मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीहरुलाई दसैँ मनाउन सहयोग गरेकाे छ । पालिका अध्यक्ष धर्मराज लामिछानेसहितको टोली कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउनका लागि शुक्रबार ५० हजार रुपियाँ नगद सहयोग प्रदान गरेका छन् ।
पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीलाई दसैँ खुशीयालीपूर्वक मनाउन सहयोग प्रदान गरेको बताए । सहयोग कार्यक्रममा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेलगायतकाे उपस्थिति रहेको थियो ।
यस्तै राक्सिराङ गाउँपालिका पनि कैदीवन्दीकाे लागि कारागारलाई खशी र खाद्यान्न उपलब्ध गराएको छ । यसअघि कैलाश गाउँपालिका कारागारका कैदीवन्दीलाई दशैंमनाउन सहयाेग स्वरुप खसी, चिउरा र तेल कारागारलाई हस्तान्तरण गरेकाे थियाे ।
पुरुष ब्लक २ वटा र महिला ब्लक १ वटा रहेको कारागारमा हाल १ हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेकाे कारागार प्रशासनले जनाएकाे छ ।
आज फूलपाती पर्वः हेटौडाकाे भुटनदेवी मन्दिरमा फूलपाती भित्र्याइयाे
Tags: No Comments
मकवानपुर । नेपालीहरुकाे महान चाड दशैंको सातौ दिन फूलपाती पर्व आज घरघरमा फूलपाती भित्रयाइदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइने गरिन्छ । दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा शनिबार फूलपाती भित्र्याइएको छ । हेटौंडा १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत समुहले फूलपाती भित्र्याइएको हो ।
फूलपाति गाेरक्षेश्वरबाट भुटनदेवी मन्दिरमा भित्र्याउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यराज सेढाई, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक किरण राणा, मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल, नेपाली सेनाका उच्च अधिकृतहरु, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधिहरु गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुने धर्मशास्त्रमा बर्णन गरिएकाे छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने धर्मशास्त्रविद् बताउँछन् ।
यसैगरी, बडादसैँको अवसरमा शनिबार दिउँसो २ बजे हेटौंडा–२ बनस्खण्डी मन्दिरको दसैँघरमा फूलपाती भित्र्याउने कार्य तालिका रहेको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
बनस्खण्डी मन्दिरको दसैँघरमा पनि नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्रा समूहले गाेरश्वर मन्दिर परिसरबाट फूलपाती भित्र्याइने उनले जानकारी दिए ।
यस्तै आज हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।यसैगरी देशभरका शक्तिपिठहरुमा समेत फुलपाती भित्र्याउने गरिन्छ । गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दसैंघरमा भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याइन्छ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती लैजाने प्रचलन छ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताएका छन् ।
नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं, तिहार, नेपाल संवत ११४४, छठलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो बताएका हुन् । यी चाडपर्वका सन्दर्भमा प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् ,‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’
शर्माले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएकाले उल्लेख गर्दै यो विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न हाम्रा पर्वहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
मनाउँदै आएका पर्वहरुभित्र रहेका सकारात्मक पक्षलाई आत्मसात् गरी अघि बढ्ने तथा गलत संस्कार एवं अभ्यासलाई हटाउने दायित्व हाम्रै भएको प्रमुख शर्माको भनाई छ । सामाजिक सद्भाव, सहिष्णुता र आपसी भातृत्व विकासका लागि योगदान दिने पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्ने शर्माले उल्लेख गरेका छन् ।

मकवानपुर । मकवानपुरमा भएकाे माेटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ ।
मकवानपुर जिल्ला भिमफेदी गाउँपािलका १ बाघझोरा स्थित त्रिभुबनराजपथ सडकखण्डमा भैसेबाट हेटौडातर्फ जादै गरेको ना १७ प २१८९ नं.को माटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे हाे । शुक्रबार राती भएकाे दुर्घटनामा माेटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खस्दा चालक मकवानपुर भिमफेदी ६ बैकरोड बस्ने ३४ वर्षीय सुमिन लामाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनापछी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाेमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । माेटरसाइकलकाे पछाडी सवार साेही स्थामा निवासी ३० वर्षका रोमन बस्नेत बायां खुट्टामा र च्यापुमा चोट लागेकाे प्रहरीले जनाएकाे छ । उनकाे हेटौडा अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश घिमिरेले बताए ।
गजल मञ्चकाे २ सय ७ औं यात्रामा गजल यात्रा-४ विमोचन
Tags: No Comments
मकवानपुर । गजल मञ्च मकवानपुरद्वारा प्रकाशित गजल यात्रा-४ पुस्तककाे विमोचन गरिएकाे छ । मञ्च मकवानपुरकाे २ सय ७ औँ गजल यात्रा तथा शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार गजल यात्रा-४ को विमोचन गरिएको हो ।
२०६६ सालबाट प्रकाशन गर्न थालिएकाे गजल यात्राकाे चौथाे संस्करण शुक्रबार विमाेचन भएकाे हाे । गजल यात्रा पुस्तककाे हेटाैडा उपमहानगरपालिका वडा नंम्बर ४ का अध्यक्ष नविन सिग्देल, साहित्यकार तुल्सी घिमिरे, सर्जक सञ्जाल मकवानपुर संयाेजक निमेष लिखिल र गजल मञ्च अध्यक्ष केशव समर्पणले विमाेचन गरेका थिए ।
प्रमुख अतिथि सिग्देलले गजल मञ्चको कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने- “साहित्यले समाजलाई सकारात्मक परिवर्तन गर्नुपर्छ । ‘अबको विकास भौतिक मात्र नभएर भाषा, संस्कृति र साहित्यको हुनुपर्छ‘ सिग्देलले भने–‘साहित्यले सबैलाई समेट्नु पर्छ ।’ साहित्यिक संस्थाहरुले वार्षिक योजना सहित प्रस्ताव ल्याउन सके स्थानीय तहबाट सहयाेग गरिने उनकाे भनाइ थियाे । साहित्यकाे क्षेत्रमा ४ नम्बर वडाले यस अघी लगानी गरेकाे बताउँदै उनले भने ‘समाजलाई साहित्य मार्फत परिवर्तन गराउन सकिन्छ ।
गजल यात्रामा गजलकारहरू श्याम बानियाँ, सुवास खनाल, पुरुषोत्तम आचार्य, श्रीराम अधिकारी, सुवास सजल अनिल कोइराला, तुलसी घिमिरे, केशव समर्पण प्रियान्सु विडारी संजीत श्रेष्ठलगायतले आफ्ना गजल वाचन गरेका थिए ।
कार्यक्रममा साहित्य सङ्गमका अध्यक्ष डी.बी. बर्तौला, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, ऋषी केवी, छवी अनित्य, मशान उपासक, सानू खनाल, मिथिला अधिकारीलगायतकाे साहित्यकारकाे उपस्थिति रहेकाे थियाे ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष एवम् हेटौंडा वडा न. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा तुलसी घिमिरे र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
