मकवानपुर । नेपालीहरुकाे महान चाड दशैंको सातौ दिन फूलपाती पर्व आज घरघरमा फूलपाती भित्रयाइदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइने गरिन्छ । दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा शनिबार फूलपाती भित्र्याइएको छ । हेटौंडा १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत समुहले फूलपाती भित्र्याइएको हो ।
फूलपाति गाेरक्षेश्वरबाट भुटनदेवी मन्दिरमा भित्र्याउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यराज सेढाई, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक किरण राणा, मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल, नेपाली सेनाका उच्च अधिकृतहरु, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधिहरु गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुने धर्मशास्त्रमा बर्णन गरिएकाे छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने धर्मशास्त्रविद् बताउँछन् ।
यसैगरी, बडादसैँको अवसरमा शनिबार दिउँसो २ बजे हेटौंडा–२ बनस्खण्डी मन्दिरको दसैँघरमा फूलपाती भित्र्याउने कार्य तालिका रहेको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
बनस्खण्डी मन्दिरको दसैँघरमा पनि नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्रा समूहले गाेरश्वर मन्दिर परिसरबाट फूलपाती भित्र्याइने उनले जानकारी दिए ।
यस्तै आज हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।यसैगरी देशभरका शक्तिपिठहरुमा समेत फुलपाती भित्र्याउने गरिन्छ । गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दसैंघरमा भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याइन्छ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती लैजाने प्रचलन छ।

