मकवानपुर । बागमती प्रदेश सभाको बैठक असार १३ गते बुधबारसम्मकाे लागि स्थगित भएको छ । मंगलबार साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मंगलबारकाे पहिलाे बैठक ५ वटा विषयगत समिति बनाएर दाेस्राे बैठक समेत मंगलबार नै हुने गरी स्थागित गरिएको थियो । दोस्रो बैठकमा प्रतिपक्षले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रदेशसभा मंगलबारकाे दाेस्राे बैठक अवरुद्ध भएको थियाे । एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।
विनियोजित बजेट २०८०/०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिवालयले सूचना सार्वजनिक गरेर बैठक स्थगित भएको जनाएकाे हाे ।
प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै एमाले र राप्रपाले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले बजेट पुनर्लेखन गरेर समावेशी बनाएरमात्र पास गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।
मकवानपुर । मानव जीवनकाे अन्त्यपछि परम्परा अनुसार जलाईन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनकाे अन्त्यसँगै जाेडिएका हुन्छन अन्य ८ जनाकाे जीवन बचाउन सकिने सम्भावनाहरु । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य ८ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ, तर यस्तो कुरा हेक्का गरिन्न ।
स्वास्थ्य विज्ञहरुका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंगहरु दान गरेर अरु ८ जनाको जीवन बचाउन सकिन्छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रे नडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रका नेफ्रोलोजिष्ट डा. सुरेश महर्जनका अनुसार नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन दिन सकिन्छ ।
वार्षिक ८ हजार जना मृगौैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको श्रेष्ठको भनाई छ । तर जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको छ । अंगदानबारे नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मृगौैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको डा श्रेष्ठले बताए । सरकारले मृगौैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निशुल्क दिदै आएको छ । बिरामीको जीवन गुणस्तर अतिउच्च राख्न डाइलाइसिस भन्दा प्रत्यारोपणनै उत्तम विकल्प रहेको भए पनि अंग अभावमा यसो हुन नसकिरहेको छैन । प्रत्यारोपणलाई वढावा दिन अंगदान अभियानमा सबैको भूमिका महत्वपूर्ण रहेको श्रेष्ठ बताउँछन् ।
सातैप्रदेशमा प्रत्यारोपण सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार, उपकरण विकासको काममा केन्द्र लागिरहेको उनले बताए । यसैगरी केन्द्रका नेफ्रोलोजिष्ट डा. शुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताए । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग भएको छैन ।
ब्रेन डेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीहरुलाई समेत थाहा नभएको अवस्था हालको रहेको उनले बताए । नेपालमा वर्षेनी ३ हजार जनाको मृगौला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको ८ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण मात्रै भइरहेको छ ।
यसैबीच बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । हेटौडा अस्पतालले शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । प्रत्यारोपण सेवा सुरु गर्न अहिले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरि प्रत्यारोपण सेवा विस्तारको जग बसाउने काम भएको बताए । चालु आर्थिक वर्षको प्रदेश सरकारले हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया अनुदान दिएको थियो ।
सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरि प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसू सापकोटाको भनाइ छ । आगामी वर्ष २०८०।८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन भएको सापकोटाले बताए । विगत ३ वर्षदेखि हेटौडा अस्पतालमा मृगौला डाइलाइसिस सेवा सुरु गरिएको बताउदै उनले अहिले पनि महिनामा करीब ५० जना मृगौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेकाे जानकारी दिए । डाइलाइसिसको बिरामीको तुलनामा अब १५ वटा डाइलाइसिस मेशिन थप गर्नपर्ने आवश्यक रहेको उनले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.विश्वराज जोशीले हेटौडामा प्रत्यारोपण सेवा सुरु मात्र होइन त्यसलाई निरन्तरता दिने गरि काम भइरहेको बताए । प्रत्यारोपण सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको जोशीले बताए । हेटौडा अस्पताल मदन भण्डारी प्रतिष्ठानको स्वामित्वमा रहने गरि सञ्चालन गर्ने निर्णय भइसकेको छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेसू सापकोटाले उक्त जानकारी दिएका हुन् । कार्यक्रममा केन्द्रका नेफ्रोलोजिष्ट डा. शुरेश महर्जन र कार्यकारी निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले अंगदानको विषयमा जनचेतना फैलाउनपर्नेमा जोड दिइन् । खेर जाने अंगको दान गर्न सके अन्य व्यक्तिले पुर्नजीवन पाउने बताउदै आफु अंगदान गर्नुपर्छ भन्ने चेतनामूलक कार्यक्रममा आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाइन् । आफुले सधै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै मेयर लामाले हेटौडालाई स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिवद्धता ब्यक्त गरिन् । यसैगरी निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
अंगदान सम्बन्धमा बिरामी तथा परिवारलाई कन्भिन्स गराउने काममा सबैको भूमिका बराबर रहेको उनले बताए । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी दिपक तिवारीले बागमती प्रदेशमा विशिष्ठकृत सेवातर्फ केन्द्रित रहने गरि काम भइरहेको बताए । बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालमा ब्रेनडेथको कार्यक्रम लागू गर्न सकिने बताए । हेटौडा र भक्तपुर अस्पताललाई २ सय बेडको बनाउने तयारी गरि जनशक्ति दरबन्दी स्विकृतिका लागि सरकारलाई पठाएको उनले बताए ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज असार १२ गते बस्दैछ । गत असार १ गतेको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए । सोही दिन बसेकाे दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयकहरु टेबुल गरिएलगतै सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने गरी बैठक स्थगित गरेका थिए ।
आजकाे बैठक प्रदेश सभाकाे सभाहल हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो । आजकाे बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, प्रदेश सभा सचिवालयमा साेमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेकाे हाे ।
मकवानपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ वागमती प्रदेश समितिले वागमती प्रदेशस्तरीय प्रथम नव प्रवर्तन उद्यमी विकास सम्मेलन गर्ने भएको छ ।
वागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समितिको सहकार्यमा आगामी असार १४ र १५ गते सम्मेलन हुने भएको हो ।
सम्मेलनमा वागमती प्रदेशका सबै जिल्लाहरुबाट नवप्रवर्तन उद्यमीहरु, इच्छुक लगानीकर्ताहरु र महासंघका प्रदेश समिति तथा जिल्ला समितिका पदाकिारीहरू गरी करिव २५० जना उद्यमीहरु सहभागी हुनुहुने महासंघका कार्यवाहक अध्यक्ष, तारानाथ चौलागाईले बताए ।
सम्मेलनमा सहभागी भएर नव प्रवर्तक युवा उद्यमीहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्ने महासंघका कार्यकारी निर्देशक शम्भु नेपालले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । साेमबार विहान हेटौडा १० बसपार्कबाट १४ किलाे गाजाँ सहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यलयले मकवानपुरले जनाएकाे छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकिया का ३४ वर्षीय हनुमान विंद र सोही ठाउँकी ३५ वर्षीय शर्मिला मण्डल रहेको मकवानपुरले जनाएको छ । सोमबार प्रहरी चौकी बसपार्ककाे प्रहरी टोलीले गस्ती गर्दै जादा बसपार्कस्थित वीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रुपमा बसिरहेको अवस्थामा उनीहरुलाई पुर्जी दिइ सुरक्षाजाँच गर्ने क्रममा उनीहरुले झोलामा ल्याएको अवस्थामा १४ किलो लागूऔषध गाँजा फेला पारिएकाे हाे ।
उक्त परिमाणको गाँजा बरामद सँगै दुवै जनालाई नियन्त्रणमा लिई लिएर थप अनुसन्धान भइरहेको जनाएको प्रहरीले जनाएकाे छ ।
३० एम्पुल लागुऔषध सहित सागर प्रहरी नियन्त्रणमा
यसैगरी मकवानपुर प्रहरीले ३० एम्पुल लागुऔषध डाईजेपाम सहित १ जना नियन्त्रणमा दिएकाे छ । डाइजेपाम सहित हेटौडा ११ का सागर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
साेमबार साझँ ५:३० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ रातोमाटे स्थित सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ ग ३१५ नम्बरको माईक्रो बसमा सवार हेटौडा ११ का १९ वर्षिय घिमिरेलाई शंका लागि चेकजाँच गरेकाे थियाे । घिमिरेले लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल, ब्युनोर्फीन १० एम्पुल फेला परेको प्रहरीले जनाएकाे छ ।
घिमिरेलाई उक्त परिणामकाे लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
