जुनु घिमिरे
यो गग्रेटो,
जसले आफ्नो पहिचान जोगाउन
भरपुर कोसिसमा थियो
तर, ऊ पनि
म जस्तै खस्किएको छ
न म गग्रेटोमा गाग्री ठ्याउन सक्छु
न गाग्रीले मेरो कम्मर ठ्याउन सक्छ
मसँग अब, केही बाँकी छन् भने
यिनै एकजोर धमिला आँखाहरू
अनी शून्यतामा हराएका कानहरू
र, मनभरी स्मृतिका बगर
सुतेका छन् लम्पसार भएर
जहाँ पुगेर म ,
हरेक दिन भिज्ने कोशिस गर्छु यादहरूले
तर बिडम्बना
जसरी तातो घाममा डडेको बालुवाले
पैतालामा डाम बस्ने गरि पोल्छ
हो ठ्याक्कै त्यसरी नै
मेरा अतितहरूले
पिल्सिने गरि पोलिदिन्छ मन
र पनि ,
बारम्बार म त्यही पुग्न चाहन्छु
हिजै जस्तो लाग्छ
यो घरका कुना कुनाले
मान्छेको आवाज निकालेर
जीवित भएको प्रमाण पेस गरेको ।
ती अम्बा,आरू,लिचि,आँपका बोटहरू,
चिचिलामै लुछिएका
गोठमा खाँबो पिच्छे
दाम्लोले श्वास फेरेको,
आगनको डिलले
भुइँ चर्किने गरि पिङ मचाएको
अनी,
गग्रेटोले घैलाका घैला पानी पिएको।
आज त्यहि घर
जीवित मान्छेको शोक मनाई रहेछ
बोटमै लटरम्म पाकेर फलफूलले
यो मृत घरलाई
जिस्क्याउँदै गलेर झरिरहेछन्
गोठ अनी दाम्लो अब यो घरका लागि मरिसके
आगनको डिल टुडिखेल भन्दा ठूलो भैदियो
गग्रेटो हिजोआज तिर्खाउँन छोड्यो
घैला बोक्ने कम्मर बुढो भएर
साना बोतल ठ्ड्याएको छ
र पनि
म पात झरेको सिक्रो रुख झै ठडिएर
यी धमिला आँखाहरू पर परसम्म फिजाइ रहन्छु
मुना पलाउने आशमा ।
यस्तो लाग्छ कहिलेकाही त
यी मेरा आँखामै केही खोट छन्
नत्र यो ढुक्ढुकी चलाईराख्ने घुट्को
श्वासमा मिसिएका आकृति
आँखाले देखाउँन किन कन्जुस्याइँ ?
यी मेरा कान बन्द भएकोमा
मनलाई बिस्मात लागि रहेछ
र बारम्बार भन्छ मनले
एक दिन त
यो घर बौरिने छ
र भन्ने छ
आमा ढोका खोल्नुस् न
हामी आयौँ
त्यो बेला मैले नसुन्न सक्छु ।
चागुनारायण २ दुवाकाेट भक्तपुर

