मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाको शनिबार १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक बर्ष कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट पारित गरेको हो।
असार २ गते १३ औं नगरसभाको पहिलाे वैठकमा उममेयर राजेश बानियाँले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कुल २ अर्ब ६० करोड रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरेका थिए । प्रदेश सरकारकाे बजेट असार १ गते सार्वजनिक भएकाे तर स्थानीय तहकाे अनुदानकाे रकम प्राप्त नभएकाे अवस्थामा हेटौडाले असार २ गते २ अर्ब ६० कराेड बजेट सभामा प्रस्तुत गरेकाे थियाे ।
प्रदेशबाट प्राप्त अनुदानकाे रकम थप भए पछि नगर सभाकाे पहिलाे बैठकमा पेश भएकाे बजेटकाे आकार ८ कराेड बढेकाे हाे । यसैगरी शनिबारकाे नगरसभाकाे दाेस्राे वैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेकाे छ ।
नगर सभमा २५ मिटर सडक विस्तार पारित
हेटौँडा उपमहानगर क्षेत्र भएर गएकाे राष्ट्रिय राजमार्गकाे विस्तार २५ मिटर अभियानमा उपमहानगरकाे नगर सभाले सर्वसम्मत निर्णय गरेकाे छ । यससँगै विगत केही बर्ष देखि चर्चामा रहेको २५ मिटर सडक विस्तार अभियानमा स्थानीय सरकारको साथ रहकाे भएकाे छ ।
हेटौँडा उपमहानगरपालिकाकाे क्षेत्र भएर राष्ट्रिय राजमार्ग पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथले राजधानी तथा अन्य मुख्य शहरलाई जाेडछ । उपमहानगरपालिकाको शनिबार सम्पन्न १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तार कार्य गर्न सर्वसम्मत निर्णय गरेको उपमहानगरका प्रवक्त एवम् हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले बताए । उनले सडक विस्तार पछि उत्पन्न हुने समस्या र व्यवसायीहरुको व्यवस्थापन, क्षतिपूर्तिका लागि उपमहानगरले सम्बन्धित निकायलाई पहल र समन्वय गर्ने जानकारी दिए ।
डिभिजन सडक कार्यालयले हेटौंडाले असार १० गते हेटौँडा बजार क्षेत्रमा सडकको २५ मिटर भित्र पर्ने घरटहार र संरचना हटाउन ३५ दिने सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी सकेकाे छ । हेटौडाकाे सडक विस्तार अभियान २०७४ सालमा सुरु भएकोमा अदालतको अन्तरिम आदेशका कारण रोकिएको थियो । यस अघी हेटाैडाकाे सडक विस्तार अभियान राजनैतिक दलहरुले निर्वाचनकाे समयमा प्रयाेग गर्ने गरेका थिए ।
सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाइने
हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने भएको छ । शनिबारकाे १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक वर्षबाट नगरको सीमाभित्र सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हाे । ‘सूर्तीजन्य पदार्थ विक्रीवितरणमा रोक लगाउने निर्णय भएकाे छ’ उपमहानगरका प्रवक्ता न्यौपानेले भने ‘कार्यविधि निर्माण गरेर निर्णय कार्यान्वयन गर्नेछाै ।’
मकवानपुर । देशमा मनसुनी वायुको प्रभाव रहेकाेले शनिबार बिहानबाट देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
शनिबार राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएकाे छ ।
भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
मकवानपुर । कृषि विकास बैंक हेटौंडा शाखाले हेटौंडा अस्पताललाई टेलिभिजन सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत टेलिभिजन सहयोग गरेको हो ।
अस्पतालमा आउने बिरामी तथा बिरामीको आफन्तलाई सेवा पुग्नेगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल हेटौडालाई टेलिभिजन हस्तान्तरण गरिएको हो । अस्पतालका अध्यक्ष राजेश प्रशाई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटा, अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईं, लेखा अधिकृत खिमानन्द पौडेल,अस्पतालका नर्सिङ प्रमुखको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । झण्डै एक लाख रुपैयाँ पर्ने ६५ इन्चकाे टेलिभिजन प्रदान गरिएकाे हाे ।
कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतम, हेटौडा शाखाका प्रबन्धक तीर्थराज पौडेल तथा बैंकका कर्मचारीहरु समेतको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको हो । कृषि विकास बैंकले देशभरको २८५ भन्दाबढी शाखाबाट आधुनिक बैकिङ सुविधा सहित कारोबार गरिरहेकोले बैंकको सेवाबाट लाभ लिन कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटाले बैंकको संस्थागत सामाजिक कार्यक्रम अन्तरगत प्राप्त सहयोगबाट अस्पतालका सेवाग्राही लाभान्वित हुने बताए । यसबाट स्वास्थ्य सम्बन्धी उपयोगी सूचना तथा जानकारी प्रदान गर्नको सहज हुने अपेक्षा गरिएकाे हेटौडा शाखाका प्रबन्धक तीर्थराज पौडेलले बताए ।
मकवानपुर । मकवानपुरकाे वंशगाेपाल प्राविधिक विद्यालयका विद्यार्थीहरुले धान दिवसकाे दिन धान राेपेका छन् । मकवानपुरगढी गाउँपालिकाकाे सहयाेगमा उनीहरुले विद्यालयले भाडामा लिएकाे खेतमा धान राेपेका हुन् । धान दिवसकाे दिन गाउँपालिकाकाे कृषी शाखाले विशेष कार्यक्रमकाे संयाेजन गरेकाे थियाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष दाेर्जे लामालगायत कार्यपालिका सदस्य तथा कमर्चारीहरुकाे समेत उपस्थिति रहेकाे थियाे । हेर्नुहाेस केही तस्बिरहरु ।




तस्बिरहरु सहीखबर डट कम
मकवानपुर । बालबालिकाको संरक्षण गर्ने उद्देश्य देखाएर स्थापित भएका बालगृहहरु कानुन अनुसार नभएको प्रति बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
संरक्षण गृहहरु कानुन अनुसार नभएकाे र अनुगमन नियमन प्रदेश बल अधिकार प्रदेश समितिले गर्नु पर्ने, तर स्वीकृती दिने काम केन्द्रले दिने गरेकोले यस्तो नियम नै बाझिएको उनले बताए । जसले गर्दा प्रभावकारी नियमन समेत हुन नसकेको उनले बताए । बालबालिकाको संरक्षण उमेर अनुसार फरक फरक तवरले गरिनु पर्नेमा सबै उमेर समूहका बालबालिकाहरुलाई एउटै बालगृहमा राख्दा समेत समस्या हुने सभामुख पाठकले बताए ।
“बालबालिकाहरुको शारिरीक, मानसिक, मनोवैज्ञानिक समग्र पाटो हेरेर संरक्षण गर्नुपर्छ नीतिगत स्पष्टता चाहिन्छ” पाठकले भने, “एकै बालगृहमा सबै उमेर समूहका बालबालिका छन् या के छ भन्ने पनि अनुगमन गर्नुपर्छ ।”
उनले अबको २ वर्षपछि २०८२ मा नेपाललाई बालश्रममुक्त गर्न पनि संभव नभएको बताए । “हामी बढी नै महत्वकांक्षि भयौं, घोषणा गर्नु मात्रै ठूलो उपलब्धी हुदैन” उनले भने “मानसिक स्वास्थ्य समस्या भएका र बन्दीका बाल बालेका संरक्षणमा ध्यान कम भएको छ ।” “बालबालिकाको क्षेत्रमा काम कम भएको, सोत साधानको लगानी कम भएको र निगरानी समेत कम भएको उनले बताए ।
प्रदेश बाल अधिकार समिति, राष्ट्रिय बाल संरक्षण सञ्जाल, नेशनल इन्स्टिच्युट अफ कन्टेपोररी स्टडिज र बाल कल्याण समाज मकवानपुरको सयुक्त अयोजनामा भएको बालसंरक्षण प्रणाली र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह सम्बन्धमा संसदीय छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कानुनमै बाध्यकारी ब्यावस्था नभए सम्म काम नहुने परम्परा बसेको प्रति गुनासो गरिन् । बालबालिकाको सवालमा पनि कानूनै बाध्यकारी भएमा काम हुने नत्र नहुने देखिएको भन्दै यस्तो कार्यको निगरानीमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताइन् ।
कार्यक्रममा सहभागी प्रदेश संसदहरु समिता खड्की, बिनु रायमाझी पौडेल, कुमारी तामाङ, प्रेमबहादुर पुलामी, माया श्रेष्ठलगायतले बालबालिका संरक्षणको सवाल हर नीतिनियममा जोडिनुपर्ने बताएका थिए । बाल आश्रम खोलेर आफूहरुको जीविका चलाउने प्रति सरकारले निगरानी गर्नु पर्ने उनीहरुको सुझाव थियो ।

कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बालबालिका सम्बन्धी संरचना निर्माणमा समेत अधुरो रहेको बताए । स्थनीय तहमा हुनु पर्ने बालमैत्री प्रणालीको सुदृढीकरणको सवाल झनै टिठ लाग्दो रहेको बाल कल्याण समाज मकवानपुरका अध्यक्ष खतिवडाले बताए ।
अधिकारकर्मी मणीराम आचार्यले बालबालिक सम्बन्धी एने २०७५, नियमावली तथा बालबालिकाबारे वर्तमान अवस्थाबारे प्रस्तुती गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख गोपाल कंडेल, हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्प लाइनका प्रबन्धक झविन्द्र ज्ञवलीलगायतले बालबालिकाको सवालमा हुदैं आएको काममा सुधार आवश्यक भएको बताए । कार्यक्रम अमेरिकी स्टेट डिपार्टमेन्ट र एक्प्याट लग्जेमवर्गको सहयोगमा भएको थियो ।
