मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क गर्न संघीय सरकारका स्वस्थ्य मन्त्रीले निर्देशन दिएका छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अनुगमन गरेपछि यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतसँगै प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि सहभागी भए । गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका हुन् । संघ र प्रदेशका दुबैजना मन्त्रीहरुले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको अनुगमन गरेपछि सकारात्मक निर्देशन प्राप्त भएको बताइएको छ ।
अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरुको अवस्था, अस्पतालको फार्मेशीलगायतका स्थानको दुबै मन्त्रीले अनुगमन गरेका थिए । हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्बसाधरणहरुलाई उपचारमा परेको समस्याका बिषयमा दुबै जना मन्त्रीहरुले जानकारी लिए । अस्पतालमा उपचार गरिरहेका सर्बसाधरणका समस्या, गुनासाहरु सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्न पहल गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

देशैभरी स्वास्थ्यकर्मीहरुको समस्या बढेको भन्दे हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले पत्रकारहरुसँगको प्रतिक्रियामा बताए । अहिलै पनि स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भने ‘पहुँचका आधारमा कर्मचारीहरु खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैनौं ।’
हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शैयामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनी व्यवस्थापन समिति मार्फत अरु १५० थप गरेर सञ्चालन गरिएको बताए ।

