मकवानपुर । बालबालिकाको संरक्षण गर्ने उद्देश्य देखाएर स्थापित भएका बालगृहहरु कानुन अनुसार नभएको प्रति बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
संरक्षण गृहहरु कानुन अनुसार नभएकाे र अनुगमन नियमन प्रदेश बल अधिकार प्रदेश समितिले गर्नु पर्ने, तर स्वीकृती दिने काम केन्द्रले दिने गरेकोले यस्तो नियम नै बाझिएको उनले बताए । जसले गर्दा प्रभावकारी नियमन समेत हुन नसकेको उनले बताए । बालबालिकाको संरक्षण उमेर अनुसार फरक फरक तवरले गरिनु पर्नेमा सबै उमेर समूहका बालबालिकाहरुलाई एउटै बालगृहमा राख्दा समेत समस्या हुने सभामुख पाठकले बताए ।
“बालबालिकाहरुको शारिरीक, मानसिक, मनोवैज्ञानिक समग्र पाटो हेरेर संरक्षण गर्नुपर्छ नीतिगत स्पष्टता चाहिन्छ” पाठकले भने, “एकै बालगृहमा सबै उमेर समूहका बालबालिका छन् या के छ भन्ने पनि अनुगमन गर्नुपर्छ ।”
उनले अबको २ वर्षपछि २०८२ मा नेपाललाई बालश्रममुक्त गर्न पनि संभव नभएको बताए । “हामी बढी नै महत्वकांक्षि भयौं, घोषणा गर्नु मात्रै ठूलो उपलब्धी हुदैन” उनले भने “मानसिक स्वास्थ्य समस्या भएका र बन्दीका बाल बालेका संरक्षणमा ध्यान कम भएको छ ।” “बालबालिकाको क्षेत्रमा काम कम भएको, सोत साधानको लगानी कम भएको र निगरानी समेत कम भएको उनले बताए ।
प्रदेश बाल अधिकार समिति, राष्ट्रिय बाल संरक्षण सञ्जाल, नेशनल इन्स्टिच्युट अफ कन्टेपोररी स्टडिज र बाल कल्याण समाज मकवानपुरको सयुक्त अयोजनामा भएको बालसंरक्षण प्रणाली र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह सम्बन्धमा संसदीय छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कानुनमै बाध्यकारी ब्यावस्था नभए सम्म काम नहुने परम्परा बसेको प्रति गुनासो गरिन् । बालबालिकाको सवालमा पनि कानूनै बाध्यकारी भएमा काम हुने नत्र नहुने देखिएको भन्दै यस्तो कार्यको निगरानीमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताइन् ।
कार्यक्रममा सहभागी प्रदेश संसदहरु समिता खड्की, बिनु रायमाझी पौडेल, कुमारी तामाङ, प्रेमबहादुर पुलामी, माया श्रेष्ठलगायतले बालबालिका संरक्षणको सवाल हर नीतिनियममा जोडिनुपर्ने बताएका थिए । बाल आश्रम खोलेर आफूहरुको जीविका चलाउने प्रति सरकारले निगरानी गर्नु पर्ने उनीहरुको सुझाव थियो ।

कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बालबालिका सम्बन्धी संरचना निर्माणमा समेत अधुरो रहेको बताए । स्थनीय तहमा हुनु पर्ने बालमैत्री प्रणालीको सुदृढीकरणको सवाल झनै टिठ लाग्दो रहेको बाल कल्याण समाज मकवानपुरका अध्यक्ष खतिवडाले बताए ।
अधिकारकर्मी मणीराम आचार्यले बालबालिक सम्बन्धी एने २०७५, नियमावली तथा बालबालिकाबारे वर्तमान अवस्थाबारे प्रस्तुती गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख गोपाल कंडेल, हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्प लाइनका प्रबन्धक झविन्द्र ज्ञवलीलगायतले बालबालिकाको सवालमा हुदैं आएको काममा सुधार आवश्यक भएको बताए । कार्यक्रम अमेरिकी स्टेट डिपार्टमेन्ट र एक्प्याट लग्जेमवर्गको सहयोगमा भएको थियो ।

