मकवानपुर । न्यूनतम सेवा मापदण्डको आधारमा मकवानपुर जिल्लाको ४ वटा स्वास्थ्य संस्था उत्कृष्ट भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले गरेकाे स्थलगत अवलोकन र मूल्यांकनको आधारमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट भएका हुन् ।
जिल्लाको थाहा नगरपालिकाको बज्रबारही स्वास्थ्य चौकी पहिलाे भएकाे छ । स्थलगत अवलोकन र मूल्यांकनमा बज्रबारही स्वास्थ्य चौकीले ९७ प्रतिशत अंक प्राप्त गर्दै पहिलाे नम्बरमा परेकाे हाे । यसैगरी, थाहाकै टिस्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी दोस्रो भएकाे छ । दुबै स्वास्थ्य चौकीले समान ९६ प्रतिशत अंक नै प्राप्त गर्दै दाेस्राे नम्बरमा परेकाे हाे । यस्तै हेटौंडा उपमहानगरपालिका ६ स्थित हेटौडा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो नम्बरमा रहेकाे छ ।
जिल्लाको १० वटै स्थानीय तहको स्थास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गर्ने क्रममा १२ स्वास्थ्य चौकी छनोट भएका थिए । जसमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट बन्न सफल भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
उत्कृष्ट ४ वटै स्थास्थ्य चौकीहरुलाई शुक्रबार हेटौंडामा न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरिएकाे हाे । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले स्वास्थ्य चौकी स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय तहको राम्राे कार्य सम्पादनले उत्कृष्ट हुन सफल हुन सकेको बताए ।
न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा जनप्रतिनिधिहरु, जिल्लाको १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उत्कृष्ट हुने स्वास्थ्य चौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

