मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम सहित विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलबाट उनिहरु सेमिफाइनल पुगे पनि आधिकारिकत घोषणा भने उक्त टिमहरु बिचको विहीबारको खेल पछि हुनेछ ।
मकवानपुर जिल्ला भलिबल टिम, झापाको पाथीभरा टाइगर भलिबल क्लब र स्याङ्जाको वालिङ भलिबल क्लब भने समूह चरणबाटै बाहिरिएको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौलाले जनाकारी दिए ।
एउटै समूहमा रहेको आर्मी र गण्डकी समूह चरणको दुबै खेल जितेर सेमीफाइनल प्रवेश गरेको हो । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार बिहान भएको पहिलो खेलमा त्रिभुवन आर्मीले मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।
मंगलबार भएको पहिलो खेलमा मकवानपुरलाई हराएको गण्डकीले बुधबारकाे खेलमा वालिङलाई ३–१ सेटले हराएको हो । गण्डकीले पहिलो र दोस्रो सेट जित्दा तेस्रो सेटमा हार व्यहोर्नुपर्यो । चौथो सेटमा सफलता संगै गण्डकी प्रदेशको भलिबल टिम सेमीफाइनलमा स्थान बनाएको हो । प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो भएको पहिलो खेलमा झापाको पाथिभरा टाइगर भलिबल क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । नेपाल पुलिसले पाथीभरालाई सोझो सेटमा पराजित गरेको हो ।

बुधबार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो । विहीबार पहिलो खेल मकवानपुर र वालिङबीच खेल हुनेछ भने दोस्रो खेलमा सशस्त्र प्रहरी र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ ।
मकवानपुर र वालिङ बीचको खेल प्रतिष्ठाका लागि र सशस्त्र प्रहरी र नेपाल पुलिसबीचको खेल समूह चरणको विजेता र उपविजेता घोषणको लागि हुने सिटौलाले बताए । विहीबारको अन्तिम खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशको भलिबल टिमबीचको खेल पनि समूहको विजेता र उपविजेता छिनोफानो र सेमीफाइनल समीकरण पूराको लागि महत्वपूर्ण रहने अध्यक्ष सिटौलाले बताए ।
केशबलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठान मकवानपुर र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद २ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद १ लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५०/५० हजार हात पार्ने संघ अध्यक्ष सिटौलाले जानकारी दिए । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद ५/५ हजार प्राप्त गर्ने सिटौलाले बताए ।

अध्यक्ष सिटौलाका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहेकाे छ ।
प्रतियोगितामा करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनमा हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले सहयोग रहेकाे आयोजकले जनाएको छ।

