मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना महिलालाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तरगत बुधबार ६ जना महिला चेलीलाई सम्मान गरेको हो ।
पालिकाले कैलाश ६ की संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० का सरुया प्रजा र उर्मिला थिङ र कैलाश २ कि लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद २० हजार र सम्मानपत्र सहित सम्मान गरेका हुन् । ‘विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको हाे’ गाउँपालिका अध्यक्ष मुक्तान भने– ‘चेली सम्मान देशभरका स्थानीय तहहरुमध्ये पृथक कार्यक्रमको सुरुवात गरेका छाैं ।’
पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएकाे यो कार्यक्रमले “गाउँघरमा छोरीलाई वालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएकाे अध्यक्ष मुक्तानले बताए ।
सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष ठकुरीले आगामी वर्षबाट कार्यक्रमलाई अझै बृहत रुपमा विस्तार गरिदै लगिने बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्टले वालविवाह अन्त्यका लागि पालिकाले चेली सम्मान सहित अन्य कार्यक्रम समेत गर्दै आएकाे जानकारी दिए ।
गाउँपालिका सामाजिक बिकास समिति संयोजक राजेन्द्र घिसिङले यो बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । सम्मानित चेलीहरुले गाउँपालिकाले प्रोत्साहन कार्यक्रम मार्फत सम्मान गरेकोमा आफूहरु उत्साहित भएकाे र सामाजिक समस्याको रुपमा रहेको वालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा लाग्न उर्जा मिलेको बताएका छन् ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम सहित विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलबाट उनिहरु सेमिफाइनल पुगे पनि आधिकारिकत घोषणा भने उक्त टिमहरु बिचको विहीबारको खेल पछि हुनेछ ।
मकवानपुर जिल्ला भलिबल टिम, झापाको पाथीभरा टाइगर भलिबल क्लब र स्याङ्जाको वालिङ भलिबल क्लब भने समूह चरणबाटै बाहिरिएको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलाले जनाकारी दिए ।
एउटै समूहमा रहेको आर्मी र गण्डकी समूह चरणको दुबै खेल जितेर सेमीफाइनल प्रवेश गरेको हो । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार बिहान भएको पहिलो खेलमा त्रिभुवन आर्मीले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।
मंगलबार भएको पहिलो खेलमा मकवानपुरलाई हराएको गण्डकीले बुधबारकाे खेलमा वालिङलाई ३–१ सेटले हराएको हो । गण्डकीले पहिलो र दोस्रो सेट जित्दा तेस्रो सेटमा हार व्यहोर्नुपर्यो । चौथो सेटमा सफलता संगै गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनलमा स्थान बनाएको हो । प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो भएको पहिलो खेलमा झापाको पाथिभरा टाइगर भलिबल क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । नेपाल पुलिसले पाथीभरालाई सोझो सेटमा पराजित गरेको हो ।

बुधबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो । विहीबार पहिलो खेल मकवानपुर र वालिङबीच खेल हुनेछ भने दोस्रो खेलमा सशस्त्र प्रहरी र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर र वालिङ बीचको खेल प्रतिष्ठाका लागि र सशस्त्र प्रहरी र नेपाल पुलिसबीचको खेल समूह चरणको विजेता र उपविजेता घोषणको लागि हुने सिटौलाले बताए । विहीबारको अन्तिम खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशको भलिबल टिमबीचको खेल पनि समूहको विजेता र उपविजेता छिनोफानो र सेमीफाइनल समीकरण पूराको लागि महत्वपूर्ण रहने अध्यक्ष सिटौलाले बताए ।
केशबलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठान मकवानपुर र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद २ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद १ लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५०/५० हजार हात पार्ने संघ अध्यक्ष सिटौलाले जानकारी दिए । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद ५/५ हजार प्राप्त गर्ने सिटौलाले बताए ।

अध्यक्ष सिटौलाका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहेकाे छ ।
प्रतियोगितामा करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनमा हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले सहयोग रहेकाे आयोजकले जनाएको छ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइएकाे छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउँदै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधसभाकाे अघिल्लाे कार्यकालमा पारित भई राष्ट्रपति कार्यालयमा धन्किएर बसेकाे विधेयकलाई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभामा छलफल नै नगराई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको आराेप अनेरास्ववियुकाे छ । हेटौँडाको बुद्धचोकमा अनेरास्ववियुले कोँणासभा गर्दै शान्तिका दूत भगवान बुद्धको प्रतिमा सामुन्ने देशका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको हो ।
भारतले नयाँ संसदमा नेपालको भूभाग समेटेर नक्सा बनाउँदासमेत सरकार चुप लागेको र भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर भारतलाई खुसी पार्ने नाममा राष्ट्रघाती काम गरेकोले पुत्ला जलाइएको अनेरास्ववियु मकवानपुरले जनाएकाे छ । पुत्ला दहन पछि कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु सचिव पुष्कर तिमल्सिनाले तिमल्सिनाले सरकारलाई दलालको संज्ञा दिँदै राष्ट्रघाती काम गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई कुनै बहानामा माफी दिन समेत नमिल्ने बताए ।
राजनीतिक आवरणमा टिकापुर हत्याकाण्ड गराएका रेशम चौधरीको रिहाइले जघन्य अपराधमा सरकारले प्रश्रय दिने काम गरेको उनको आरोप छ । सत्तामा रहेका नेताहरूले मुलुकविरुद्ध निरन्तर षडयन्त्र गरिरहेकोले अनेरास्ववियु चुपलागेर नबस्ने उनले चेतावनी दिए ।
राष्ट्रपति पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गर्नु अघी उनीहरुले राँके जुलुस पनि निकालेका छन् ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बुधबारकाे बैठकबाट संंकल्प प्रस्ताव प्रदेश सभा नियमावलीको नियम निलम्बन प्रस्ताव पारित भएकाे छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
यसै गरी प्रदेश सभा बैठकमा भारतले नेपालका भू–भाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेश सभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए । बुधबारकाे बैठकमा पेश गरिएकाे नियम निलम्बन तथा संकल्प प्रस्ताव प्रदेश सभाले स्वीकृत गरेकाे ।
भारतले नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका भू–भाग समेटेर नक्सा सार्वजिनक गरेकाेमा सामाजिक संजालमा समेत विराेध भएकाे थियाे । पौडेलले संकल्प प्रस्ताव पेश गर्दै नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेकोले भारतले सार्वजनिक गरेकाे उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए । सभामा पेश गरिएकाे संकल्प प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।
पौडेलले पेश गरेको संकल्प प्रस्ताव प्रदेश सभामा सबै दलले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावलाई दलगत रुपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।
यसैगरी आजकाे बैठकमा गत जेठ गते प्रदेश प्रमुखबाट पेश गरिएकाे आर्थिक वर्ष २०८०।२०८१ काे प्रदेशकाे नीति तथा कार्यक्रममा छलफल भएकाे छ । बैठकमा विभिन्न दलका सांसदहरुले आआफ्नाे धारणा राखेका थिए । नीति तथा कार्यक्रम माथिकाे छलफल नसकिएकाेले सभाका उप सभामुख चापागाईंले विहीबार विहान १०:३० बजे बस्ने वैठकमा छलफल हुने गरी आजकाे बैठक स्थगित भएकाे जानकारी दिइन् ।
मकवानपुर । संघीय सरकारले स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैँया वित्तीय हस्तान्तरण बापतकाे रकम उपलब्ध गराउने भएकाे छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने भएकाे हाे ।
जेठ १५ गतेकाे संघीय संसदमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।०८१ काे बजेट प्रस्तुत गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी चार शीर्षकमा ७ सय ५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापतकाे उक्त रकम उपलब्ध गराइने बताएका हुन् ।
वित्तीय हस्तान्तरण मार्फत मकवानपुरकाे १० वटै स्थानीय तहले रकम प्राप्त गरेकाेमा जिल्लाकाे सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले रकम प्राप्त गरेको छ । सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले कम रकम प्राप्त गरेको छ । हेटौंडा उपमहानगरपालिका १ अर्ब १४ कराेड ५० लाख रकम वित्तिय हस्तान्तरण मार्फत प्राप्त गर्दा बकैया गाउँपालिकाले ४६ कराेड रकम प्राप्त गर्ने भएकाे छ ।
यसैगरी जिल्लाकाे थाहा नगरपालिका ४५ कराेड ४ लाख, मकवानपुरगढी गाउँपालिकाले ३६ कराेड ३८ लाख, बागमती गाउँपालिकाले ३५ कराेड १४ लाख, भीमफेदी गाउँपालिकाले ३४ कराेड ४६ लाख, मनहरी गाउँपालिकाले ३४ करोड २३ लाख, राक्सिराङ गाउँपालिका ३२ करोड १५ लाख, कैलाश गाउँपालिकाले २८ कराेड ३२ लाख, ईन्द्रसराेवर गाउँपालिकाले २३ कराेड ३६ लाख, रकम वित्तीय हस्तान्तरणमा प्राप्त गर्ने भएका छन् ।
कर्णाली प्रदेशलाई सवैभन्दा बढी अनुदान रकम
यसैगरी संघीय सरकारले सातवटै प्रदेशलाई १ खर्ब पाँच अर्ब ६ करोड ६८ लाख रुपैयाँ अनुदान रकम विनियोजन गरेको छ । कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई उक्त रकम विनियोजन गरेको हो ।
जसमा सबैभन्दा बढी अनुदान रकम कर्णाली प्रदेशलका लागि छुट्याएको छ । कर्णालीलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारले १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, दोस्रोमा कोसी प्रदेशलाई १६ अर्ब ११ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै बगमती प्रदेशलाई १५ अर्ब ८१ करोड २३ लाख, लुम्बिनी प्रदेशलाई १५ अर्ब ३८ करोड ४२ लाख विनियोजन भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशलाई १४ अर्ब ४२ करोड १९ लाख, र गण्डकी प्रदेशलाई १३ अर्ब ६० करोड ४० लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ । सबैभन्दा कम मधेस प्रदेशलाई १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ अनुदान रकम विनियोजन भएको छ । संघीय सरकारले समानीकरण अनुदान शीर्षकमा प्रदेशहरूलाई ५८ अर्ब ६६ करोड ७५ लाख, सशर्त अनुदान शीर्षकमा ३५ अर्ब ७१ करोड ९८ लाख, विशेष अनुदान शीर्षकमा चार अर्ब ४५ करोड ७९ लाख र समपुरक अनुदान शीर्षकमा ३१ अर्ब ४८ लाख १५ लाख रुपैयाँँ विनियोजन गरेको हाे ।
