मकवानपुर । मकवानपुरकाे हेटौडा स्थित राप्ती खाेलामा विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशन गरिएकाे छ । बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरण पूर्व तयारीकाे लागि सशस्त्र प्रहरी वल नेपाल नं १४ गण मकवानपुरले डेमो प्रर्दशन गरेको हाे ।
सोमबार सशस्त्र प्रहरी वल नेपाल नं १४ गणले हेटौडा ११ स्थित राप्तीखोलामा विपदले पुन्याउने क्षतिलाई न्यूनिकरण गर्ने जल विपद उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरेकाे थियाे । प्रकोप पश्चात उद्धार सुरक्षकर्मीहरुको भूमिका र सूचना प्रबाहमा ध्यान दिनेलगायतका अभ्यास सशस्त्र प्रहरीद्वारा प्रस्तुत गरिएको थियो ।
डेमाे प्रर्दशनमा हेटौडा उपमहानगरपालीकाका मेयर मिना कुमारी लामाले विपद्को बेलामा हतोत्साहित नभईकन स्थानिय श्रोत साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफू सुरक्षित रहनुका साथै अन्य व्यक्तिहरुलाई समेत सुरक्षित गराउन सकिने बताइन । विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशनबाट व्यक्ति तथा समुदायलाई यस्ता अभ्यासहरुले चेतना फैलाउने उनले बताइन् । मेयर लामाले बिपदबाट सुरक्षित बनाउन सामाग्रीहरु खरिदका लागि उपमहानगरले थालनी गरिसकेको बताउदै बिपद आउनुपुर्वनै यसबाट सचेत रहन नागरिकहरुलाई आग्रह समेत गरिन । सशस्त्र प्रहरी बलले हेटौडामा बिभिन्न समयमा आईपरेका बिपदका घट्नामा खेलेको भूमिकाबारे प्रसंसा गर्दै उपमहानगर हरेक कार्यमा सहयोग गर्न तत्पर रहेकाे उनले बताइन् ।
यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिब धुर्व गैडाले सशस्त्र प्रहरीद्वारा सचेतनाका लागि बिपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधनकाे कम क्षति हुने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बिपदका बेला सबैभन्दा पहिला मानवीय क्षतिबाट बच्ने उपायहरु अबलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताए । जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिन तर्फ लाग्नु पर्ने पाण्डेले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भूकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानविय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको जानकारी दिए । ‘नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण जनधनको क्षति हुने गरेको छ’ गणपती कार्कीले भने– ‘कुनै पनि विपद् र विपद्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालीम प्राप्त दक्ष जनशक्ति उत्पादनका यस्ता कार्यक्रम आयोजना गरिएकाे हाे ।’ कार्कीले विभिन्न किसिमका प्रकोपबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरीएको बताए ।
अभ्यासमा उद्वारकहरुले पानी जन्य विपदबाट बच्नको लागि स्थानीय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । विपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिने,घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगाएतका प्रयोगहरु देखाईएको थियो ।
कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपति गोविन्दराज घिमिरे,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतम, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल, हेटाैडा उपमहनागरपालिकाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु,विभिन्न स्कुलका शिक्षक एवं विद्यार्थीहरु तथा स्थानीयहरुले विपद न्यूनिकरण पूर्व तयारीको डेमो प्रर्दशन अवलोकनमा सहभागी थिए । ।

