्त मात्रामा खानेपानी उपलब्ध गराउन बोर्ड योजनाबद्ध ढंगले अघि बढीरहेको बताए ।

मकवानपुर । मकवानपुरकाे हेटौडा स्थित राप्ती खाेलामा विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशन गरिएकाे छ । बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरण पूर्व तयारीकाे लागि सशस्त्र प्रहरी वल नेपाल नं १४ गण मकवानपुरले डेमो प्रर्दशन गरेको हाे ।
सोमबार सशस्त्र प्रहरी वल नेपाल नं १४ गणले हेटौडा ११ स्थित राप्तीखोलामा विपदले पुन्याउने क्षतिलाई न्यूनिकरण गर्ने जल विपद उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरेकाे थियाे । प्रकोप पश्चात उद्धार सुरक्षकर्मीहरुको भूमिका र सूचना प्रबाहमा ध्यान दिनेलगायतका अभ्यास सशस्त्र प्रहरीद्वारा प्रस्तुत गरिएको थियो ।
डेमाे प्रर्दशनमा हेटौडा उपमहानगरपालीकाका मेयर मिना कुमारी लामाले विपद्को बेलामा हतोत्साहित नभईकन स्थानिय श्रोत साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफू सुरक्षित रहनुका साथै अन्य व्यक्तिहरुलाई समेत सुरक्षित गराउन सकिने बताइन । विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशनबाट व्यक्ति तथा समुदायलाई यस्ता अभ्यासहरुले चेतना फैलाउने उनले बताइन् । मेयर लामाले बिपदबाट सुरक्षित बनाउन सामाग्रीहरु खरिदका लागि उपमहानगरले थालनी गरिसकेको बताउदै बिपद आउनुपुर्वनै यसबाट सचेत रहन नागरिकहरुलाई आग्रह समेत गरिन । सशस्त्र प्रहरी बलले हेटौडामा बिभिन्न समयमा आईपरेका बिपदका घट्नामा खेलेको भूमिकाबारे प्रसंसा गर्दै उपमहानगर हरेक कार्यमा सहयोग गर्न तत्पर रहेकाे उनले बताइन् ।
यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिब धुर्व गैडाले सशस्त्र प्रहरीद्वारा सचेतनाका लागि बिपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधनकाे कम क्षति हुने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बिपदका बेला सबैभन्दा पहिला मानवीय क्षतिबाट बच्ने उपायहरु अबलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताए । जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिन तर्फ लाग्नु पर्ने पाण्डेले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भूकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानविय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको जानकारी दिए । ‘नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण जनधनको क्षति हुने गरेको छ’ गणपती कार्कीले भने– ‘कुनै पनि विपद् र विपद्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालीम प्राप्त दक्ष जनशक्ति उत्पादनका यस्ता कार्यक्रम आयोजना गरिएकाे हाे ।’ कार्कीले विभिन्न किसिमका प्रकोपबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरीएको बताए ।
अभ्यासमा उद्वारकहरुले पानी जन्य विपदबाट बच्नको लागि स्थानीय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । विपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिने,घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगाएतका प्रयोगहरु देखाईएको थियो ।
कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपति गोविन्दराज घिमिरे,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतम, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल, हेटाैडा उपमहनागरपालिकाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु,विभिन्न स्कुलका शिक्षक एवं विद्यार्थीहरु तथा स्थानीयहरुले विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशन अवलोकनमा सहभागी थिए । ।
