मकवानपुर । मकवानपुर प्रहरीले नक्कली नेपाली रुपैयाँसहित हेटौंडाबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईबाट विहीबार ३ जनालाई नेपाली नक्कली रुपैयाँ एक हजारको ९५ थान सहित नियन्त्रणमा लिइएको हो ।
मकवानपुर प्रहरीले रौतहट जिल्ला कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ४० वर्षीय बिजय तामाङलाई उक्त नक्कली नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार विहीबार राति साढे ९ बजेको समयमा पैदलयात्री उनीहरुलाई शंका लागि जाच गर्दा धर्मेन्द्र महराको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।
बरामद भएको उक्त नोटबारे आवश्यक तथा सोधपुछ गर्दा आफूहरुले बिजय तामाङबाट लिएको बताएपछि प्रहरीले बिजयसहित तीनै जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताए ।
नियन्त्रणमा लिइएका ३ नै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

