मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा ३ बसामाडीमा निर्माणाधिन घरको छतबाट लडेर एक जना निर्माण मजदुरको मृत्यु भएको छ ।
स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट घर बनाउन ईट्टा बोक्ने क्रमामा स्थानीय ६० वर्षीया लक्ष्मी खड्का अचानक लड्दा उपचारर्थ हेटौंडाको चुरेहिल अस्पताल ल्याएकोमा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको हो ।
मृतकको शव हेटौंडा अस्पतालमा राखिएको प्रदेश बागमती प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा ५ धादिङमा आयोजित स्वस्थ्य शिविरमा १ हजार ५० जनाले स्वास्थ्य जाँच गराएका छन् ।
स्थानीय नवजागृत क्लबको आयोजना, मकवानपुरगढी गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो । शिविरको लागि तमु फार्सेसी र निको अस्पतालले सहयोग गरेको थियो । शिविरमा न्यूरो सर्जन डाक्टर विक्रमादित्य साह, सर्जरी डाक्टर अमर दीप मण्डल, छाला रोग डक्टर प्रमोद चौरसिया, हाड जोर्नी तथा नशा डक्टर अमन कृष्ण रञ्जित, फिजिसियन डाक्ठर नरेन्द्र केसीले स्वास्थ्य जाँच गरेका थिए ।
शिविर स्वास्थ्य जाँच गराएका बिरामीहरुलाई एक लाख पचास हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको तमु फार्मेसीका सञ्चालक सुधीर दाहालले बताए ।
स्वास्थ्य जाँच गर्न आएकाहरुलाई ईसीजी ल्याब समेत निःशुल्क गरिएको थियो । निको अस्पतालको शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
मकवानपुर । बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेषगरी उनीहरु बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापहरुमा सहभागी हुन पाउँदा खुसी हुन्छन् ।
बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तीकै आतुर हुन्छन् ।
अहिले सरकारी र निजी दुबै विद्यालयहरुले किताबी ज्ञानलाई मात्रै नभई बालबालिकाको अतिरिक्त क्रियाकलापमासमेत जोड दिन थालेका छन् । बालबालिकाहरु स्कुल नजानको लागि रोइकराई गर्ने अवस्थाको क्रमशः अन्त हुँदैछ । विद्यालयहरुले पनि बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिने गरी शिक्षण सिकाइको नीति अवलम्वन गर्दै गएको पाइन्छ ।
पछिल्लो उदाहरण मकवानपुर हेटौंडा– ४ स्थित नवोदय शिशु सदन विद्यालय । यो बिद्यालयले बालबालिकालाई ‘विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा’ नीति अवलम्वन गरेको छ । त्यसका लागि विद्यालयले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न अतिरिक्त कृयाकलापसँगै रचनात्मक अभ्यासहरु गरिरहेको छ ।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक रुपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने विद्यालयका शिक्षक चन्द्रमणि रिमाल बताउँछन् ।
बिद्यालयले अहिले नबोदय मुन कार्यक्रम संचालन गरिरहेको छ । जस अन्तरगत सयुक्त राष्ट्रसंघको ८ अंगको मुख्य कामबारे चर्चा गरिरहेका छन् । यस कार्यक्रममा कक्षा ८,९ र १० का ३०० जना बालबालिका प्रत्यक्ष सहभागी छन् । सामाजिक विषयमा गरेको अध्ययनलाई प्रयोगात्मक रूपमा अभ्यास गर्न पाउँदा रमाइलोसंगै सिकाई भएको छात्रा खुसी मल्लिकले बताइन् । कार्यक्रममा मकवानपुरसंगै गैडाकोट, चितवन बुटवल जिल्लाबाट विद्यार्थी सहभागी छन् ।
उनले बालबालिकाहरुलाई कक्षामा रटाउनुभन्दा पनि प्रयोगात्मक शैलीबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव बालबालिकाहरूले सुनाए । “सिर्जनशील अध्यापनका कारण बालबालिकाहरु पनि सिर्जनशील छन्”अभिभावक झबिन्द्र ज्ञवलीले बताए ।
विद्यालयले हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना गरेको छ ।
विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।
१४ गतेबाट सुरु भएको कार्यक्रम १६ गतेसम्म जारी रहने विद्यालयले जनाएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइएको छ ।
बालबालिकाहरुलाई नै विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा उभ्याइएको छ । विद्यार्थीहरुले पनि राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरिरहेको नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दाभिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रम संचालन भइरहेको महासचिव खनालले बताए ।
नमूना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ ।
कार्यक्रममा नवोदय शिशु सदनसहित मकवानपुरका अन्य विद्यालयका बालबालिकाहरुको पनि सहभागिता रहेको छ । बिद्यालयले गत २ बर्ष यो कार्यक्रम भर्चुअल प्रविधिबाट गरेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले नक्कली नेपाली रुपैयाँसहित हेटौंडाबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईबाट विहीबार ३ जनालाई नेपाली नक्कली रुपैयाँ एक हजारको ९५ थान सहित नियन्त्रणमा लिइएको हो ।
मकवानपुर प्रहरीले रौतहट जिल्ला कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४० वर्षीय बिजय तामाङलाई उक्त नक्कली नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार विहीबार राति साढे ९ बजेको समयमा पैदलयात्री उनीहरुलाई शंका लागि जाच गर्दा धर्मेन्द्र महराको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।
बरामद भएको उक्त नोटबारे आवश्यक तथा सोधपुछ गर्दा आफूहरुले बिजय तामाङबाट लिएको बताएपछि प्रहरीले बिजयसहित तीनै जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताए ।
नियन्त्रणमा लिइएका ३ नै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगममले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपी ग्यासमा खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।
वृद्धि भएको मूल्य विहीवार रातिदेखि लागू हुने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट विहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो ।यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० अनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।

