मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
असोज ७ गते बिहान ३:३५ बजेको समयमा ईन्द्रसरोबार ५ मकैबारीस्थित कुलेखानि मातातिर्थ काठमाडौ जाने भित्रि सडकखण्डमा सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । बिरगंजबाट काठमाडौतर्फ जादै गरेको मधेश प्र.०३-००१ज०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमो चालकसहित १३ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाईते सुमो चालक प्रहरी नियन्त्रणमा रहेको छ भने अन्य घाइतेहरुलाई उपचारको लागि काठमाडौ पठाएको प्रहरीले जनाएको छ । घाइते सबै यात्रुहरु भारतका रहेका छन ।
सुमो दुर्घटनामा घाइतेहरुको बिबरण
१. सुमो चालक जिल्ला बारा कलैया नगरपालिका २१ बस्ने बर्ष २५ को अनिल कुमार शाह
२. सुमोमा सवार देश भारत जानकी चापा छत्तिसगढ बस्ने बर्ष २५ कि रचना कुमारी सुर्यबशं
३. ऐ.ऐ.बस्ने बर्ष ३५ कि गंगा देवि सुर्यबंशी
४. ऐ.ऐ बस्ने बर्ष ३० कि मधु सुर्य बशीं
५. ऐ.ऐ.बर्ष ३७को ईन्द्र सेन
६. ऐ.ऐ.बस्ने बर्ष ३१ की रितु सुर्य बंशी
७. ऐ.ऐ. बस्ने बर्ष अ:६० कि हाल नाम थर नखुलेको महिला
८. ऐ.ऐ बस्ने बर्ष अ: २९ कि सरोजनी देवी
९. ऐ.ऐ. बस्ने बर्ष ११ कि प्रतिभा सुर्यबंशी
१०. ऐ.ऐ.बर्ष २ कि दिब्या सुर्यबशीं
११. ऐ.ऐ बस्ने बर्ष ४ को प्रतिक सुर्यबशी
१२. ऐ.ऐ बस्ने बर्ष ३१ को बिजय कुमार सुर्यबशीं
१३. ऐ.ऐ. बस्ने बर्ष ३५ को अजय कुमार सुर्य बशी ।
मकवानपुर । नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज विजया दशमी पर्व मनाइदैछ । बडा दशैको मुख्य दिन, देवी दुर्गा भवानीके प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइने गरिन्छ ।
मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गर्नु विजया दशमीकाे विशेषता हो । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका सुरु हुन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाए पछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ । समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।
दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । आजबाट शुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ । कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।
विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। जमरा र टीका देवी दूर्गालाई चढाएपछी टिकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोजकाे २८ गते घटस्थापनादेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएकाे हाे। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो यस वर्षकाे बडादसैँ पर्व समाप्त हुनेछ ।
मकवानपुर । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको हामून नामक चक्रवातको आंशिक प्रभाव रहेको छ।
आज मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध छ।
३ दिनको मौसमी अबस्था
२०८० कार्तिक ०७ गते (मंगलबार)
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०८० कार्तिक ०८ गते (बुधबार)
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०८० कार्तिक ०९ गते (बिहीबार)
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मकवानपुर । त्यो बेला, तत्कालिन आमभञ्ज्याङ गाविस ३ को नामुना सामुदायिक वनको धेरै माथि पुगेपछि बाबियो भेटिन्थ्यो । त्यो पनि सहजै हैन, भीर र पहरामा मात्रै । सजिला ठाउँको त अरुले काटेर लगिरहेका हुन्थे । हामी त्यै भीर र पहरामा पुगेर बाबियो संकलन गर्दथ्यौ । घाँसको भारीसँगै दैनिक एक वा दुई साना साना मुठ्ठा बाबियो ल्याउँथ्यौ, छानामा सुकाउन राख्दथ्यौ । यो काम सुरु हुन्थ्यो सोह्र श्राद्ध लाग्नु अगावैबाट ।
बाबियो कै खोजिमा धेरै टाढाटाढा पुग्थ्यौ जंगलमा । घाँस काट्दा भेटिएको त्यान्द्रा त्यान्द्रा बाबियो साथीहरु मिलेर जम्मा गर्दथ्यौ । झण्डै १५ मुठाजति बाबियो चाहिन्थ्यो एउटा मज्जाको लठ्ठा बाट्ने बाबियो पुर्याउन ।
सोह्रा श्राद्ध लाग्नु अगावैबाट सुरु गरिएको बाबियो संकलन काम लगभग सोह्र श्राद्ध सकिनै लाग्दा पुरा हुन्थ्यो । नियमित काम सकेर गाइवस्तु चराउन चौरमा लैजान्थ्यौ, त्यै चौरमा लिङे पिङको लागि लठ्ठा बाट्न हामी भेला हुन्थ्यौ । हामी पनि के भन्नु एक, दुई जना पाका बाले लठ्ठा मिलाउनु हुन्थ्यो । सिपालु अरु ३ जना लठ्ठा बाट्नको लागि एक एक वटा भाग लिएर घुम्न सुरु गर्दथे । हामी लठ्ठाको लागि पय थप्नको लागि बाबियो लिएर उभिन्थ्यौ । अन्य केही बाबियो समेट्न त केही लठ्ठा मिलाउन लागि पर्नुहुन्थ्यो ।
केहीले सबैको वस्तुभाउ बालिमा जानबाट रोक्थे, अझ भनौ सबैको बस्तु हेरालुको जिम्मेवारीमा हुन्थे । हामी गोठाहरु मात्रै हैन, पिङको लठ्ठा बाट्ने भनेपछि हेर्नेहरुको पनि भीड नै लाग्थ्यो । बाबियोको लठ्ठा बाटेर भ्याएपछि सुरु हुन्थ्यो लिङ्गो गाड्नको लागि बाँसको खोजि ।
हामी आपसमा ४/५ रुपियाँ उठाउँथ्यौ र बाँस किन्थ्यौ । लिङ्गे पिङको लागि लिङ्गो गाड्न धेरै गाह्रो काम । यसको लागि बलिया ठुला ब्यक्तिनै खोज्नु पर्ने । पिङ हाल्न सुरु भएपछि गाउँभरीको भीड लाग्दथ्यो मैदानमा ।
“तँ र म दोहोरो खेल्ने है ।”
“मलाई त मच्चाउन आउन्न ।”
“मलाई त कहाली लाग्छ, बसेर मात्रै खेल्छु ।”
“फलानोले त पिङै फर्काएका है पोहोर साल ।”
“यस्तो भयो भने पिङ लिङ्गा जान्छ, यसो गरौ ।” भीडमा यस्ता यस्तै कुरा सुनिन्थे ।
कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो । काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
सानासाना भाइ बहिनीहरु झन् धेरै चहलपहल हुन्थ्यो । कस कसले नयाँ लुगा पाए, कस कसले बाँकी उनीहरु बिचमा रमाइलो कुरा हुन्थे । यो भीड देखेपछि अब साँच्चै दशै आयो भन्ने लाग्दथ्यो ।
पिङ तयार हुन्थ्यो । खेल्नको लागि पालो लगाइन्थ्यो । हाम्रो नयाँ रुटिङ बन्थ्यो घरधन्दा सक्यो कि चौरतिर पिङ खेल्न दौडिन्थ्यौ ।
अर्को दिन माटो खन्न जान्थ्यौ । कमेरो माटो रातो माटो । कमेरो माटो खन्न धेरै गाह्रो हुन्थ्यो । पानी चुहिरहेको ओडारबाट माटो लिकाल्नु पर्दथ्यो, दिदी, आमा, काकी र भाउजुहरु पालैपालो माटो खन्न ओडारमा पस्नुहुन्थ्यो, उहाँहरुले खनेर बाहिर फालेको माटो हामी जम्मा गरेर बारोमा उठाउँथ्यौ । माटो खन्दा खन्दै भोक लाग्थ्यो, भाउजु, काकीहरु कमेरो माटोको साना साना ठल्ला चक्लेट जस्तै बनाएर मिठो मानेर खानु हुन्थ्यो । हामी त्यै जंगलमा अम्बा खोज्न जान्थ्यौ, कट्टा अम्बा भेटिए बटुलेर ल्याउँथ्यौ । खान्थ्यौ ।
भोली पल्ट पुराना गाग्राहरु, अल्मुलियमका बाटाहरुमा बिहानै माटो भिजाउन हालिथ्यो र दाउरा घाँस खेप्न जान्थ्यौ । एकखेप घाँस दाउरा गरेर फर्केर खाना खाएपछि घर पोत्न थाल्दथ्यौ । कमेरो र रातो पाटोले पोतेको घर चरक्क चर्केको घामले एकै छिनमा टल्लक्क टल्कन्थ्यो । रेडियोको पुराना ब्याट्रीहरु जम्मा गरेर राखेका हुन्थ्यौ । त्यो फुटाएर झ्याल र ढोकाको चौकोसमा लपक्क लगाउँथ्यौ । रातो, सेतो, कालो रङले घर बेहुली जस्तै चिटिक्क देखिन्यो । आँगनको छेउछाउँ र बारीका कान्लाहरुमा फुल्न थालेका सयपत्री र मखमली फूहरुले झन् घरको शोभामा चमक थप्दथ्यो ।
काँक्रो र लप्सीको अचार भरेर घरको बार्दलीमा राखिएका बट्टाहरु र सुकाउनको लागि माला बनाएर झुण्ड्याइएका खुर्सानीको लहरले पनि श्रृगारकै काम गरेझै देखिथ्यो ।
अनि लाग्थ्यो,अब साँच्चै दशै आयो ।
अर्को दिन लुगा धुने काम हुन्थो । डोकोभरी ओड्ने ओछ्याउनेको खोल र तन्नाहरु बोकेर हामी आमाको पछिपछि लागेर खोलामा पुग्थ्यौ । खोला छेउमै आगो बालेर भैसीलाई कुँडो पकाउने बडेमाको डेक्चिमा आमाले खरानी पानी भकभक उमाल्नु हुन्थ्यो । ओड्ने ओछ्याउनेको खोलहरु त्यै खरानी पानीमा पकाउनु हुन्थ्यो । लुगा पानीमा गुजगुज गरी पाक्दथ्यो । आमाले एउटा एउटा गरेर बाँसको लौरोले च्यापेर झिक्नुहुन्थ्यो र सिलित्त मिलेको चाक्लो ढुङ्गामा राखेर मुङ्ग्रोले ड्यामड्याम पिट्नु हुन्थ्यो । त्यसपछि हामीलाई दिनुहुन्थ्यो त्यो लुगा । हामी खोलाको कञ्चन पानीमा पखाल्थ्यौ । मगमग बास्न आउँथ्यो कपडा ।
धोएको खोल र तन्नाहरु बगरै भरी सुकाउँथ्यौ । बगर क्या राम्रो देखिन्थ्यो रङ्गीचङ्की ।
धोएको लुगा सुकुञ्जेल नुहाइधुवाई भ्याइन्थ्यो, नजिकैको चौरमा हिजो अस्ति हालेको पिङ खेलिथ्यो र सुकेका लुगा बटुलेर अबेर दिनमा घर फर्कन्थ्यौ ।
भोलीपल्ट च्युरा कुटिन्थ्यो, मगमग बास्ना आउने तातो तातो चिउरा पाएपछि हामीलाई केही चाहिन्नथ्यो । तोरी पिस्न बुबा जानुहुन्थ्यो, सँगै दशैंको लागि लुगा भित्रन्थे घरमा । माछा मासु खानेहरुको घरैमा खसी बोकाको जोहो हुन्थ्यो, नखानेहरुको पनि आफ्नो तरीकाको दशैं जोहो भैसक्थ्यो ।
अष्ठमीदेखि घाँस, दाउरा, सोतर खेप्न जंगल जान पार्दैनथ्यो । घरछेउकै पाखाको घाँस दशैंको लागि जोगाएर राखिन्थ्यो, एक घण्टामै घाँस सोतरको जोहो हुन्थ्यो । अनि मिल्दथ्यो फुर्सद आमा, काकी, भाउजुहरुलाई । अनि हामीलाई पनि । हामी पिङमा झुम्मिन्थ्यौ, हामी पौडीमा रमाउँथ्यौ, हामी आँगनमै ओखरको दाउ बनाएर उफ्रदै खेल्थ्यौ, अनि लाग्थ्यो दशैं । दशैंको टिकाको दिन घरघरमा टिका लगाइन्थ्यो । गाउँभरी एकअर्काको घरमा टिका थाप्न गइन्थ्यो, सुका, मोहोर र रुपियाँका सिक्का फ्रकको गोजिमा बजाउँदै दौडिन्थ्यौ । अनि आउँथ्यो दशैंको मज्जा ।
अनि बुझ्दथ्यौ परिवारको महत्व, अनि ज्ञात हुन्थ्यो आपसी सद्भावको उचाई । अनि पो महत्व थियो दशैं र अन्य पर्वहरुको ।
…………………………………………….
र, आज, यो बेला । दशैं भित्रिसकेको छ । अहाँ दशैं भित्रेकै छैन । अर्थात भनौ तिथीको हिसाबले दशै लागि सकेको छ । तर कतै त्यो दशैको जस्तो चहपहल छैन । दशैंसँग पर्याय जस्तो बनेको लिङ्गे पिङ देख्नै मुस्किल छ । आजका बालबालिकाहरुमा त्यो खुसी र रौनकता नै देखिन्न उनीहरु मोबाइल लिएर बन्द कोठामा छन् । अभिभावकहरुमा त्यो हर्ष छैन, व्यस्तता छैन, पर्व मनाउन छाडेर ट्रेकिङ हिडिरहेका छन् । गाउँघर सुनसान छ, सबैलाई शहरको कोलाहाल प्रिय भएको छ । यै कोलाहालयुक्त शहरको बन्द कोठामा मनाइरहेको छ दशै । न रमझम छ लिङे पिङ र जाँते पिङको, घरघरमै सदाबहार पिङ छ ।
न भ्याइनभ्याइ छ काम र खुसी खुसीले भरिएको त्यो व्यस्तताको । न हराभरा देखिन्छ शहर त्यो गाउँ जस्तो, न आपसी जमघट छ शहरमा त्यो गाउँको जस्तो ।
बस्, हराउँदै गएको मौलिकताको छिटा छिटा बोकेर बाँचेको छ दशैं । यही आधुनिकता भित्र सहजतामा रगमगिएको दशैं र देखावटी खुसी बोकेर म पनि यो दशैंको दृश्य हेरिरहेको छु । खास दशैं त्यो हो कि यो हो ? खास पर्वको मौलिकता यसरी बाँच्दछ कि त्यसरी ?
पहिचान नै गुम्ने डर भयोः समाजशास्त्री केशव तिमल्सिना
गरिखाने विपन्न वर्गको पहुँच त्यहासम्म पुग्दैन । उनीहरुले पर्व मान्ने हैसियत नै पुग्दैन र उनीहरु विस्तारै झन् झन आर्थिक दलदलमा फस्दै जान्छन, यस कारण पनि यो सामाजिक रुपमा विकराल समस्या हो ।
= समाजशास्त्री केशव तिमल्सिना
“चाडपर्वको मौलिकता हराउँदै जानु भनेको हाम्रो पहिचान नै गुम्दै जाने खतरा बढ्नु हो । हामी विस्तारै पश्चिमा संस्कृतीको नक्कल गर्दै आयौ । अचेल हामीले आफ्नो चाडपर्व मनाउने ताैरतरीका नै फेरिएका छन् । पछिल्लो समय जस्तो सुकै चाडपर्व पनि खानपानसँग बढी जोडिने गरेको छ । खानपानमा हाम्रो शैली पहिले जस्तो छैन । हाम्रो खानपान, लवाइले नै हामी पश्चिमाकरणतर्फ ढल्कीदै छौ भन्ने देखाउँछ । यो हाम्रो आर्थिक हैसियतको कारण पनि फेरिएको हो । केहीले प्रयाप्त धुमधामसँग पर्व मनाउने हैसियत बनाउन सक्छन् । उनीहरुले पर्वको रौनकता बेजोड नै हुन्छ ।
तर गरिखाने विपन्न वर्गको पहुँच त्यहासम्म पुग्दैन । उनीहरुले पर्व मान्ने हैसियत नै पुग्दैन र उनीहरु विस्तारै झन् झन आर्थिक दलदलमा फस्दै जान्छन, यस कारण पनि यो सामाजिक रुपमा विकराल समस्या हो ।
अहिले पश्चिमाकरणको नक्कल गर्दै गर्दा कुन पर्वको ठ्याक्कै मौलिकता के हो भन्ने नै गुमिसकेको छ । पश्चिमा संस्कृतिको देखासिकी गरेर पर्व मनाउँदै गर्दा गरिखाने वर्गमा मार थपिने त छंदैछ, यसले समाजमा असमानता समेत जन्माउँछ । यसले समाजमा विस्तारै सामाजिक सद्भावको पाटोलाई पनि कमजोर बनाउँदै लैजान्छ । पहिले जस्तो दशैमा घरघरमा नौरथा पूजा गर्ने संस्कृती अहिले छैन । कुनै चोकमा मन्दिर बनाएर, सामूहिक पूजा गरिन्छ । यो एक हिसाबले झ्वाट्ट हेर्दा समूहमा बाधिएको जस्तो देखिएपनि अन्नततः पर्वको अनुसाशन र मौलिक पहिचान हैन ।
चाडपर्वको खबर पाटाहरु छन् भने सुधार आवश्यक हुन्छ, तर हामीले पर्वको शैली र तरीका नै छाड्दै छाड्दै जाँदा भोली हाम्रा सन्ततीहरुले के सिक्लान भन्ने अर्को प्रश्न पनि छ । यसप्रति सामाजिक अभियन्ताहरुको पनि चासो र चिन्तत आवश्यका छ । सामाजिक मुल्य र मान्यता बचाउन, साँस्कृतिक तथा धार्मिक पर्वहरुको मौलिकता जोगाउनको लागि सामाजिक अभियन्ताहरुको अभियान पनि खाँचो छ ।
ज्येष्ठ नागरिकलाई चिन्ता
हेटौंडा २ का ६७ वर्षिय सुर्यनाथ घिमिरेलाई पनि दर्शै पहिले जस्तो नभएको आभाष छ । “पहिले जसरी अहिले छरछिमेक र परिवार मिलेर दशैं मनाउनै छाडियो” उनी भन्छन, “पहिले अभाव थियो, आर्थिक संकट थियो र पनि सबैले सबैलाई मान्दथे, साथ सहयोग गर्दथे र दशैं रमाइलो हुन्थ्यो, अहिले सबैसँग पैसा छ, सबैको आ–आफ्नै तरीकाले पर्व मनाउन थाले ।” केही गरिब वर्गहरुले दशैंमाथि आफ्नो पहुँच राख्नै नसक्ने अवस्था भएको उनले दुखेसो पोखे । गाउँमा जग्गा बाँझो राखेर शहर बस्न परेको छ, शहरमा सबै कुरा किन्नु पर्छ, महंगो छ, कसरी दशै रमाइलो बन्नु” घिमिरेले भने ।
गाउँमा पनि दशैंको मौलिकता खोज्नुपर्ने अवस्था आएको उनले बताए । “पहिले जस्तो रमाइलो अहिले गाउँ नै छैन,पिङ हालिए पनि बाबियोको हैन, नाइलन र सुतलिको देखिन्छ, दुख गर्ने मान्छेकै अभाव छ सबैतिर ।” सुखभोग गर्न खोज्दा पर्वको मौलिकता कम भएको उनको ठम्याइछ ।
गाउँघरमा युवाहरु नभएपछि गाउँमै पर्वको रौनकता नभएको बताउँछन्, मकवानपुरगढी ५ का जयराम तिमल्सिना । स्थानीय टोल विकास समितिको अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ कमिटि अध्यक्ष समेत रहेका तिमल्सिना भन्छन “कसैलाई चाखै छैन पहिले जस्तो, दशैंसँग परिपुरक जस्तो मानिने पिङको रौनकता त हरायो नै ।” महङ्गी बढेको कारण युवाहरु आफ्नो गाउँठाउँमा नभएकोले पनि पर्वको रौनकता र मौलिकता गुम्दै आएको उनले बताए ।
१८ आश्विन २०७९, मंगलवार प्रकाशित समय सान्दर्भिक यो सामग्री हामीले पुन प्रकाशित गरेका छाैं ।
मकवानपुर । मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ ।
कार्तिक ४ गते बेलुका हेटौडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालय नजिक फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘मृतक शिशु कस्ले फालेको पहिचान भएको छैन’ मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले भने ‘मृतक शिशु हेर्दा तत्काल जन्माई सालनाल सहित डस्टबिनमा फालेको जस्तो देखिन्छ ।’
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

