मकवानपुर । न्यूनतम सेवा मापदण्डको आधारमा मकवानपुर जिल्लाको ४ वटा स्वास्थ्य संस्था उत्कृष्ट भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले गरेकाे स्थलगत अवलोकन र मूल्यांकनको आधारमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट भएका हुन् ।
जिल्लाको थाहा नगरपालिकाको बज्रबारही स्वास्थ्य चौकी पहिलाे भएकाे छ । स्थलगत अवलोकन र मूल्यांकनमा बज्रबारही स्वास्थ्य चौकीले ९७ प्रतिशत अंक प्राप्त गर्दै पहिलाे नम्बरमा परेकाे हाे । यसैगरी, थाहाकै टिस्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी दोस्रो भएकाे छ । दुबै स्वास्थ्य चौकीले समान ९६ प्रतिशत अंक नै प्राप्त गर्दै दाेस्राे नम्बरमा परेकाे हाे । यस्तै हेटौंडा उपमहानगरपालिका ६ स्थित हेटौडा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो नम्बरमा रहेकाे छ ।
जिल्लाको १० वटै स्थानीय तहको स्थास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गर्ने क्रममा १२ स्वास्थ्य चौकी छनोट भएका थिए । जसमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट बन्न सफल भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
उत्कृष्ट ४ वटै स्थास्थ्य चौकीहरुलाई शुक्रबार हेटौंडामा न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरिएकाे हाे । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले स्वास्थ्य चौकी स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय तहको राम्राे कार्य सम्पादनले उत्कृष्ट हुन सफल हुन सकेको बताए ।
न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा जनप्रतिनिधिहरु, जिल्लाको १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उत्कृष्ट हुने स्वास्थ्य चौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुननिर्माण सकिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण थालिएको २३ महिनामा सकिएको हो । सुरुङमार्ग पुनर्निर्माणको लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो ।
राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई जोड्न चन्द्र शम्मशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणपछि अब वारपार गर्न सकिने भएको छ । तर सबै काम भने आगामी असार मसन्तसम्म सकिने पक्का भएको छ ।
यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए ।
निर्देशक रेग्मीका अनुसार यसैसाता मात्रै सुरुङ मार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको हो तर अझै काम बाँकी छ । “अब फिनिसिङ, रङरोगनको काम बाँकी छ”रेग्मीले भने “अनि पर्यटक तथा अनुसन्धान गर्नेहरुको लागि अनुमति दिइने छ, अहिले सबैलाई प्रवेशाज्ञा दिइएको छैन ।”
सुरुङमार्ग भन्नासाथ सवारी ओहोरदोहोर गर्ने भन्ने बुझिन्छ, तर यो यस्तो सुरुङमार्ग हैन । यो सुरुङ मार्ग ऐतिहासिक हो, जहाँबाट २०२० सालसम्म सवारी नै आवतजात हुने गर्दथे । यसैले यो सुरुङमार्ग पर्यटकीय र अध्ययन थलो हो । यसलाई अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए । चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ । जसको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो ।
माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक “दी हिमालयन किंडम अफ नेपाल”मा पनि चर्चा गरेका छन् । उनले यसलाई “एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने” उल्लेख गरेका छन् ।
राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो । चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्गबाट सीधा मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको तत्कालिन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।
प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैबीचमै यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । २०७२ सालको भुकम्पले यसका अझै बढी क्षति गराएपछि सुरुङमार्ग गुमानाम बन्दै आएको थियो । प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको बताइएको छ ।
३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ देखाउँदै दुई पटक म्याद थपेर काम गरिएको हो ।

पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र सबैकाम सक्नु पर्नेछ । निर्माण कार्य सकिएपछि यो पर्यटकीय तथा अनुसन्धान स्थल संरक्षणको जिम्मेवारी स्थानीय सरकारको हैसियतमा हेटौंडा उपमहानगरपालिकाले लिनेछ ।
सुरुमा सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर मर्मत कार्य अन्तरगत सुरुङमार्गको भित्री पाटो तोकिएको समयमा छिचोल्नै बाँकी रहेपछि समय सीमा अन्तिम पटक भन्दै २०७९ पुससम्मको लागि थपिएको थियो, फेरी पनि सो समयसम्म काम नसकिएपछि तेस्रो पटक २०८० असार मसान्तसम्मको लागि म्याद थपिएको थियो । ‘सुरुङ साँघुरो भएको कारण मेसिन लैजान नमिलेपछि काम गर्न ६ महिना बढी लागेको ओझाले बताए ।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको थियो, अहिले पछि सर्वसुलभ उपलब्ध हुने निर्माण सामग्रीहरु नै प्रयोग गरिएको छ । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ । उक्त मार्गबाट २०१९ सालसम्म सवारी आउजाउ हुने गरेको र आफूले यात्रा गरेको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको भनाइ छ ।
“प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो” पौडेलले भने ।
हेटौंडाको चुरीयामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङमार्गका अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । “यो स्थान इञ्जिनियरीङको विद्यार्थीको लागि महत्वपूर्ण सावित हुनसक्छ” पौडेलले भने ।
हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ ।
यसै बीच शुक्रबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डारमणि पौडेलले निरीक्षण गरेका छन् । आफु मुख्यमन्त्री हुँदा निकासा गरेको रकमबाट निर्माण भएको चुरीयामाइ सुरुङको उनले निरीक्षण गरेका हुन् । आज पौडेल र बागमती प्रदेशका पूर्ब राज्यमन्त्री जुनेली श्रेष्ठले निरिक्षण गरे । सुरुङको सिरानभागबाट छिरेर अर्को तर्फबाट सजिलै निस्कन पाउँदा खुसी समेत ब्यक्त गरे । काम राम्रो भएको भन्दै पौडेलले खुसी व्यक्त गरे ।

मकवानपुर । हेटौडामा प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० शु्क्रबार (आज) बाट हुदैछ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० हुने भएको हाे ।
स्थानीय तहकामा स्काउटको माध्यमबाट यूवा तथा बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले आजदेखि २८ गतेसम्म स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले बताए ।
हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा हुने क्याम्पमा क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका चार सयभन्दा बढी स्काउटमा आबद्ध प्रशिक्षार्थिहरू सहभागि रहने संयोजक रोक्काले बताए । क्याम्पका लागि जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा स्काउटरहरुले ओमेगा जम्प, सुपरम्यान जम्प,टायर क्रसिङ,मंकी ब्रिज क्रसिङ,कमान्डो ब्रीज क्रसिङलगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउने छन् ।
क्याम्पमा निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता रहनेछ । क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत दिने व्यवस्था मिलाइएको राेक्काले जानकारी दिए ।
क्याम्प सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये हेटौंडा उपमहानगरपालिकाले ८ लाख सहयाेग गर्ने तथा बाँकी रकम अन्य सहयोगी दाताहरुको सहयोग र हेटौंडा उपमहानगर समितिले सहयाेग गर्ने बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क गर्न संघीय सरकारका स्वस्थ्य मन्त्रीले निर्देशन दिएका छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अनुगमन गरेपछि यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतसँगै प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि सहभागी भए । गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका हुन् । संघ र प्रदेशका दुबैजना मन्त्रीहरुले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको अनुगमन गरेपछि सकारात्मक निर्देशन प्राप्त भएको बताइएको छ ।
अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरुको अवस्था, अस्पतालको फार्मेशीलगायतका स्थानको दुबै मन्त्रीले अनुगमन गरेका थिए । हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्बसाधरणहरुलाई उपचारमा परेको समस्याका बिषयमा दुबै जना मन्त्रीहरुले जानकारी लिए । अस्पतालमा उपचार गरिरहेका सर्बसाधरणका समस्या, गुनासाहरु सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्न पहल गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

देशैभरी स्वास्थ्यकर्मीहरुको समस्या बढेको भन्दे हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले पत्रकारहरुसँगको प्रतिक्रियामा बताए । अहिलै पनि स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भने ‘पहुँचका आधारमा कर्मचारीहरु खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैनौं ।’
हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शैयामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनी व्यवस्थापन समिति मार्फत अरु १५० थप गरेर सञ्चालन गरिएको बताए ।
मकवानपुर । देशभर अझैं गर्मी बढ्ने संकेत देखिएकाेले तराईमा आगामी ५ दिनसम्म तातो हावा वहने तथा लु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले अत्यधिक गर्मीका कारण अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ ।
महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने भएकाले हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ । तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि माथि पुगेको छ ।
यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने यसअघि नै जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको थियो । तातो हावा तथा लूबाट बच्न गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, बाहिर निस्किँदा टाउको छोप्न, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

